काठमाडौं । कला सिर्जनामा धेरै समय र मिहिनेत चाहिन्छ । पाटनका नेवार समुदाय नथाकिकन निरन्तर कला सिर्जनामा लाग्ने एक वर्ग हुन् । पाटनको कलाकारिता देशभित्र मात्र होइन विदेशमा पनि उत्तिकै लोकप्रिय छ ।
ललितपुरका कलाकार सुरज शाक्य एक श्रमजीवी कलाकार हुन् । नेपाल भाषामा ‘ख्वाःपा’ भनिने मुकुण्डो बनाउने पेसामा दशकौँ बिताइ सकेका शाक्य नेपाली कला क्षेत्रमा सुपरिचित व्यक्तित्व हुन् ।
आफू बुबासँग बस्दै गर्दा १२ वर्षकै उमेरदेखि ‘ख्वाःपा’ बनाउने पेसामा लागेको उनले जानकारी दिए । तिब्बती तथा पौभा शैलीमा ख्वाःपा बनाउने पेसामा लागेका शाक्यको परिवार चार पुस्तादेखि यो पेसामा आबद्ध रहँदै आएको छ । उनले भने, ‘मेरा बाजे कृष्णमान शाक्यले निर्माण गरेको ‘नीलः थुँ’ (साँढे) निर्माण गरेर पाटनको नागबहालमा स्थापना गर्नुभएको थियो । नागबहालमा हरेक १२ वर्षमा हुने राष्ट्रिय महत्वको सम्यक पूजा तथा अन्य बौद्धधर्मसँग सम्बन्धित मेला तथा उत्सवमा सर्वप्रथम उक्त ‘नीलः थुँ’ लाई पूजा गरेर मात्र अरू काम सुरु गर्ने गरिन्छ ।’
कलाकार सुरजका अनुसार कृष्णमानले हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल) मा पनि धातुका थुप्रै मूर्ति बनाएर राखिएका र कतिपय बुट्टा कुँदिएका पनि थिए । देशमा काम पाइएन भनेर थुप्रै युवा विदेशतिर लागिरहेका वेला काठमाडौं उपत्यकाका नेवार समुदाय भने धातुकला, चित्रकला, पौभा लेखन र काष्ठकलाजस्ता धेरै मिहिनेत र धैर्य चाहिने कर्ममा क्रियाशील रहँदै आएका छन् । पाटनमा विशेषगरी, यो पेसामा बज्राचार्य तथा शाक्यहरूको संलग्नता बढी पाइन्छ । काठमाडौं उपत्यकामा सुनचाँदीको गहना बनाउने पेसा अपनाउनेहरू पनि धेरै नेवार छन् ।
‘ख्वाःपा’ कसरी बनाउनुहुन्छ भनी राखिएको जिज्ञासामा उनले भने, ‘विशेषगरी धातुमा थ्वःज्या, माःज्या तथा वज्या विधिबाट ढुंगाहरू भरेर ख्वाःपा बनाउँछौँ । नेपाल भाषामा ‘ख्वाःपाः’ भनेको अनुहार हो । मैले विभिन्न देवदेवीको ख्वाःपा बनाएको छु । विशेषगरी, ‘नेवारी संस्कृति झल्काउने ख्वाःपा बनाउने पेसामा लागेको छु ।’ काल भैरव, स्वेत भैरव, लाखे, गरुड, सिँघिनी (सिंहको अनुहार), सिंह मुख, जोगिनीजस्ता देवदेवीको थुप्रै मुकुण्डो पनि उनले बनाएका छन् ।
स्वयम्भूनाथको स्तुपा, नेवारी महिलाले लगाउने विशेष गहना, श्रीयन्त्र, बज्राछोम्य मण्डला (बज्र र पाँच बुद्धमध्ये एक अक्ष्योभ्य बुद्धको मण्डल), म्हःपूजाका लागि चाहिने मण्डल पनि उनले प्रदर्शनमा राखेका छन् ।
अर्को एक प्रश्नको जवाफमा कलाकार शाक्यले भने, ‘पेलिगिरी माध्यमबाट गार्नेट, टक्र्वाइज, ल्यापिस तथा मुगा गरी चार थरीको ढुंगा प्रयोग गरिन्छ । त्यसपछि, सुनौला रङको जलप लगाइन्छ । मुकुण्डोमा दाँतका लागि राँगोको हड्डी तथा शङ्खको प्रयोग हुन्छ ।’ कलाकार शाक्यले नेवार समुदायका मानिस पनि सजिलो पेसा खोज्नेतिर लागेकामा चिन्तित शाक्य आफ्नै परिवारका ६ सदस्यमध्ये आफू एक्लैले मात्र यो पेसालाई निरन्तरता दिएको बताए । उनले सामूहिक तथा अरू गरी यसअघि ६ पटक ख्वाःपा प्रदर्शनीको आयोजना गरिसकिएको छ र यो उनको पहिलो एकल कला प्रदर्शनी हो ।
मंसिर १४ गतेदेखि सुरु भएको यस प्रदर्शनीमा ५३ वटा सिर्जना राखिएका छन् । उक्त प्रदशनी हेर्न आएका गोरखाका रुपक भण्डारीले अन्य पेसामा भन्दा बढी मिहिनेत आवश्यकता पर्ने र नेपालको पनि विशिष्ट पहिचान दिलाउने यस्तो कलामा संलग्न वर्गको उत्थानका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए । प्रदर्शनीमा रहेकामध्ये आफूलाई श्रीयन्त्र, स्वेतभैरव र स्वयम्भूनाथको स्तुपा आकर्षक लागेको उनले बताए ।
प्रतिक्रिया