काठमाडौंमा केही दिनयता निकै चिसो बढेको छ । मंसिरको सुरुआत देखि नै उपत्यकामा चिसो बढेको हो । मौसम मापकयन्त्रले शानिबार बिहान अहिलेसम्ममा यस वर्षकै सबैभन्दा बढी न्यूनतम तापक्रम भएको देखाएको थियो । तर, कठांग्रिने चिसोसँग जुध्दै बिहान सात बजेदेखि सुरु हुने उपत्यकाका नदी र चक्रपथ सफाइ अभियानमा सहभागीको संख्यामा भने कमी थिएन । सफाइमा जुट्नेको संख्या सदाझैँ उल्लेख्य देखिन्थ्यो । उनीहरूलाई यहाँको चिसोको वास्ता नगर्नुमा आफ्नो ठाउा सफा गर्नुपर्छ भन्ने भावनाले जितेको देखिन्थ्यो ।
उपत्यकाका नदी र चक्रपथ सफाइ गरी शनिबार मात्रै २३ मेट्रिक टन फोहोर संकल गरी व्यवस्थापन गरिएको जनाइएको छ । बाग्मती सफाइ महाअभियानको २ सय ९१औँ हप्तामा बुद्धनगरस्थित रुद्रमती दोभान क्षेत्रको फलामे पुल वरपर सफाइ गरिएको हो । सफाइमा अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौं महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत २८ संस्थाका ६ सयभन्दा बढी अभियानकर्मीको सक्रितापूर्वक सहभागिता थियो ।
सफाइबाट ६ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको अधिकारसम्पन्न बाग्मती समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिइन् । सफाइमा सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहलगायत अभियानकर्मीको उत्साहजनक सहभागिता थियोे ।
ब्लुक्रस अस्पताल त्रिपुरेश्वर एम्बुलेन्ससहित, नेपाल सिर्जनशील समाज, बक्रेश्वर बचत तथा ऋण सहकारी डिल्लीबजार, पहिलो पाइला, फोहोर उन्मूलन उपभोक्ता समिति सिनामंगल, महानगरीय दंगा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वर, प्राकृतिक प्रकोप तथा भूकम्प प्रभावित उद्धार समाज, युरेसिया रेयुकाई सानेपा, युएनपार्क प्रयोगशाला, गायत्री परिवार, बाल सारथी बागेश्वरी, जीवन विज्ञान, काठमाडौं उपत्यका खानेपानी लिमिटेड महांकाल, पाठशाला नेपाल बानेश्वर, सिस्नुपानी नेपाल र हलेसी डेकोर लगायतको सफाइमा संस्थागत सहभागिता थियो ।
रुद्रमती सफाइको २ सय ४६ हप्ता पनि शनिबार नै बाग्मती सफाइ महाअभियानसँगै दुवै नदीको दोभान क्षेत्रमा गरिएको अभियानकर्मी रोतिह गिरीले जानकारी दिए । अर्को हप्ता २९२औँ हप्ताको बाग्मती सफाइ महाअभियान र २४७औँ हप्ताको रुद्रमती सफाइ अभियान पनि दुवै नदीको दोभान क्षेत्रमै गरिने उनले जानकारी दिए । यसरी हातेमालो गरी सफाइ गर्दा अझ सफल हुने उनीहरूको विश्वास छ ।
मुहानबाट नै बाग्मती सफाइ अभियान सञ्चालन गर्दै आएको बाग्मती सुन्दरता सरोकार मञ्चले २ सय ५२ हप्ताको सफाइ पशुपति क्षेत्रमा गरेको छ । उक्त सफाइबाट तीन मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको सहभागीहरूले जनाएका छन् । संकलन गरिएको फोहोरमा कुहिने करीब दुई मेट्रिक टन फोहोर खाडल खनेर पुरी र नकुहिने फोहोर महानगरपालिकाले व्यवस्थापन गरेको थियो । अभियानले सफाइमा आउँदा दैनिक घरबाट निस्कने फोहोर घरमै व्यवस्थापन गर्न आह्वान गरिएको अभियानकर्मी उत्तम पुडासैनीले बताए । यसो गर्दा फोहोरको व्यवस्थापन गर्न सहज हुने र फोहोर पनि थोरै हुने उनीहरूको विश्वास छ ।
विष्णुमती सफाइ अभियानको २१८औँ हप्तामा टोखा नगरपालिका–९ स्थित आनन्दटोल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहोर व्यवस्थापन गरियो । यस क्षेत्रमा मेलम्चीका पानी वितरणका लागि पाइप बिच्छ्याउन सडक खन्दा कालोपत्रे नदेखिने गरी माटोले पुरेको भेटिएको अभियानमा सहभागी अभियानकर्मी शोभाकान्त पाण्डेले बताए ।
शनिबारको सफाइका क्रममा सडकमा हिँड्दै गरेको कार नदीमा खसेपछि सफाइमा सहभागी अभियानकर्मीले उद्धार गरी अस्पताल पठाएको जानकारी पनि उनले दिए । सुन्दरीघाट चोभार क्षेत्रको बाग्मती सफाइको १०१औँ हप्तामा एक सय स्थानीयवासीले त्यस क्षेत्रको सफाइ गरेका छन् । सफाइबाट एक मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको संयोजक चित्र सुनुवारले जानकारी दिए ।
मनोहरा सफाइको ९१औँ हप्तामा महानगरपालिकाको ३२ वडास्थित बिपी कोइराला आँखा अस्पताल अघिको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहोेर व्यवस्थापन गरियो । सफाइमा स्थानीय सामाजिक संस्थासहित एक सयभन्दा बढी अभियानकर्मीको सहभागिता रहेको सफाइ संयोजका चन्द्रप्रसाद दंगालले जानकारी दिए ।
चक्रपथ सफाइको ८७औँ हप्तामा नयाँ बालाजु चोकबाट माछापोखरीबीचको गंगा हल क्षेत्रमा सफाइ गरियो । तीनवटै सुरक्षा निकाय, महानगरपालिका, अभियानकर्मी र स्थानीयवासी गरी तीन सय ५० भन्दा बढीले गरेको सफाइबाट १२ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको अभियानकर्मी लोकबहादुर टन्डनले जानकारी दिए ।
आलोकनगर सफाइ अभियानले ८७औँ हप्ताको सफाइ त्यस क्षेत्रमा गरी एक मेट्रिक टन फोहोर व्यवस्थापन गरियो । सफाइका क्रममा पैदलयात्रीका लागि राखिएको डस्टबिनमा स्थानीयवासीले फोहोर हालेको भेटिएको संयोजक प्रमिला पौडेलले जानकारी दिइन् ।
चक्रपथ बाफल खण्डको ६९औँ हप्तामा स्वयम्भू क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । सफाइमा २ सय ५० भन्दा बढी अभियानकर्मीको सक्रियता रहेको सफाइका संयोजक ताराबहादुर कुँवरले जानकारी दिए ।
महानगरपालिकाले ‘सहरी सौन्दर्य प्रवद्र्धन सघाउ अभियान’ लाई निरन्तरता दिएको छ । काठमाडौं महानगरपालिकाले मंसिर आठ गतेदेखि उक्त अभियानको सुरुआत गरेको थियो ।
यसै सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले महानगरपालिकाले सुरु गरेको सफाइ अभियानलाई साथ र सहयोग रहने प्रतिबद्धता व्यक्ति गरेका छन् । ‘उपत्यकाको सहरमा बन्दै गरेका भौतिक संरचना निर्माण सामग्री जथाभावी राख्दा सहरको सौन्दर्यीकरणमा केही समस्या भएको छ,’ उनले भने ।
मन्त्री महासेठले राजधानी भित्रिने नाकाबाट आएको धुलोका कारण पनि महानगर फोहोर भएको उल्लेख गरेका थिए । उनले उक्त समस्या जेठ मसान्तसम्ममा समाधान हुने दाबीसमेत गरेका छन् । कलंकी–नागढुंगा सडक त्यस वेलासम्म बनिसक्ने समेत उनले जानकारी दिए । यस्तै, निर्माणमा प्रयोग गरिने सामानको व्यवस्थापनमा स्थानीयले पनि सहयोग गर्नुपर्ने उनले सुझाव दिएका छन् ।
यसैगरी, महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले धरहरा, दरबार हाइस्कुल, वीर अस्पताल र रत्नपार्कमा संरचना निर्माण भइरहेकाले प्रदूषण बढेको बताएका छन् । यी सामग्री ढुवानी गर्ने साधनले जथाभावी धुलो, गिट्टी, बालुवा नझार्ने हो र ठेकेदारले पनि ध्यान दिने हो भने महानगर सफा राख्ने अभियान सफल हुने उनले बताए ।
सफाइकै लागि पाँचवटा बुमर ल्याउन लागिएको उनले सुनाए । उपप्रमुख हरिप्रभा खड्गीले विकास जादुको छडीजस्तो नभएको उल्लेख गर्दै, बिस्तारै विकासको अभियान अघि बढ्ने बताइन् । शनिबार भएको सफाइ अभियान दुई चरणमा सञ्चालन गरिएको थियो । शान्तिबाटिकाबाट मन्त्री महासेठ, प्रमुख शाक्य र उपप्रमुख खड्गीले सफाइ अभियानको सुरुआत गरेका थिए ।
शान्तिबाटिकाबाट भोटाहिटी, जमल हुँदै महाराजगञ्जतिर अघि बढेको थियो । दोस्रो चरणको अभियान महाराजगञ्जबाट शिक्षण अस्पताल हुँदै लाजिम्पाट आएको थियो । सफाइका क्रममा सडकपेटीमा रहेका ¥याम्प हटाएर सडकको ढल तथा साइट ड्रेन जेट मेसिनले सफा गर्ने, अव्यवस्थित रूपमा रहेका केबल, विद्युत्, टेलिफोन तथा केवलका पोल तथा तार, खानेपानीका पाइप, निर्माणजन्य फोहोर हटाउने, सडकमा मार्किङ गर्ने तथा मर्मत गर्ने काम भएका थिए । सफाइका लागि पाँचवटा जेट, दुइवटा बुमुर, दुइवटा स्काभेटर र तीनवटा फोहोर संकलन गर्ने सवारी साधनको प्रयोग गरिएको थियो ।
५ जेठ ०६८ सालदेखि बाग्मतीबाट सुरु भएको सफाइ अभियान हाल देशका एक सयभन्दा बढी स्थानमा फैलिएको छ । सफाइबाट २० हजार मेट्रिक टन फोहोर व्यवस्थापन भइसकेको सफाइ महाअभियानले जनाएको छ । अधिकारसम्पन्न बाग्मती एवं उपत्यकाका अन्य नगरपालिकाले नदी फोहोर गर्नेलाई कानुनी कारबाहीको दायरमा नल्याउँदा अभियान सामाजिक सञ्जालमा मात्र फस्टाएको आरोप लाग्ने गरेको छ ।
अधिकारसम्पन्न बाग्मतीले नदीको मुहान क्षेत्रकै किनारमा खोलिएका सुँगुर फार्म बन्द गर्न नसक्दा माथिबाटै नदी फोहोर हुने गरेको छ । सरकारले ०७५ साललाई सरसफाइ वर्षका रूपमा घोषणा गरे पनि कुनै प्रभावकारी कार्यक्रम ल्याउन नसकेको अभियानकर्मीहरूको आरोप छ ।
प्रतिक्रिया