८ घण्टाभन्दा बढी सुते खतरा !

एजेन्सी, न्युयोर्क । प्रौढ मान्छे रातमा ६ देखि ८ घण्टाको समय मात्रै सुत्नुपर्ने एक अध्ययनले देखाएको छ । सो समयभन्दा बढी सुतेमा मृत्यु नै हुन सक्ने वा कार्डियोभस्कुलर रोगको असर देखिने विश्वव्यापी रूपमा गरिएको अध्ययनपछि युरोपियन हार्ट जर्नलमा बुधबार सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । सात वटा क्षेत्रका विभिन्न २१ देशको तथ्यांकलाई हेर्दा ८ घण्टाभन्दा बढी सुत्ने मानिसहरूमा हृदयाघात वा मुटुले काम नगर्ने समश्या देखिएको जनाइएको छ । ४१ प्रतिशत सम्म त्यस्ता मानिसको मृत्यु नै भएको समेत प्रतिवेदनमा उल्लेख छ ।

पेकिङ युनियन मेडिकल कलेज चीनको टोलीले गरेको अध्ययनका क्रममा सो तथ्य बाहिर ल्याएको हो । पहिला यसखालको अध्ययन उत्तर अमेरिका, युरोप र जापानमा गरिएकोमा अहिले विश्वव्यापी रूपमा गरिएको हो । ६ घण्टा भन्दा कम सुत्दापनि माथि उल्लेख गरिएका घटनाका लागि ९ प्रतिशत सम्भावना हुनेसमेत प्रतिवेदनमा जनाइएको छ ।

अध्यययन टोलीले २१ देशका ३५ देखि ७० वर्ष उमेर समूहका १ लाख १६ हजार ६ सय ३२ प्रौढ मानिसलाई आफ्नो सुत्ने बानीका बारेमा सोधेको जनाइएको छ । उनीहरूलाई करिब ७ वर्ष ८ महिनासम्म अनुगमन पनि गरिएको थियो । थोरै वा धेरै समय सुत्दा स्वास्थ्यमा समश्या आउने प्रतिवेदनमा जनाइएको छ । थोरै समय सुत्दा पनि उच्च रक्तचाप, डायबिटिजजस्ता समस्या देखिने बताइएको छ ।

प्रतिक्रिया