हस्तकला प्रर्वधनका बाधक तत्व

हस्तकलाका सामानहरूको निर्यात छिमेकी राष्ट्रहरू तथा युरोप र अमेरिकामा बढे पनि कामदारहरूको कमीले गर्दा मागपूर्ति गर्न सकिएको छैन । श्रमको कमीले गर्दा केही समय यता भारत र बंगलादेशका कालिगढहरूले पनि सुन चाँदीको गहना एवं विभिन्न हस्तकलाका सामानहरू बनाउँदै आएका छन् ।

हस्तकला मुलुकको सबै जिल्लामा छ । नेपालको प्रत्येक जिल्लामा विभिन्न जातजातिका व्यक्तिहरू बसोबास गर्ने हुनाले उनीहरूका आआफ्ना संस्कृतिअनुसार विभिन्न किसिमका हस्तकलाका सामानहरू पाइन्छन् । नेपालबाट ४२ प्रकारका हस्तकलाका सामग्रीहरू विश्वका ६० भन्दा बढी देशमा निर्यात गरिन्छ, जसमध्ये पस्मिना, फेल्ट, धातुका सामान, काठका सामान, प्राकृतिक रेशाजन्य सामग्री र मिथिला पेन्टिङ उल्लेखनीय छन् । संयुक्त राज्य अमेरिका, जर्मनी, चीन, भारत, जापान, बेलायत, फ्रान्स, डेनमार्क र क्यानडा नेपाली हस्तकलाका निर्यात हुने प्रमुख देशहरू हुन् । वर्तमान समयमा छिमेकी देश भारत र चीनमा यहाँका हस्तकलाका सामानहरूको माग बढेको छ ।

आजकाल देशभित्र पनि सजावटका लागि हस्तकलाका सामानहरू प्रयोग गर्ने प्रवृत्ति बढेको छ । यति मात्र होइन, प्रत्येक वर्ष नेपाल आउने पर्यटकमध्ये धेरैले यहाँको चिनोको रूपमा वस्तुकलाका सामानहरू खरिद गर्छन् । नेपाल आउने कतिपय विदेशी राष्ट्र प्रमुख तथा प्रसिद्ध व्यक्तिहरूलाई हस्तकलाका सामानहरू उपहार स्वरूप प्रदान गर्ने चलन छ ।

हस्तकलालाई प्रश्रय दिने उद्देश्यले सरकारले सार्वजनिक खरिदमा १५ प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तु प्रयोग गर्न जोड दिएको छ । तर, यो व्यवहारमा भने लागू हुन सकेको छैन । प्रत्येक धातु तथा कपडाबाट उत्पादित हस्तकलाका सामानहरूको माग झण्डै उस्तै नै छ । कपडाबाट बनेका सामानहरूमा खास गरेर पस्मिना, सुती, फलाटिन, रेशम, अल्लो र ढाकाबाट उत्पादित सामानहरूको बढी माग छ । ऊनबाट बनेका सामग्रीहरूको पनि निकै माग छ । यसैगरी, सिल्भर, काठ, विभिन्न किसिमका पत्थर, छाला, बेतबाँस थान्का लगायतका सरदर १६ प्रकारका हस्तकलाका सामानहरू विदेश निर्यात हुँदै आएको छ ।

एक आधिकारिक तथ्यांकअनुसार हस्तकला उद्योगमा संलग्न प्रत्यक्ष र अप्रत्यक्ष गरी २१ लाख जति व्यक्तिहरूले रोजगारी पाएका छन् । परन्तु, यहाँ कामको सम्मान गर्ने प्रवृत्ति नभएकोले उक्त उद्योगमा हिनताबोध हुन थालेको छ । त्यसैले, परम्परागत रूपमा काम गर्ने मजदुरहरूको संख्या कम हुँदै गएको छ । यस व्यवसायमा युवाहरूको आकर्षण बढ्न नसकेकोले श्रमको अभाव छ ।

हस्तकलाका सामानहरूको निर्यात छिमेकी राष्ट्रहरू तथा युरोप र अमेरिकामा बढे पनि कामदारहरूको कमीले गर्दा मागपूर्ति गर्न सकिएको छैन । श्रमको कमीले गर्दा केही समय यता भारत र बंगलादेशका कालिगढहरूले पनि सुन चाँदीको गहना एवं विभिन्न हस्तकलाका सामानहरू बनाउँदै आएका छन् ।

नेपालमा उत्पादित हस्तकलाका सामानहरूमध्ये माटाका भाडाहरूको पनि कम महत्व छैन । यहाँ उत्पादित माटाका भाँडाहरूमध्ये खास गरेर गमला, घ्याम्पो, घैँटो, हाँडी र खुत्रुके आदि छन्, जसमध्ये खुत्रुकेको विदेशमा निकै माग छ । विदेशबाट यहाँ केही माटाका भाँडाहरू आयात गरिए तापनि यहाँबाट प्रत्येक वर्ष झण्डै ३ करोड मूल्य बराबरको माटाका भाँडाहरू निर्यात गरिन्छन् ।

वस्तुतः यहाँ माटाका सामानहरू प्राचीनकालदेखि नै बनाउन थालिए पनि हाल माटो र विभिन्न किसिमका रङहरूको बढ्दो मूल्यको कारण उक्त सामानहरू बनाउने काममा बाधा पुगेको छ । धातु तथा प्लास्टिकका सामानहरूको बढ्दो प्रयोगले गर्दा नयाँ पुस्ताका व्यक्तिहरू यस व्यवसायमा आकृष्ट भएका छैनन् । यति मात्र होइन कालिगढहरूलाई तालिम दिने संस्थाहरूको अभावमा, यहाँबाट उत्पादित माटाका भाँडाहरूको गुणस्तर अभिवृद्धि गर्न सकिएको छैन ।

हस्तकलाको प्रवद्र्धनका लागि समसामयिक तालिमको आवश्यकता छ । तर, यहाँ उक्त कलासम्बन्धी तालिम दिने संस्थाहरू छैनन् । भारत र बंगलादेशमा हस्तकलाका सामानहरू बनाइ निर्यात गर्ने संघ÷संस्थाहरूलाई प्रोत्साहन दिने विशेष व्यवस्था भएकोले ती देशहरूमा उक्त व्यवसायमा संलग्न व्यक्तिहरू उत्साहित छन् । किन्तु, यहाँ हालसम्म पनि उक्त व्यवस्था गर्न सकिएको छैन ।

हस्तकलामा युवाहरूको खासै चासो देखिँदैन । त्यसैले, विद्यालयहरूको पाठ्यक्रममा हस्तकलासम्बन्धी कुराहरू समावेश गर्न सके भविष्यमा यहाँका युवाहरू उक्त कलामा आकर्षित हुने थिए । आगामी दिनहरूमा हस्तकलाका सामानहरूको माग अभिवृद्धि गर्न यिनीहरूको डिजाइनमा पनि केही परिवर्तन गर्न जरुरी छ । यसका लागि अन्तर्राष्ट्रिय स्तरका डिजाइनरहरू झिकाइ यहाँका कालिगढहरूलाई समसामयिक तालिम दिन आवश्यक छ ।

यहाँको हस्तकलाको विकासका लागि मजदुरहरूको संख्या बढाउन नित्तान्त आवश्यक छ । यसका लागि इच्छुक व्यक्तिहरूलाई तालिम दिने व्यवस्था हुनुपर्छ । यसका साथै, सम्बन्धित व्यक्ति तथा संस्थाहरूबाट वेलावेलामा हस्तकलासम्बन्धी प्रदर्शनीहरू आयोजना गर्ने, हस्तकलासम्बन्धी प्रतियोगिताहरू आयोजना गर्ने र ऋण सहज तथा सुलभ तरिकाले उपलब्ध गराउन जरुरी छ ।

आधिकारिक तथ्यांकअनुसार नेपालमा वार्षिक ३ सय ५० मेट्रिक टनभन्दा बढी अल्लोको बोक्राबाट धागो तथा अल्लोजन्य हस्तकलाका सामानहरू उत्पादन गरिन्छ । यी सामानहरूमध्ये ८० प्रतिशतभन्दा बढी निर्यात गरिन्छ । यसरी निर्यात गरिने देशहरूमा खास गरेर संयुक्त राज्य अमेरिका, क्यानडा, इटाली, स्विजरल्यान्ड, नेदरल्यान्ड, नर्बे, डेनमार्क, फिनल्यान्ड र दक्षिण कोरिया प्रमुख छन् ।

नेपाल हस्तकला महासंघको हस्तकला निर्यात तथ्यांकअनुसार आर्थिक वर्ष ०६४÷६५ मा ४८ लाख ४१ हजार १ सय ५३ रुपैयाँ मूल्य बराबरको अल्लोजन्य हस्तकलाका सामानहरू निर्यात गरिएको थियो भने आर्थिक वर्ष ०६५÷६६ मा ४७ लाख ३९ हजार ६ सय ६८ रुपैँया मूल्य बराबरको अल्लोजन्य हस्तकलाका सामानहरू निर्यात गरिएको थियो । हालका वर्षहरूमा उक्त रकमभन्दा केही बढी मूल्यका हस्तकलाका सामानहरू निर्यात गरिन्छ ।

नेपालमा १२ सयदेखि ३ हजार मिटरसम्मको उचाइमा अल्लो पाइन्छ । अल्लो यहाँको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ३५ हिमाली तथा पहाडी जिल्लाहरूमा पाइन्छ । वास्तवमा अल्लोका रेशा तथा रेशाजन्य वस्तुलाई प्रशोधन गरेर अल्लोसम्बन्धी हस्तकलाका सामानहरू बनाइन्छ । हाल नेपालमा अल्लोजन्य हस्तकलाका सामानहरूको उत्पादनमा विभिन्न संघ÷संस्थाहरू आबद्ध छन् । जसमध्ये हिमालयन नेचुरल फाइबर फाउन्डेसन, निनामरिदम ह्यान्डीफ्राफर र नेपाल किराँत–कुलुङ भाषा संस्कृति उत्थान संघ अग्र पंक्तिमा छन् ।

नेचुरल फाइबर फाउन्डेसनले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका र संखुवासभाको सिलिचोङ, गाउँपालिकालाई आधार क्षेत्र मानेर ती क्षेत्रका गरिब किसानहरूलाई अल्लोको बेर्ना उतपादन, खेतीगर्ने तरिका, प्रशोधन गर्ने तरिकालगायत विभिन्न तालिमहरू प्रदान गरी अल्लो तथा यसबाट बनाउने हस्तकलाका सामानहरूको उत्पादनमा सक्रिय सहयोग गरेको छ ।

उक्त फाउनडेसनले रुकुम र रोल्पामा पनि साना तथा घरेलु उद्योग विभाग र जर्मनीको जिटीजेड संस्थाको सहकार्यमा अल्लो उद्योग प्रवद्र्धनका लागि तालिम सञ्चालन गरेको थियो । नेडेप नेपालले पर्वत, बागलुङ र म्याग्दी जिल्लामा अल्लोको दिगो विकास, व्यवस्थापन, प्रविधि हस्तान्तरण र उद्यमशीलता विकाससम्बन्धी तालिम प्रदान गरी हस्तकलाको प्रवद्र्धनमा मद्दत गर्दै आएको छ ।

केही वर्ष यता होमनेट नेपालले अल्लोका हस्तकलाका सामान बनाउने र बेच्ने काम गर्दै आएको छ । अल्लोका हस्तकलाका सामानहरू बनाइ बिक्री गर्ने अन्य संस्थाहरूमा महागुठी, साना हस्तकला संघ र हस्तकला उत्पादक संघको नाम उल्लेखनीय छन् । त्यी संस्थाहरूले अल्लोसम्बन्धी हस्तकला उद्योगहरूको संवद्र्धन तथा प्रवद्र्धनमा टेवा पु¥याएका छन् ।

प्रतिक्रिया