काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा दुल्लु सांस्कृतिक महोत्सव तथा बृहत् वाङ्मय संगोष्ठी सम्पन्न भएको छ ।
मध्यपश्चिमाञ्चल साहित्य परिषद्, जिल्ला समन्वय समिति दैलेख, दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, नारायण नगरपालिका, चामुण्डा–विन्द्रासैनी नगरपालिका, भेरी साहित्य समाज लगायतद्वारा आयोजित कार्यक्रममा नेपाली भाषा साहित्यका बारेमा बहस गरिएको थियो ।
दैलेखको दुल्लुमा कार्तिक २७ र २८ गते आयोजित उक्त कार्यक्रम नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. रमेशप्रसाद ढकाल, राससका अध्यक्ष एवं कवि श्यामल, प्रज्ञा–प्रतिष्ठानका निवर्तमान उपकुलपति डा.विष्णुविभु घिमिरे, निवर्तमान सदस्यसचिव प्रा.डा. जीवेन्द्रदेव गिरी, नवनियुक्त सदस्य सचिव प्रा.जगत उपाध्याय ‘प्रेक्षित’ लगायतका व्यक्तित्वले नेपाली भाषा साहित्य तथा संस्कृतिका बारेमा चर्चा गरेका थिए ।
त्यस्तै, इतिहासकार प्रा. दिनेशराज पन्त, समालोचक प्रा.डा. ज्ञानू पाण्डे, संस्कृतिविद् डा. जगमान गुरुङ, इतिहासकार प्रा. राजाराम सुवेदी, समालोचक डा. हेमनाथ पौडेल, साहित्यकार हरिप्रसाद तिमिल्सिना, योग तथा प्राकृतिक चिकित्सक एवं चिन्तक डा.हरिप्रसाद पोखरेल, मध्यपश्चिमाञ्चल साहित्य परिषद्का पूर्वअध्यक्ष डा. मधुसूदन गिरी, साहित्यकार प्रा.डा. सुधनकुमार पौडेल, प्रा.डा. धनेश्वर नेपाल, साहित्यकार डिल्लीप्रसाद पाण्डेय लगायतका स्रष्टाको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा ‘दैलेखमा पर्यटकीय सम्भावना’ विषयमा अन्तत्र्रिmयासमेत गरिएको कार्यक्रम थियो । प्रतिष्ठानका सदस्यसचिव तथा मध्यपश्चिमाञ्चल साहित्य परिषद्का अध्यक्ष प्रा. जगत् उपाध्याय ’प्रेक्षित’ द्वारा दैलेख दुल्लु र सिंगो कर्णाली प्रदेशको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, साहित्यिक र प्राकृतिक महत्वका विषयमा चर्चा गर्दै दुल्लु सांस्कृतिक महोत्सव तथा बृहत् वाङ्मय संगोष्ठीको औचित्यमाथि प्रकाश पारेका थिए ।
त्यसैगरी, काठमाडौंबाट गएको स्रष्टाको टोलीलाई धार्मिक पर्यटकीय स्थल शिरस्थान र नाभिस्थानका ज्वाला, दुल्लु कीर्तिस्तम्भ, पाथर्नाउली, नेपाली भाषाको पहिलो शिलालेख, पौवास्थित संग्रहालय अवलोकन गराइएको थियो ।
प्रतिष्ठानका कुलपति उप्रेतीले उद्घाटन गरेको कार्यक्रममा कलाकारले दैलेख, दुल्लु क्षेत्रमा ऐतिहासिक कालदेखि प्रचलित हुड्के, धमारी, भैलो, भैनी, फट्को, मारुनी, डेउडा, झोडा, मागल, रोपाइँ गीत, वंशावली र गाथा लगायतका लोक सांस्कृतिक गीतिनृत्य प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा कुलपति उप्रेती, सांसद राजबहादुर बुढा, राससका अध्यक्ष श्यामल, इतिहासकार प्रा. दिनेशराज पन्त, निवर्तमान उपकुलपति घिमिरे, सभाध्यक्ष उपाध्याय, प्रमुख जिल्ला अधिकारी बाँस्कोटालगायतले मन्तव्य व्यक्त गरेका थिए । उद्घाटन समारोहको सञ्चालन ओम रिजालले गरेका थिए ।
चार चरणमा सम्पन्न गोष्ठीको पहिलो सत्रमा प्राडा डिल्लीराज शर्माले लेखेको ‘कर्णाली भेकका सम्पदा र तिनीहरूमा विद्यमान धार्मिक समन्वयवाद’ शीर्षकको कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्र प्रस्तोता विशेष कारणवश उपस्थित हुन नसकेकाले उनको कार्यपत्रलाई प्राडा धनेश्वर नेपालले वाचन गरेका थिए । डा. विष्णुविभु घिमिरेको अध्यक्षता र हरिप्रसाद तिमिल्सिनाको सञ्चालनमा सम्पन्न उक्त सत्रको कार्यपत्रमाथि डा. जगमान गुरुङले टिप्पणी गरेका थिए ।
दोस्रो सत्र प्रा.डा. राजाराम सुवेदीको अध्यक्षता र हेम सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । उक्त सत्रमा उपप्राध्यापक डिल्लीप्रसाद पाण्डेयद्वारा लिखित ‘दैलेख, दुल्लुका संस्कृत तथा नेपाली भाषाका ऐतिहासिक अभिलेखहरू’ शीर्षकको कार्यपत्र प्रस्तुत गरिएको थियो । सो कार्यपत्र माथि इतिहासकार प्रा. दिनेशराज पन्तले टिप्पणी गरेका थिए ।
प्राडा ज्ञानू पाण्डेको अध्यक्षता र समीर शाहको सञ्चालनमा भएको तेस्रो सत्रमा प्रा. जगत उपाध्याय ’प्रेक्षित’ द्वारा लिखित ‘नेपाली कवितामा कर्णाली प्रदेशको स्थिति’ शीर्षकको कार्यपत्र प्रस्तुत गरिएको थियो । सो कार्यपत्रमाथि समालोचक डा.हेमनाथ पौडेलले टिप्पणी गरेका थिए ।
ने.सं.वि.का शिक्षायक्ष प्रा. रमेशप्रसाद ढकालको अध्यक्षता र नारायण तिमिल्सिनाको सञ्चालनमा सम्पन्न चौथो गोष्ठी सत्रमा डा. मधुसूदन गिरीद्वारा लिखित ‘कर्णालीका लोपोन्मुख केही परम्परा’ शीर्षकको कार्यपत्र प्रस्तुत गरिएको थियो । उक्त कार्यपत्रमाथि प्रा.डा.जीवेन्द्रदेव गिरीले टिप्पणी गरेका थिए ।
समापन सत्रमा डा. विष्णुविभु घिमिरे, डा. हरिप्रसाद पोखरेल ‘मानसाग्नि’, श्यामल, डा. मधुसूदन गिरी, प्रा.जगत उपाध्याय ‘प्रेक्षित’, हरिप्रसाद तिमिल्सिना, डिल्लीप्रसाद पाण्डेय, सन्ध्या पहाडी, घनश्याम भण्डारी, प्रा.डा. सुधन पौडेल, ओम रिजाल, समीर शाह, हेम सुवेदी, रावत ‘गुराँस’, शोभा ज्ञवाली लगायतका कविले कवितावाचन गरेका थिए ।
प्रतिक्रिया