माटोको ढिस्कोले पुरिएर ३ को मृत्यु

दाङ । माटोको ढिस्कोले पुर्दा एकै परिवारका तीनजनाको मृत्यु गएको छ । दसैँका लागि भनेर घर पोत्ने माटो लिन गएका राप्ती गाउँपालिका–४ मौरीघाटका तीनजनाको माटो खनिरहेको अवस्थामा माथिबाट खसेको ढिस्कोले पुर्दा मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो करिब १ बजेतिर माटो लिन गएका मौरीघाटका शिउचरण चौधरीकी ३० वर्षकी छोरी श्यामा चौधरी, २५ वर्षकी भाइबुहारी निनाकुमारी चौधरी र १२ वर्षीया नातिनी रोजिना चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

परिवारका तीन सदस्यको मृत्युले चौधरी परिवार विक्षिप्त भएको छ भने गाउँ शोकमा डुबेको छ । शनिबार बिहान घरनजिकै रहेको दोलइ खोलामा माटो लिन गएका उनीहरू अपराह्नसम्म पनि घर नफर्केपछि चौधरी परिवारले खोजी गर्दा पुरिएको अवस्थामा फेलापरेका थिए ।

दसैँका लागि घर लिप्न प्रयोग गर्ने कमेरो माटोको खानी त्यहाँ भएकाले स्थानीय ४०÷४५ घरले त्यहाँको माटो प्रयोग गर्दै आएका थिए । गाउँलेहरूले झन्डै ४ मिटर गहिरो खाल्डोबाट माटो निकाल्दै आइरहेका थिए ।

शनिबार त्यहीँबाट माटो निकाल्दै गर्दा माथिबाट ढिस्को खसेर उनीहरूलाई पुरेको स्थानीयको भनाइ छ । पहिले पनि त्यही स्थानमा माटोकै ढिस्कोले एकजनालाई पुरेको थियो ।

प्रतिक्रिया