काभ्रेको विकट मानिने डाँडापारिको खानीखोला गाउँपालिका–६ साल्धाराको स्वास्थ्यचौकी देउरालीबाट तल ३० मिटरको दुरीमा रहेको ढडेनमा पुग्दा प्रायः सधैँ निराश मुद्रामा गुनगुन गरिरहेका भेटिन्छन् वीरबहादुरका दम्पती । नेपाली समाजमा सन्तानलाई ईश्वरको वरदानरूपमा मानिन्छ । जे दिन्छन् त्यसमै खुसी हुनु भनिन्छ ।
एउटा छोराको आशमा धेरै छोरीलाई जन्माएको हामीले धेरै पहिले सुन्दै आएका हौँ । तर, आजका दिनमा पनि छोराकै आशमा आठ छोरी जन्माएको हामीले सायदै सुनेका हाैँला । हो सुन्दा पनि कथाझैँ लाग्ने त्यो पुरानो विचारले गाँजेको हाम्रो समाजभित्र अझै पनि खोजी गर्दा भेटिँदै छन् यस्ता पात्रहरू ।
ती पात्र मध्ये एक जोडी पात्र बनेका छन् ४२ वर्षीय वीरबहादुर थोकर र ४१ वर्षीय सुशीला थोकर । गाउँघरबाटै लोप हँुदै गरेको अलिअलि वर्षात्का वेला पानी चुहिने थोरै ठाउँमा बोराले टालेको खरको छानो भएको एकतले घर, घरबाहिर पालीमा झुत्रा कपडाहरू झुन्डाइएको घरभित्र भान्सामा मकैको खोले पाक्दै गर्दा कोही झगडा गर्दै ।
कोही आफ्नो अस्वस्थ शरीर लिएर पीडाका भाषा बोल्दै, दुई महिनाको काखे छोरी कोक्रामा छिन्, घरभित्र बाक्लो बादल लागेझैँ पिरो लाग्ने धुवाँका मुस्लो घरका प्वालप्वालबाट निस्कँदै छन् । कोही बेलुकीको बासी खाना खाँदै गरेका देखिन्छन् । यसैबीच आफ्नो सुख दुःखबारे (तामाङ भाषामा) गुनगुन गर्दै छोरीहरूलाई गाली गर्दै गरेका भेटिन्छन् थोकर दम्पती ।
२१औँ शताब्दीमा हामी के छोरा के छोरी भन्दै थुप्रै भाषण सुन्छौँ, गर्छौं । तर, व्यावहारिक रूपमा कति लागू भए कतै सहर केन्द्रित मात्रै त भएका छैनन् यसको विश्लेषण हामीले कहिल्यै गरेनाैँ। फिल्ड रिर्पोटिङका लागि पुग्दा उनले बस्नका लागि पालिमुनिको दलानमा एक पिर्का दिएर बस्न आग्रह गरे । अनि लामो सास फेर्दै आफ्ना वेदनाहरू सुनाउन थाले, वीर बहादुर ।
केही औपचारिक कुरापछि यतिका सन्तान किन पाउनुभयो भन्ने जिज्ञासामा वीर बहादुर भन्छन्, ‘समाजले मलाई छोरा जातको पगरी भिराइदियो, बाबुले आफ्नो बिँडो थाम्ने सन्तानका रूपमा हामीलाई नै ठाने, मृत्यु संस्कारपछि सबै पितृ तार्नका लागि छोरा नै चाहिन्छ, छोरीहरू अर्काको घर जाने जात हुन्, बुढेसकालमा आफ्नो साहरा छोराको खोजी गर्दै ।
समाजमा सुनिएको कुरालाई विश्वास मान्नै परिहाल्यो, परिवार नियोजन र गर्भपतनबारे हामीले कहिल्यै सोचेनौँ । कसैले हामीलाई यसको बारेमा केही सुझावसमेत दिएनन् । पछि त आफैँले आशा गर्दै अब त छोरा कै पालि हो भन्दै कुर्दा यहाँसम्म आइपुगियो, अब छोरीहरूलाई कसरी हुर्काउने, पढाउने, कसरी उपचार गराउने भन्ने चिन्ता छ ।
आम्दानीको स्रोत शून्य छ । मेरो सबैभन्दा जेठी छोरी १८ वर्षकी संगीता थोकर बिरामी छिन् । अरू छोरीहरू पनि बिरामी छन् । वेलावेला पत्नी पनि बिरामी हुन्छिन्, एउटै छोरी (सुनिता थोकर) घरमाथिको विद्यालय शारदा माविमा ९ कक्षामा पढ्छिन् । जग्गा जमिनको नाममा तीन रोपनी जति पाखो बारी छ।
सम्पतीको नाममा एक हल गोरु छन्, उनी चुप लाग्छन् । मैले पनि अरू केही जान्न र सोध्न चाहिनँ । केही छिनको सन्नाटापछि वीरबहादुरले फेरी लामो सास तान्दै भने, ‘अब त मनले हरेस खाइसक्यो, सपनाहरू मरे अब बाँच्नु बेकार छ ।’ ‘बुबाले मलाई सपना दिनुभयो, जसबाट मैले आफ्नो भविष्य देख्न सकेँ ।
विश्वप्रसिद्ध अमेरिकी गायिका एवं कलाकार लिजा मिन्नेलीको यो भनाइ धेरै छोरी चेलीहरूको जीवनमा मेल खान्छन् । तर, यी वीरबहादुर जसले आफ्नै सपनासमेत गुमाएका छन् । उनका यी आठ छोरीका लागि वीरबहादुरले न त सपना देखाउन सकेका छन् न त आफैँ सपना देख्न सकेका छन् । मिन्नेलीले भनेझैँ न त छोरीहरूले आफ्नो भविष्य देख्न सकेका छन् ।
०५६ मा सुशीला र वीरबहादुरको विवाह भएपछिको ०५७ सालदेखि दुई÷अढाई वर्षको जन्मान्तरमा हालसम्म उनका आठ छोरी जन्मिसकेका छन् । जेठी छोरी संगीता १८ वर्षकी भइन् । उनी घरमा नै बहिनीहरूलाई हेर्ने र बुबाआमालाई सघाउने गर्छिन् । उनले अध्ययन गरेकी छैनन् ।
बाँकी माहिँली सुनिता (१६) नौ कक्षामा, साहिँली सुस्मिता (१३) चार कक्षामा, काहिँली सुनिता (१०) वर्षकी तीन कक्षामा र ठाहिँली विनिता (८) र सुविना (७) वर्षकी १ कक्षामा अध्ययरनरत छन् । भने बाँकी तीन वर्षकी रञ्जिता र दुई महिनाकी अरेस्मा थोकर सानै भएकाले उनीहरू विद्यालय गएका छैनन् ।
यसरी दम्पतीसहित १० जनाको परिवार पाल्न उनलाई गाह्रो भएको छ । राजधानीको नजिक भए पनि यो ठाउँ अनकण्टार ठाउँमा रहेको छ । विकासका पूर्वाधारहरू राम्रोसँग अझ पुग्न सकेको छैन । मोटरबाटो, बिजुली, सञ्चारको भरपर्दाे सेवा त्यहाँ पाउन सकिँदैन । हाल पनि त्यहाँका मानिस बिरामी पर्दा अस्पतालको सट्टामा झारफुकमा नै विश्वास गर्छन् ।
पशु बिरामी परेमा मारी खानेजस्ता चलन अहिले पनि देख्न सकिन्छ । यहाँ अझ पनि अन्धविश्वास र कुरितीले ग्रस्त छ । त्यहाँमाथि पौरखी हात बिदेसिनाले भएका जग्गाजमिन पनि बाँझै छन् । गाउँमा महिला केटाकेटी र बुढाबुढी मात्रै भेटिन्छन् ।
प्रतिक्रिया