टर्की र रुसको मतान्तर

तेहरान । सिरियाको इडलिबमा भएको द्वन्द्वका बारेमा टर्की र रुसले फरक–फरक मत व्यक्त गरेका छन् ।

टर्कीले तत्काल युद्धविराम गर्न आह्वान गरिरहेका वेला रुसले भने आतङ्ककारीलाई नियन्त्रणमा लिनु सिरियाको अधिकार भएको तर्क गरेको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले इडलिबमा रुसी हवाई हमला भएपछि शुक्रबार युद्व विराम गर्न आह्वान गरेका हुन् । ‘यदि हामीले यहाँ युद्वविराम सुनिश्चित गर्न सक्याैँ भने शिखर सम्मेलनका लागि यो एउटा महत्वपूर्ण कदम हुनेछ, यसलाई गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ,’ इर्डोगानले भने ।

इरानको राजधानी तेहरानमा शुक्रबारबाट सुरु भएको शिखर बैठकको सुरुमा उनले यस्तो बताएका हुन् । इरान र रूसलाई दमास्कसका विषयमा मुख्य पक्ष मानिन्छ । सिरियाको इडलिबमा जारी द्वन्द्वको अन्त्य गरी त्यहाँ रहेका नागरिकको भविष्य सुरक्षित गर्ने उद्देश्यले तेहरानमा इरान, रसिया र टर्कीका राष्ट्रपतिबीच बैठक सुरु भएको हो ।

शिखर बैठकले सिरियाको इडलिब प्रान्तमा गएको करिब दुई वर्षदेखि कब्जा जमाउँदै आएका विद्रोही र उनीहरूको कब्जामा रहेका सिरियाका अरू सर्वसाधारणका बारेमा छलफल गरी आवश्यक रणनीति बनाउने अपेक्षा गरिएको छ ।

तेहरानबाट शुक्रबार प्राप्त समाचारमा उक्त प्रान्तमा रहेका लडाकू र उनीहरूको नियन्त्रणमा रहेका नागरिकको भविष्यका बारेमा महत्वपूर्ण निर्णय लिने बताइएको छ ।

बैठकमा सहभागी रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने आफ्नो क्षेत्रलाई नियन्त्रणमा लिनु इरानको अधिकार भएको तर्क गर्दै आक्रमण जायज र आवश्यक रहेको संकेत गरे । रुसको सहयोगमा सिरियाली सेनाले इडलिबमा आक्रमण गर्ने बताउँदै आएको छ । उक्त आक्रमणको तयारी भइरहेको पनि बुझिएको छ । यसै समयमा यो शिखर बैठक बसेको हो ।

सिरियामा गएको करिब सात वर्षदेखि सिरियाली विद्रोहीका कारण गृहयुद्ध मच्चिएको छ । ती विद्रोहीले पनि इडलिबलाई मुख्य अखडा बनाएका छन् । सन् २०१५ देखि त उनीहरूले उक्त सहर कब्जा नै गरेका थिए । इडलिबमा अहिलेकै अवस्थामा आक्रमण हुँदा ठूलो मानवीय क्षति हुने चेतावनी दिइएको छ । संयुक्त राष्ट्रसंघ लगायतका संघसंस्थाले पनि यहाँ हवाई आक्रमण नगर्न भनेका छन् ।

यहाँका विद्रोहीलाई टर्कीको समर्थन रहिआएको छ । त्यस्तै, सरकारी सेनालाई छिमेकी रुस र इरानको समर्थन छ । त्यसैले पनि अहिलेकै अवस्थामा आक्रमण गरी उक्त सहरमा कब्जा गर्ने प्रयत्न सरकारी सेनाले गर्ने हो भने ठूलो मानवीय क्षति हुनसक्ने अनुमान सर्वत्र गरिएको छ ।

सन् २०१५ मा कब्जा गरिएको इडलिब र त्यस वरपरका इलाकामा मात्र करिब ३० लाख मानिस बस्छन् । तीमध्ये आधाजति नागरिक सिरियाका अन्य क्षेत्रबाट विस्थापित भएर आएका हुन् ।

विगतमा टर्की सरकारले सहायता दिएकाले यहाँ विद्रोहीको संख्या बढेको बताइएको छ । इडलिबको सीमा टर्कीसँग जोडिएको छ । त्यसैले पनि यहाँ टर्कीले सैनिक जाँच चौकीसमेत स्थापना गरेको छ ।

सिरियामा गृहयुद्ध जारी छ । सात वर्षसम्म यहाँ चलेको यस युद्धका कारण हालसम्म ३ लाख ५० हजारभन्दा बढीको ज्यान गइसकेको छ । यस युद्धका कारण १ करोड १० लाख मानिस विस्थापित छन् ।

प्रतिक्रिया