विश्वभर नै लोपोन्मुख वन्यजन्तुको सूचीमा रहेको पाटेबाघ नेपालका विभिन्न राष्ट्रिय निकुञ्ज र आसपासका जंगलमा पाइन्छन् । कैयौँ विदेशी नेपालमा महँगो खर्च गरेर पाटे बाघ हेर्नसमेत आउने गरेका छन् । चार वर्षअघि गरिएको गणनामा नेपालमा झन्डै दुई सय वटा पाटे बाघ भेटिएका थिए ।
तर, प्राकृतिक वासस्थानको विनाश र चोरीसिकारका कारण ‘प्यान्थेरा टाइग्रिस’ प्रजातिको यो दुर्लभ जीव संकटामा रहेकोमा विज्ञहरूले चिन्ता गर्न थालेका छन् । संरक्षण र चोरी सिकारी नियन्त्रणका योजना लागू गरेर नेपालले पनि सन् २०२२ सम्म बाघको संख्या बढाउने लक्ष्य राखेको छ ।
बाघ अवलोकनका लागि नेपालको उपयुक्त गन्तव्य मानिने बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ संरक्षणमा केही चुनौती भने छँदै छ । यसका बारेमा सरकारले गम्भीर रूपमा लिएको बताउँदै आएको छ । नेपालमा बाघ अवलोकनका लागि उपयुक्त गन्तव्य मानिने बर्दिया राष्ट्रिय निकुञ्ज मध्य–पश्चिम नेपालको तराई पर्दछ ।
यो कर्णाली र बबई नदीका बगर, उपत्यका, वन र घाँसे मैदान क्षेत्र रहेको यो निकुञ्जमा ५० वटा वयस्क बाघ रहेको निकुञ्जको भनाइ छ । निकुञ्जमा रहेका बाघले चित्तल, लगुना, बाह्रसिंगाजस्ता जनावरको सिकार खेलेर आफ्नो आहारा प्राप्त गर्दछ । बाघलाई स्वस्थ जंगलको प्रतीक रूपमा पनि मानिन्छ ।
विश्वका बाघ पाइने देशहरूले सन् २०२२ (चिनियाँ पात्रो अनुसारको बाघ वर्ष) सम्ममा बाघको संख्या सन् २०१० (अघिल्लो बाघ वर्ष) को भन्दा दोब्बर बनाउने महत्वाकांक्षी योजना बनाएका छन् । ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २०१५ को गणनामा ५० वटा वयस्क बाघ रहेको पाइएको थियो ।
अंग्रेजीमा ‘रोयल बंगाल टाइगर’ भनिने पाटे बाघ दक्षिण एसियाको भारत, बांग्लादेश, भुटान र नेपालमा पाइन्छ । बाघलाई नेपालमा संरक्षित जनावरको सूचीमा राखिएको छ । त्यसकारण पनि यहाँको बाघप्रति विश्वले महत्वका साथ हेर्ने गर्दछ । विज्ञहरूका अनुसार बाघ घाइते, अशक्त र वृद्ध भएको अवस्थामा घरपालुवा जनावरजस्ता सजिलो सिकारलाई आहारा बनाउने गर्दछ ।
पछिल्लो गणनाअनुसार नेपालमा पाटे बाघको संख्या १ सय ९८ रहेको छ । पाटे बाघ नेपालको पर्सादेखि पश्चिमतिर चितवन, बाँके, बर्दिया र शुक्लाफाँटामा पाइन्छ । वेलावेलामा पाटे बाघ र निकुञ्ज क्षेत्रमा बसोबास गर्ने स्थानीयकाबीच पनि जम्काभेट हुने गर्दछ । बाघबाट हुने गरेको आक्रमणको घटनालाई हेर्दा बाघले बच्चा (डमरु) आफूसँगै रहेको बेला मानिसलाई आक्रमण गर्ने गरेको पाइएको छ ।
केही वर्षअघि बर्दियाको खाताका भदै थारूले बाघको आक्रमणमा एक आँखा गुमाएका थिए । उनलाई बर्दिया घुम्न आएको वेला प्रसिद्ध अमेरिकी नायक लिओनार्दो डिकाप्रियोले चश्मा उपहार दिएका थिए । यदाकदा निकुञ्ज घुम्न जाने पर्यटक र बाघबीच पनि जम्काभेट हुने गर्दछ ।
बाघ हेर्न रुची राखे पनि अघि पर्दा जो कोही आत्तिएर भाग्ने गर्दछन् त्यस्तो वेला पर्यटक तथा पथप्रदर्शकहरू आत्तिएर भाग्ने वा रुख चढ्ने प्रयास गर्दछन् । ०७२ साल फागुनमा नेदरल्यान्डका एक पर्यटक बाघको आक्रमणपछि रुख चढेर बाँच्न सफल भएका थिए । तर, उनीसँगै भएका उनका पथप्रदर्शक भने बाघको अक्रमणमा परी घाइते भएका थिए ।
कैयौँ मान्छेहरूले परम्परागत चिनियाँ औषधिका लागि बाघ मार्ने गरिएकोले विश्वभर बाघको संख्या नाटकीय रूपमा घटेको र पाटे बाघ लोप हुने अवस्थामा पुगेको विज्ञहरू बताउँछन् । नेपालमा पनि त्यही प्रयोजनका लागि बाघको चोरीसिकारी हुने गरेको छ ।
दुई वर्षअघि कैलालीको छतिवनमा ६ भारतीयसहित आठ जना बाघको छाला र हड्डीसहित पक्राउ परेका थिए । यो घटनाले पनि नेपालमा बाघको चोरी सिकारी किन, के प्रयोजनका लागि कसरी हुन्छ भन्ने प्रष्ट्याउँछ । पूर्व–पश्चिम राजमार्गको २७ किलोमिटर बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्दछ ।
निकुञ्जभित्र भएर चल्ने सावारी गति सीमा निर्धारण गरेर तीव्र गतिमा सवारीसाधन चलाउन निषेध गरिएको छ । त्यस क्षेत्रको राजमार्गमा गस्तीसमेत कडा बनाइएको छ । तैपनि बेलाबखत सवारीसाधनको ठक्करबाट बाघ र अन्य संरक्षित वन्यजन्तुसमेत मर्ने गरेको सुनिन्छ । गत पुसमा बर्दिया राष्ट्रिय निकुञ्जभित्र राजमार्गमा सवारीको ठक्करले एक बाघको ज्यान गएको थियो ।
यी त बाहिर आएका सामान्य घटना मात्र हुन् । बाघको चोरी सिकारी गर्नेले निकालेको छाला उच्च घरानियाँहरूले सजावटका लागि पनि प्रयोग गर्ने गरेको पाइन्छ । अहिले पनि सम्पन्न मान्छेको घरमा बाघको छाला सजाएर राखिएको सहजै देख्न पाइन्छ । (बिबिसीको सहयोगमा)
प्रतिक्रिया