दोलखा । जिल्लाको शैलुङ गाउँपालिकाले गर्भवती महिलालाई निःशुल्क कुखुराको अण्डा वितरण सुरु गरेको छ । गाउँपालिकाले कार्यक्रमलाई प्रभावकारी बनाउन चेक जाँच गर्न आएका गर्भवतीलाई निःशुल्क अण्डा वितरण गर्न सुरु गरेको हो ।
गाउँपालिकाले वितरण गर्न लागेको अण्डाको लागि गर्भवती महिलाले चारपटक स्वास्थ्य जाँच गराउनुपर्ने र प्रत्येकपटक जाँच गर्न जाँदा एक क्रेट अण्डा वितरण गरिने गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिए । अण्डामा पाइने पोषण तत्वले गर्भवती महिला र गर्भमा हुर्किरहेका शिशुलाई फाइदा पुग्ने भएकाले कार्यक्रम लागू गरिएको उनले बताए । यसले गर्दा घरमै बसेर सुत्केरी गराउनेको संख्या कम हुने र त्यसले आमा र शिशुको ज्यान जोखिममा पर्ने सम्भावना पनि कम हुने अपेक्षा गाउँपालिकाको छ ।
अण्डामा पाइने पोषण तत्वले गर्भवती महिला र गर्भमा हुर्किरहेका शिशुलाई फाइदा पुग्ने भएकाले कार्यक्रम लागू गरिएको हाे
अण्डा खरिदका लागि चालु आर्थिक वर्ष ०७५\७६ का लागि १० लाख रुपैयाँ विनियोजन गरिएको उनले बताए । गाउँपालिकाभित्र रहेका पाँच वटा स्वास्थ्यचौकीको तथ्यांकमा आधा गर्भवतीले नियमित स्वास्थ्य जाँच गर्ने गरेका छैनन् । यो कार्यक्रमले पालिकाभित्र रहेका गर्भवती महिलाहरू नियमित स्वास्थ्य चेकजाँच गर्न आउने र बाल मृत्युदरमा पनि कमी आउने अपेक्षा गरिएको अध्यक्ष दुलाले बताए । स्थानीय व्यवसायीले उत्पादन गरको अण्डालाई पहिलो प्राथमिकतामा राखेर खरिद गर्ने नीति पनि लिइएको छ । उक्त नीतिले गाउँपालिकाभित्र कुखुरा पाल्ने र अण्डा उत्पादन गर्ने व्यवसायीहरू प्रोत्साहित हुने अध्यक्ष दुलालले जानकारी दिए ।
यसैबीच, शैलुङ गाउँपालिकाको सात वटा वडामा बर्थिङ सेन्टर सञ्चालनमा रहेको जनाइएको छ । नौमध्ये १ र ६ बाहेक अन्य वडामा बर्थिङ सेन्टर सञ्चालनमा छ भने यी दुई वडामा चालु आर्थिक वर्षको अन्त्यसम्म सञ्चालन गर्ने योजना छ । उक्त बर्थिङ सेन्टर सञ्चालन गर्नका लागि गाउँपालिकाले पाँच लाख रकम विनियोजन गरेको गाउँपालिका अध्यक्ष भरत दुलालले बताए ।
प्रतिक्रिया