कतिपय भूकम्प पीडितहरूले चौथो वर्षायाम पनि पालमुनि नै बिताइरहेका छन् । पुनर्निर्माणको काम ५० प्रतिशत मात्रै सम्पन्न भएको छ । ०७२ वैशाख १२ गते गएको ७ दशमलव ८ रेक्टर स्केलको विनाशकारी महाभूकम्प र त्यसपछिको पराकम्पको असरबाट आठ हजार सात सय ९० जना नेपाली नागरिकहरूको मृत्यु हुन पुग्यो ।
हाम्रा भौतिक सम्पत्ति तथा पूर्वाधारहरू क्षतविक्षत भए । जसका कारण कैयाैँ नेपाली दाजुभाइहरू हालसम्म पनि टहराको सहारामा आश्रय लिइरहेका छन् । सरकारले भूकम्प पीडितहरूलाई सस्तो व्याजदरमा ऋण दिने सुविधासमेत पाउनसकेका छैनन् भने दोश्रो किस्ता पाउनसमेत हम्मे–हम्मे भइसकेको तथ्यांकले देखाएको छ ।
प्राकृतिक प्रकोपको रूपमा रहेको भूकम्पले मानव निर्मित भौतिक संरचनाहरू नै क्षतिको मुख्य कारण रहेको प्रमाणित गरिदिइसकेको छ। भूकम्पलाई रोक्न सकिँदैन तर आवास तथा भौतिक संरचनाहरू, पूर्वाधारहरू बनाउँदा दह्रो, भरपर्दो र मजबुत निर्माण सामग्रीहरूको प्रयोग गर्नुका साथै सरकारले तयार पारेको भूकम्पसम्बन्धी आचारसंहिता लागू गर्नसकिएको खण्डमा सम्भावित जोखिमबाट बच्न सकिन्छ ।
जथाभावी घर निर्माण गर्नाले पछिल्ला दिनहरूमा फेरि प्राकृतिक विपत्तिले दुःख नदेला भन्न सकिँदैन । भूकम्प अकल्पनीय, अवर्णनीय एवं दुःखद रहेता पनि भविष्यमा यसले महत्वपूर्ण कार्य गर्नका लागि सधैँ पाठ सिकाएको हुन्छ । भूकम्पले एकता, साहस र धैर्य गर्नुपर्दछ भन्ने नैतिक शिक्षा पनि दिएर गएको छ ।
भूकम्पले सहर र गाउँ सबै स्थानहरूमा एकआपसमा भातृत्व, प्रेम, सहयोग, सरसापट, एैँचोपैँचो गर्ने, मायाममता साटासाट गर्ने अवसरसमेत सिर्जना गरिदियो र भूकम्पले दैवी तथा प्राकृतिक विपत्तिका सामुन्ने कसैको केही जोड नचल्ने शिक्षा पनि दिएर गएको छ । विध्वंसात्मक भूकम्पले जोखिम भएको क्षेत्रमा के गर्नुपर्ने, नपर्ने भन्नेबारे सचेत रहन र अबका दिनहरूमा घर, भवनहरू बनाउँदा कस्ता–कस्ता कुराहरूमा ध्यान दिनुपर्दछ, सुरक्षित र भरपर्दो आवासका फाइदा, बेफाइदा र दैवी प्रकोप पर्दा कसरी सुरक्षित रहने र अरूलाई पनि सुरक्षित राख्न सकिन्छ भन्ने पाठ भूकम्पले सिकाएर गएको छ ।
भूकम्पअघि, भूकम्पको समयमा र भूकम्प कथंकदाचित गइसकेपछि के गर्ने भन्नेबारे अहिले आमनागरिकहरू सचेत हुँदै छन् । भूकम्प आउने कारण, जोखिमका क्षेत्रका बारेमा अध्ययन गरी निराकरणका उपायहरू खोजी गरिरहेका छाैँ। गएको भूकम्पले साँच्चै भन्नुपर्दा सचेत हुन सन्देश दिनुका साथसाथै विपत्को समयमा मानव मानवबीच गर्नुपर्ने सरसहयोग र सद्भावको अभिव्यक्ति गर्ने तरिका पनि सिकाएको छ ।
भूकम्प र त्यसपछिका पराकम्पको असरबाट क्षतिग्रस्त संरचनाहरूको दिगो, दरिलो, योजनाबद्घ र शीघ्र पुनर्निर्माण कार्य सम्पन्न गर्न तथा भूकम्पबाट विस्थापित भएका व्यक्ति र परिवारको स्थानान्तरण तथा पुनर्वास गरी राष्ट्रियहित प्रवद्र्घन तथा सामाजिक न्यायसहितको पुनरुत्थान गर्ने हेतुले अधिकार सम्पन्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थापना भएको र तीन वर्षसम्म अनवरत रूपमा कार्य गरेको जनाएता पनि प्राधिकरणमा राजनीतिक नियुक्ति, प्राविधिकहरूको अभाव, आन्दोलन र अन्य कारणहरूले गर्दा अझैँसम्म पनि पुनर्निर्माण कार्यले उल्लेख्य सफलता प्राप्त गर्नसकेको छैन ।
भूकम्पीय क्षतिपछिको पुनर्निर्माण कार्यलाई हेर्ने हो भने सन्तोषजनक स्थिति देखिँदैन । भूकम्प अतिप्रभावित १४ जिल्लामा मात्र निर्माणाधीन र निर्माण सम्पन्न घरको संख्या २ लाख ७५ हजार पुगेको तथ्यांकले देखाएको छ । त्यस्तैगरी आव ०७४÷७५ मा कुल ३ सय १४ वटा पुरातात्विक सम्पदाहरूको पुनर्निर्माण कार्य अघि बढेको, २ हजार ७ सात सय ४१ वटा विद्यालय भवनहरू निर्माण भइसकेको जनाएको छ ।
हालसम्मको अवधिमा ७९ हजार ५ सय १४ निजी आवास पुनर्निर्माण सम्पन्न भएको र १ एक लाख ९४ हजार १ सय ९६ निर्माणाधीन रहेको, खानेपानी पूर्वाधार ९ सय ४ वटा सम्पन्न भएको, स्वास्थ्य संस्था २ सय ५७ वटा, १ सय ७७ वटा सरकारी भवन, ७९ वटा पुरातात्विक÷सांस्कृतिक सम्पदा, ४४ वटा सुरक्षा निकायका भवन र ८ सय १६ वटा नमुना घर निर्माण गरिएको विवरण पुनर्निर्माण प्राधिकरणले दिएको छ र यी तथ्यांकभन्दा अझै बढी कार्य भइसकेको र आगामी वर्षभित्र सम्पूर्ण कार्य सम्पन्न गर्ने लक्ष्यसमेत लिएको जनाएको छ ।
अबका दिनहरूमा प्राधिकरणले यही गतिमा निर्माण कार्य गर्दै जाने हो भने सर्वसाधारण नागरिकहरूको आवास पुनर्निर्माणकार्यले धेरै समय लिने देखिन्छ । विशेषगरी वृद्घवृद्घाहरू, सुत्केरी, बालबालिकाहरू वर्षौसम्म टहरामा वास बस्नुपर्दा उनीहरूको मानसिक सन्तुलनसमेत खल्बलिएको सहजै अनुमान लगाउन सकिन्छ ।
आगामी दिनहरूमा पुनर्निर्माण प्राधिकरणले द्रुत गतिमा पुनर्निर्माण कार्य गरी पीडितहरूको घाउमा मल्हमपट्टी लगाउनेतर्फ आफ्नो पाइला चाल्नुपर्दछ । अहिले संविधान अनुरूप तीनैतहको निर्वाचन सम्पन्न भई स्थानीयतहका जनप्रतिनिधिहरू निर्वाचित भएर आइसकेको सन्दर्भमा पुनर्निर्माण कार्यमा जनसहभागिता र स्थानीय सरकारको अपनत्व कायम गराउने ढंगबाट प्राधिकरणले काम गर्नुपर्ने आवश्यकता रहेको छ ।
भूकम्पबाट प्रभावितहरूका गुनासाहरू व्यवस्थापन गर्नाका लागि भूकम्प अतिप्रभावित १४ जिल्ला र कमप्रभावित १७ जिल्लाका ८ वटा स्थानमा गरी २२ जिल्लामा भूकम्पपछिको पुनर्निर्माण कार्यको समन्वय गर्न प्राधिकरणका जिल्ला समन्वय समिति सचिवालयहरू स्थापना भएको र तिनबाट सहजीकरण गर्ने कार्यलाई सकारात्मक नै मान्नुपर्दछ ।
भूकम्पबाट अति प्रभावितहरूलाई सरकारले समयमै राहत तथा पुनर्निर्माण कार्य गराउन प्राधिकरण लाग्नुपर्दछ । अहिलेको जस्तै कछुवा गतिमा पुनर्निर्माण कार्य गर्दै जाने हो भने भूकम्प पीडितहरूले न्याय पाउनेमा शंका पैदा हुनेछ र उनीहरू खुला आकाशमै जीवन बिताउन बाध्य हुनेछन् । अतः सरकारले चाँडोभन्दा चाँडो उनीहरूको पक्षमा काम गर्नुपर्ने आवश्यकता रहेको छ ।
साँच्चै भन्ने हो भने पुनर्निर्माण कार्यमा सरकारको हस्तक्षेप हुनु भएन र राजनीतिक नियुक्ति बन्द गर्न सकिएको खण्डमा पुनर्निर्माणले गतिलिने देखिन्छ । आवास निर्माणका लागि सरकारले दिइने अनुदान लिन झन्झटिलो, पुनर्निर्माणका लागि दिइएको रकम कम भएका कारण पनि पुनर्निर्माण समयमै नभएको मान्नुपर्दछ । जबसम्म देशमा स्थिर र दिगो सरकार बन्दैन तबसम्म पुनर्निर्माण कार्यले पूर्ण आकार लिन सक्दैन ।
पुनर्निर्माण कार्य सबैको साझा र चासोको विषय भएकाले सबै राजनीतिक दल, नागरिक समाज, कर्मचारी सबै एकजुट भई पुनर्निर्माण कार्यमा सरिक हुनुपर्ने समय आएको छ । नेपाल सरकारले तोकिदिएको भवन आचारसंहितालाई हामीले आत्मसात गरेर प्राविधिकहरूको अनुगमनमा हामीले घर, भवनहरू नबनाउनु, सरकारको आँखा छलेर आफूखुसी घर, भवनहरू बनाउँदा हुने जोखिमहरूको अध्ययन नगर्नुले गर्दा भूकम्पबाट ठूलो क्षति भोग्नुपरेको तथ्य हाम्रा अगाडि ताजै रहेका छन् ।
तसर्थ, यस्ता गलत काम कहिल्यै नगरौँ र अरूलाई पनि गर्न प्रेरित नगरौँ । राजधानीलगायत मुलुकका कैयन सहरहरू अस्तव्यस्त, अव्यवस्थित सहरीकरण मात्रै होइन अवैज्ञानिक तरिकाले निर्माण गरिएका पूर्वाधारहरूले गर्दा हामीलाई नै घाटा हुनेतर्फ सतर्क र सचेत बन्नै पर्दछ । भूकम्पबाट बच्नका लागि सचेतना कार्यक्रमहरू प्रभावकारी रूपमा राखी प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेको छ ।
भूकम्प जानुअघि प्राथमिक उपचार विधि जानी राख्ने, गह्राैँ सामानहरू दराजको तल्लो खण्डमा राख्ने, नयाँ घर निर्माण गर्दा भूकम्पीय सुरक्षा उपायहरू अपनाउने, बत्ती, पंखा, ठूला ऐना, तस्बिर आदि झुन्डाइएका सामानहरू बलियो गरी राख्ने, फर्निचर, अग्ला सरसामानहरू नढल्ने र नखस्ने गरी बलियोसँग राख्ने बानी बसाल्दै घरपरिवारका अन्यलाई समेत जानकारी दिनुपर्दछ ।
भूकम्पपछि, भूकम्पले हल्लाउन छोड्नासाथ सुरक्षाको स्थिति हेरेर मात्र घरबाहिर निस्कने, आगो लागेको खण्डमा आगो निभाउने, तुरुन्त प्राथमिक उपचार गर्ने, खुला ठाउँमा भेला हुने, संकटकालीन सेवा कार्यमा बाधा पर्नेगरी टेलिफोन प्रयोग नगर्ने, रेडियो खोल्ने र भूकम्पको खबर तथा त्यससम्बन्धी सूचनाहरू सुन्ने, घर सुरक्षित छ भन्ने सुनिश्चित् नभएसम्म कुनै पनि घरभित्र नपस्ने गर्नुपर्दछ ।
विशेषतः भूकम्प भनेपछि हामी तर्सने र आत्तिने गर्दछाँै तर त्यसो नगरी नआत्तिकन बस्नुपर्दछ । यदि, भूकम्प गएको वेला घरभित्र छौँ भने सुरक्षितसाथ बस्ने गर्नुपर्दछ आत्तिएर कहिल्यै झ्यालबाट हामफाल्नु हुँदैन । ढोकामा उभिने वा टेबल, डेस्क, खाटमुनि बस्नुपर्दछ । भत्कन सक्ने झ्याल नजिक कहिल्यै बस्नुहुँदैन, भुईं तल्लामा ढोका नजिकै छौँ भने बाहिर निस्कनुपर्दछ ।
त्यस्तै, घरबाहिर सवारी साधन चलाइरहेका छौँ भने सडकबाट हटेर सुरक्षित स्थानमा गई रोक्नुपर्दछ । बिजुलीको तार, लाइन र भवन नजिक बस्नुहुँदैन । आवतजावत गर्ने बाटो साँघुरो छ र दायाँवायाँ अग्ला घरहरू छन् भने ढोकामा गएर उभिएर बस्नुपर्दछ । भूकम्पको वेला अतिआवश्यकपर्ने टर्चलाइट, सुख्खा चिजहरू चाउचाउ, चिउरा, रेडियो, डोरी, मल्हम, औषधी, पानी र अति महत्वपूर्ण कागजातहरूको फोटोकपी झोलामा राख्नुपर्दछ ।
यसरी हामीले पूर्व तयारी गर्नसकेको खण्डमा आफू पनि बँच्न सक्छौँ र अरूलाई पनि बचाउन मद्दत पु–याउन सक्छाैँ। घर बनाउँदा गुणस्तरीय निर्माण सामग्री प्रयोग र प्राविधिकहरूको अनुगमन तथा आचारसंहितालाई पूर्ण रूपमा पालना गर्नसकेको खण्डमा पनि भूकम्पलाई न्यूनीकरण गर्नसकिन्छ यी सबै कुरालाई मनन् गरी अगाडि बढ्न सकेको खण्डमा हामी आफैँलाई फाइदा हुनसक्दछ ।
हामी आमनागरिकहरू भूकम्पबारे पूर्व तयारी गरी अघि बढ्दै भूकम्पबारेको गलत समाचारको जालो पन्छाउँदै अघि बढ्न सक्नुपर्दछ । अहिले मुलुकमा स्थिर सरकार आइसकेको छ अबका दिनमा कसरी भूकम्प पीडितहरूलाई राहत र पुनर्निर्माणमा सहयोग गर्नसकिन्छ भन्ने कुराको निचोड दिन यो सरकार पछि पर्नुहुँदैन ।
प्रतिक्रिया