नेपालमा पनि शंकराचार्यको परम्परा सुरु भएको छ । सौभाग्यले पाँचाैँ पीठका रूपमा उदय भएको नेपालले पहिलो शंकराचार्यका रूपमा मातृशक्ति प्राप्त गरेको छ । नेपालकै छोरी हेमानन्द गिरी ( हेमा ढुंगाना )पाँचौँ पीठको पहिलो शंकराचार्य बनेकी छिन् । नेपालका लागि यो धेरै ठूलो अवसर हो । साथै विश्वका समग्र महिलाका लागि यो ऐतिहासिक उपलब्धी हो । सनातन हिन्दू धर्मको सर्वोच्चता झन् बढेको छ ।
-अञ्जु कार्की वैद्धिक सनातन् हिन्दू परम्परामा शंकराचार्य पदलाई सर्वोच्च मानिन्छ । भगवान् शंकरको जीवित अवतारका रूपमा शंकराचार्यलाई लिइन्छ । यो परम्परा सुरु भएको १२ सय वर्ष नाघेको छ । १२ सय वर्षको यो अवधिमा विभिन्न चार मठ शृंगेरी ३६ , गोवर्धन १ सय ४५, शारदा ७९ र ज्योति ४४ गरी ३ सय ४ जना शंकराचार्य भइसकेका छन् ।
तर, यो अवधिमा एकजना पनि महिला शंकराचार्य बनेको रेकर्ड छैन । सनातन् हिन्दू धर्ममा मात्रै होइन बौद्ध, इस्लाम, इसाई धर्म सम्प्रदायमा पनि सर्वोच्च स्थानमा महिला पुगेको अभिलेख पाइँदैन । सबै धर्म सम्प्रदायमा सदियौँ वर्षदेखि पुरुषको एकाधिकार कायम रहँदै आएको देखिन्छ ।
यो एक प्रकारको सिन्डिकेट हो । अन्य धर्म सम्प्रदायमा सुरुआती चरणदेखि नै पुरुषको सिन्डिकेट कायम रहँदै आएको तथ्य देखिन्छ भने सनातन् हिन्दू धर्म सम्प्रदायमा सुरुआती चरणमा पुरुष र महिलाको समान सहभागिता देखिन्छ । पुरुषलाई मात्रै भगवान्का रूपमा पूजीएको देखिन्न । बरू मातृशक्तिकै अग्रस्थान रहेको देखिन्छ ।
उदाहरणका लागि गौरीशंकर भनिन्छ, शंकरगौरी भनिन्न । ‘सीताराम भनिन्छ’, ‘रामसीता भनिन्न ।’ राधाकृष्ण भनिन्छ, ‘कृष्णराधा भनिन्न ।’ ‘लक्ष्मीनारायण भनिन्छ’, ‘नारायणलक्ष्मी भनिन्न ।’ जहाँ पुरुष भगवान्को मन्दिर छ त्यहाँसँगसँगै स्त्री भगवतीको मन्दिर पनि हुन्छ । पूजा आजासँग सँगै गरिन्छ । तर, जहाँ स्त्री भगवतीको मन्दिर छ त्यहाँ पुरुष भगवान्को मन्दिरको आवश्यकता देखिँदैन।
उदाहरणका लागि गुह्येश्वरी, मनकामना, दुर्गा, पाथीभरा, सरस्वतीलगायत भगवतीहरूको एक्लो अस्तित्व छ । जब, पुरुष प्रधानता रहने गरी बौद्ध, इस्लाम, इसाई धर्म सम्प्रदायको सुरुआत हुन थाल्यो त्यसपछि क्रमशः सनातन् हिन्दू धर्ममा पनि मातृशक्तिको महत्वलाई क्रमशः धुमिल बनाउन थालियो ।
अरू धर्म सम्प्रदायहरू आक्रामक रूपमा अघि बढ्दै गएपछि सनातन् हिन्दू धर्मको संरक्षण तथा संवर्धनका लागि आदि गुरु शंकराचार्यले यस भूखण्डमा चारवटा मठ सिर्जना गरी शंकराचार्य परम्पराको सुरुआत गरेको देखिन्छ । इस्लामिक आक्रमणबाट सनातन् हिन्दू धर्म संरक्षणका लागि शैन्यबलसमेत प्रयोग गर्नुपर्ने अवस्था आएकाले शंकराचार्य परम्परामा पुरुषलाई मात्रै स्थान दिएको हो कि, जस्तो देखिन्छ ।
तर, यतिवेला युग परिवर्तन भइसकेको छ । सनातन् हिन्दू धर्म संरक्षणका लागि शैन्य बलको सहयोग असान्दर्भिक भइसकेको छ । अंग्रेजहरूको वर्चस्व बढेसँगै अन्य धर्मालम्वी महिलाहरूलाई जबरजस्ती अपहरण गरेर इस्लामीकरण गर्ने मुसलमानहरूको शक्ति क्षीण भएको हो ।
आजका दिनसम्ममा त अंग्रेजहरूसमेत आफ्नो साइजमा आइसकेका छन् । अन्य धर्मालम्वीहरूको हिन्दूमाथिको सैन्य खतरा अब छैन । अब सनातन् हिन्दू धर्म संस्कृतिको संरक्षण गर्ने भनेको ज्ञान मार्गको माध्यमबाट नै हो । हिन्दू धर्मको ज्ञान मार्ग अति नै फराकिलो र विशिष्ठ छ भन्ने प्रमाण वेद हो ।
अब, फेरि वैद्धिक युगलाई पुनः जागृत गर्ने वेला भइसकेको छ । संयोगले यो ऐतिहासिक मौका नेपालले प्राप्त गरेको छ । विगत १२ सय वर्षदेखि सनातन् हिन्दू धर्मका चारवटा पीठ रहँदै आएका थिए । ती सबै मठ भारतमै थिए । ती सबै मठका शंकराचार्य अहिलेसम्म पुरुष नै रहँदै आएका छन् ।
तर, यतिवेला नेपालको पशुपतिनाथले पाँचौँ पीठको दर्जा पाएको छ । नेपालमा पनि शंकराचार्यको परम्परा सुरु भएको छ ।सौभाग्यले पाँचाैँ पीठका रूपमा उदय भएको नेपालले पहिलो शंकराचार्यका रूपमा मातृशक्ति प्राप्त गरेको छ । नेपालकै छोरी हेमानन्द गिरी ( हेमा ढुंगाना ) पाँचाैँ पीठको पहिलो शंकराचार्य बनेकी छिन् । नेपालका लागि यो धेरै ठूलो अवसर हो ।
साथै विश्वका समग्र महिलाका लागि यो ऐतिहासिक उपलब्धी हो । सनातन् हिन्दू धर्मको सर्वोच्चता झन् बढेको छ। सानो देश नेपाल र त्यसमा पनि महिला शंकराचार्य बनेकोमा कतिपय रुढीवादी चेतनाहरूलाई पचेको देखिएको छैन। ‘हेमानन्दभन्दा हामी धेरै पढेलेखेका छौँ, हामीमा धेरै ज्ञान छ, हामीले अवसर नपाएर हेमाले कसरी पाइन ?’ भन्ने प्रश्न नेपालकै केही रुढीवादी चेतना भएका पुरुषहरूले उठाउन थालेका छन् ।
साथै नेपालको धार्मिक केन्द्रको रूपमा रहेको भारतको वनारसका केही पण्डिहरूलाई पनि नेपालमा छुट्टै शंकराचार्यको परम्परा भएको पच्न सकिरहेको देखिएन । वनारसका ब्राह्मणहरूको एउटा संगठनले यसको विरोधमा निकालेको वक्तव्यलाई नेपालका केही रुढीवादी चेतहरूले व्यापक प्रचार प्रसार गर्न थालेका छन् । जबरजस्ती विरोध सुरु गरिएको छ ।
आफूलाई सनातन् हिन्दू धर्मको अनुयायी पनि भन्ने तर नेपालले पाँचाैँ पीठ र आफ्नै चेलीलाई शंकराचार्यका रूपमा पाएकोमा पचाउन पनि नसक्ने अवस्थाले कता–कता शंका उत्पन्न गराएको छ । सनातन् हिन्दू धर्मको गौरव पुनरुत्थान हुन लागेकोमा अत्तालिएको इसाई शक्तिले खेल खेलिरहेको त छैन ? भन्ने आशंका उत्पन्न भएको छ।
आधा आकाश ओगटेका वर्गलाई निषेध गरेर हिन्दू धर्मको उत्थान हुन्छ भन्ने कल्पना रोगी दिमागको उपज हो । आदि शंकराचार्यले त्यतिवेलै नेपालमा पीठ स्थापना गर्न लागेको र तर कुनै कारणबस् अधुरो रहेको कुरा शंकराचार्य परम्पराको अभिलेखमा पनि पाइन्छ । उनी सनातन् हिन्दू धर्मको रक्षाका लागि पद्यात्राको अभियान अन्तर्गत बंगाल पुगेका थिए ।
त्यहाँका विभिन्न मन्दिर र तीर्थस्थलहरूको दर्शन गर्न व्यस्त रहेका शंकरलाई कुनै शिष्यले के खबर ल्यायो भने नेपालको पवित्र मन्दिर पशुपतिनाथको पूजा अर्चना गर्न त्यहाँका मानिसहरूले छोडे । बौद्ध प्रभावका कारण हिन्दू देवताको पूर्णतया अवहेलना भइरहेको छ । ब्राह्मणहरूले दयनीय जीवन बिताइरहेका छन् । त्यहाँका राजा पनि केही गर्न नसकी निष्क्रिय बसेका छन् । यस्ता कुराहरू सुनेर आचार्यका शिष्यहरूलाई पिर पर्यो ।
उनीहरूले आचार्यलाई नेपालमा जान अनुरोध गर्न थाले । सबैले बारम्बार अनुरोध गरेपछि यसलाई दैवी ईच्छा ठानेर आचार्य नेपालतर्फ प्रस्थान गरे । शंकराचार्य नेपाल आउँदा उनको उमेर २८ वर्षदेखि ३० वर्षको हाराहारीमा थियो । सन् ७०३ मा उनी नेपाल आउँदा संभवतः यहाँ लिच्छवी राजा शिवदेवले शासन गरेका थिए । यस विषयमा इतिहासकारहरूमा केही मतभेद पाइन्छ।
किनभने आचार्य शंकरलाई कुनै राज्यशक्तिको आधार थिएन अन्यथा उनको बारेमा तत्कालीन राजाकातर्फबाट इतिहासमा अवश्य अंकित गरिन्थ्यो । उनी जनमानसका आचार्य थिए र आज पनि जनजनमा उनको कामको गहिरो छाप परेको छ। शंकराचार्य नेपाल आएका छन् भन्ने समाचारले समस्त सनातन् धर्मावलम्वीहरूको हृदयमा उत्साहको सञ्चार भयो। आचार्यको दर्शन गर्न पशुपतिनाथ क्षेत्रमा मानिसहरू ओइरिन थाले ।
मन्दिरमा पूजा अर्चनाको व्यवस्था लथालिंग देखेर आचार्यले आफ्ना शिष्यहरूलाई मन्दिरको सरसफाई गर्न भने । तत्काल एक स्तोत्र रचना गरी शिवको भजन गर्न थाले । सम्पूर्ण शिष्यहरूले पनि आचार्यका साथ पशुपतिनाथको पूजा अर्चना गर्न थाले । महादेवको जय ध्वनिले काठमाडौंका चारै दिशाहरू गुञ्जायमान हुन थाल्यो । पशुपतिनाथमा पुनः पूजा अर्चना हुन थाल्यो भन्ने सुनेर टाढा–टाढाबाट मानिसहरू आएर मन्दिर दर्शन गर्न थाले।
आचार्य आफैँले पशुपतिनाथ मन्दिरको प्रांगणमा बसेर सबैलाई धर्मको उपदेश दिन्थे । आचार्यद्वारा गरिएको मधुर शास्त्र व्याख्या सुनेर स्रोताहरूको हृदय आनन्दले गद्गद् हुन्थ्यो । यसरी नेपालमा हिन्दु धर्ममा नवजागरण देखिन थाल्यो । आचार्यका शिष्यहरूले सहरमा घुमीघुमी धर्म उपदेश गर्न थाले।
त्यहाँका ब्राह्मणहरूलाई उनीहरूले नित्य नैमित्तिक कर्म अग्निहोत्र, पञ्च देवताको पूजा र पञ्च महायज्ञको शिक्षा दिन थाले। साधारण जनताको अनुरोधमा वेद पारंगत ब्राह्मणहरूले विभिन्न स्थानमा गएर वर्णाश्रम धर्मको प्रचार र वैदिक धर्मको अनुष्ठान गर्न थाले । यस शुभ कर्मले राजा पनि विशेष उत्साही भए ।
राजाको खर्चले अनेक स्थानमा मन्दिर बनाइए । तिनीहरूमा देवदेवीहरूको मूर्ति स्थापना गरिए । आचार्यको विशेष इच्छा अनुरूप पशुपतिनाथ मन्दिरको जीर्णोद्धार गरियो तथा शास्त्र सम्मत पूजा अर्चनादि नियमित रूपमा गर्नका लागि विद्वान् ब्राह्मण नियुक्त गरिए । जसको नेतृत्व दक्षिण भारतका विद्वान् ब्राह्मण स्वामी सोमशेखर आनन्ले गरेका थिए।
केहीदिन भित्रैमा नेपालमा वैदिक धर्म, सदाचार र वर्णाश्रम धर्मको पुनः प्रचार भयो । ठाउँ–ठाउँमा वेद र अन्य शास्त्रहरूको अध्ययनका लागि पाठशालाहरू बनाइए । आचार्यका गृहस्थ शिष्यहरूमध्ये अनेक ब्राह्मणहरूले अध्यापन गराउने भार वहन गर्न तयार भए । शंकराचार्यको यसै परम्परालाई अनुगमन गर्दै पछि माधवाचार्य आएर शैव मतको पुनः परिपुष्टि गरे।
आचार्य शंकरको नेपाल आगमनबारे इतिहासकाहरू एक मत छैनन् ।प्राध्यापक गोपालनिधि तिवारीका अनुसार बलदेव उपाध्यायको कृति श्री शंकराचार्यको पुस्तकमा आचार्य नेपाल आएको कुराको विस्तृत वर्णन पाइन्छ भने ज्ञानमणि नेपालद्वारा लिखित पशुपतिनाथ दर्शन, स्पर्शन र पूजन सम्बन्धमा समीक्षा भन्ने पुस्तकमा आदि शंकराचार्य नेपाल आएको प्रमाण नपाइएको कुरा उल्लेख छ ।
इतिहासकार सिलभा लेभीले भने ‘शंकराचार्य नाम गरेका संन्यासी दुइपटक नेपाल आएको उल्लेख गरेका छन् । आचार्य शंकर नेपाल आएको कुरा अंग्रेज इतिहासकाहरूले पनि उल्लेख गरेका छन् ।’
प्रतिक्रिया