‘इच्छाशक्ति र तत्परता भयो भने ठूला सम्पदाको पनि पुनः निर्माण गर्न सकिन्छ भन्ने दृष्टान्त काठमाडौं बौद्धमा अवस्थित बौद्धनाथको गुम्बा एक वर्षभित्रै करोडभन्दा बढी रकम खर्चेर बनाई सकिएकाबाटै पुष्टि हुन्छ । देशको आधिकारिक निकाय पुरातत्व विभाग नगरपालिका, पुनः निर्माण प्राधिकरणलगायतका निकायद्वारा यसतर्फ गम्भीरतापूर्वक ध्यान पुर्याउनुपर्ने हो तर त्यो देखिएको छैन ।’
हाम्रो देशलाई मन्दिरै मन्दिरको देश भनेर पनि चिनिन्छ । धार्मिक सम्पदा हाम्रो अमूल्य निधि र पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण मानिन्छ । ८० प्रतिशतभन्दा बढी हिन्दू धर्म मान्नेहरूको सुन्दर देशमा हजारौँका संख्यामा रहेका मठमन्दिर स्तुप, चैत्य र गुम्बाले ठूलो महत्व राखेको छ ।
युनेस्कोद्वारा विश्व सम्पदा सूचीमा सूचीकृत गरिएका १० वटा सम्पदालगायत देशभर रहेका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलको भूकम्पले ठूलो क्षति पुर्यायो। पशुपतिनाथ, बौद्ध, लुम्बिनी, स्वयम्भूनाथ र भक्तपुर दरबार क्षेत्रलगायतका दर्जनौँ सम्पदा क्षेत्रभित्रका मठमन्दिर गुम्बालगायतका संरक्षणको पुनः निर्माण कार्य जुन गतिमा हुनुपर्ने थियो त्यो हुन सकेको देखिँदैन ।
राजधानीको मुटुमा अवस्थित प्राचीन पोखरी रानीपोखरी पुनः निर्माण कार्य ढिलो पुनः निर्माणको थालनी गरिएता पनि त्यसले गति लिन सकेको छैन । त्यसैगरी, वसन्तपुरस्थित हनुमान ढोका दरबार क्षेत्रभित्रका सम्पदाको पनि जिर्णाेद्धार कार्य निकै कम गतिको अवस्थामा भइरहेका छन् । पृथ्वीनारायण शाहद्वारा निर्माण गरिएको नेपाल एकीकरणको महत्वपूर्ण कार्यसँग जोडिएको नुवाकोट दरबार पनि पुनः निर्माण हुन सकेको छैन ।
भूकम्प गएको पनि दुई वर्ष बितिसक्दा समेत देशका महत्वपूर्ण मन्दिरहरू पुनः निर्माण तथा जिर्णोद्धार हुन नसक्दा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा समेत कमी आएको छ । आफ्नै स्रोत र साधनबाट पुनः निर्माण गर्ने भनिएको टुँडिखेलको दक्षिण पश्चिममा अवस्थित सुन्धाराको मुख्य आकर्षणको रूपमा रहेको धरहरा पनि पुनः निर्माणको पर्खाइमा बसिरहेको छ।
राजधानीको महत्वपूर्ण सौन्दर्य स्थलको पुनः निर्माण नहुँदा आमनागरिकमा निराशा छाउन थालेको आभास पाइन्छ । इच्छाशक्ति र तत्परता भयो भने ठूला सम्पदाको पनि पुनः निर्माण गर्न सकिन्छ भन्ने दृष्टान्त काठमाडौंकै बौद्धमा अवस्थित बौद्धनाथको गुम्बा एक वर्षभित्रै करोडभन्दा बढी रकम खर्चेर बनाई सकिएकाबाटै पुष्टि हुन्छ । देशको आधिकारिक निकाय पुरातत्व विभाग नगरपालिका, पुनः निर्माण प्राधिकरणलगायतका निकायद्वारा यसतर्फ गम्भीरतापूर्वक ध्यान पुर्याउनुपर्ने हो तर त्यो देखिएको छैन ।
नेपाल भ्रमण गर्ने पर्यटकहरू मध्ये ठूलो संख्या धार्मिक पर्यटनका लागि पनि आउने गर्छन् । त्यसैले, पर्यटन प्रवद्र्धनका निमित्तसमेत यस्ता प्रसिद्ध सम्पदास्थलको पुनः निर्माणमा चनाखो भई छिटोभन्दा छिटो कार्य आरम्भ गर्नुपर्ने देखिन्छ ।पछिल्लो समयमा सम्पदा पुनः निर्माण कार्यका लागि अत्यावश्यक पर्ने इँट्टाको अभाव भएको समाचार पनि आएकाले त्यसतर्फ पनि इट्टाभट्टासँग समन्यय गरी थप मात्रामा उत्पादन गर्न लगाउने कार्यमा पनि तदारुकदा देखाउनुपर्छ ।
त्यस्तै, नेपाली सालको काठ चाहिने जुन नेपाल टिम्बर कर्पाेरेसनले आवश्यक मात्रा र साइजमा उपलब्ध गराउन नसकेको गुनासो पुरातत्व विभागले जनाएको छ । विश्व सम्पदा सूचीमा सूचीकृतमध्ये नौवटाको पुनः निर्माणको जिम्मा लिएको पुरातत्व विभागले आवश्यक सामग्रीको अभावका कारण पनि निर्माण कार्यले गति लिन नसकेको बताउँदै आएको छ । भक्तपुर दरबार क्षेत्रको क्षतिग्रस्त सिलु महादेवर फसिखेल मन्दिरको पुनः निर्माण कार्य हालसम्म जम्मा ४० प्रतिशत मात्रै भएको पाइन्छ ।
त्यसैगरी, तव सत्तल राष्ट्रियकला संग्रहालय (लाल बैठक बाहेक) सिंह ढोका, सूर्यविनायक नगरपालिका स्थित अनन्तलिंगेश्वर मादी महेश्वरी पीठ सत्तल नीलबाराही सत्तल सिद्धिलक्ष्मी मन्दिर आदिको निर्माण कार्य २० देखि ४० प्रतिशतसम्म पुनः निर्माण भएको देखिन्छ।
युनेस्कोबाट मान्यता प्राप्त चाँगुनारायण मन्दिर र सूर्यविनायक नगरपालिकास्थित दक्षिण बाराही माइको भने पुनः निर्माण कार्यसम्पन्न भएको देखिन्छ । सम्पदा पुनः निर्माणका लागि अत्यावश्यक सामग्रीहरू काठ चुना सुर्की इँट्टा (बट्टेदार) लगायतका कच्चा पदार्थहरूको उपलब्धता पर्याप्त मात्रामा नहुनुले पनि निर्माण कार्यमा ढिलाई हुने गरेको देखिन्छ ।
भक्तपुर नगरपालिकाले पुनः निमार्णको जिम्मा लिएका मध्ये भक्तपुर दरबार क्षेत्रभित्रको ५५ झ्याले दरबार दक्षिणतर्फको शेषनारायण मन्दिर दरबार परिसरकै प्रवेशद्वार त्रिविक्रम नारायण मन्दिरअगाडिको लक्ष्मीनारायण मन्दिर वात्सला मन्दिर केदारनाथको मन्दिर च्याम्हासिंहको प्रवेशद्वार सिद्धपोखरीको पर्खाललगायतका क्षेत्र भने पुनः निर्माण भइसकेका छन् ।
गोरखा जिल्लाको प्रसिद्ध मनकामना मन्दिर, लुम्बिनीको मायादेवीको मन्दिर पाटन दरबार क्षेत्रका मठमन्दिर स्वयम्भूनाथ क्षेत्रका मठमन्दिर पशुपतिनाथ क्षेत्र भित्रका मठ मन्दिरलगायत देशका विभिन्न स्थानमा रहेका मन्दिरहरू क्षतिग्रस्त छन् । यिनीहरूको पुनः निर्माण केहीको थालनी भए पनि निकै सुस्त गतिमा भइरहेका छन् भने कतिपय सम्पदा स्थलका मन्दिरहरूको भने पुनः निर्माण हुन नै सकेका छैनन् ।
एकैपटक सयौँका संख्यामा रहेका सम्पदा स्थलको जिर्णोद्धार तथा पुनः निर्माण कार्यका लागि ठूलो रकमको खाँचो पर्छ । त्यसको व्यवस्थापन गर्न कठिन पनि हुन्छ । तसर्थ, प्राथमिकताका आधारमा क्रमैसँग पुनः निर्माण गर्दै जाने र आफ्नो स्रोतले नभ्याउने भएमा विभिन्न दातृ राष्ट्रसँग सहयोगको अपेक्षासमेत गर्न सकिन्छ।
दातृ राष्ट्रले पनि आफूले प्रदान गर्ने रकमको सही रूपमा उपयोग भएको हेर्न चाहने भएकाले दुरुपयोग हुन नदिई पूर्ण रूपमा विश्वस्त हुने वातावरण निर्माण गर्नु जरुरी हुन्छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणले पनि आफ्नो कोषमा जम्मा भएको रकममध्ये निश्चित प्रतिशत रकम सम्पदा पुनः निर्माणका लागि विनियोजन गरी राष्ट्रको धरोहरप्रति चासो देखाई अगाडि बढ्नुपर्छ । जसका लागि सरकार पुरातत्व विभाग नगरपालिका जस्ता निकायको अग्रसरताको खाँचो रहन्छ ।
राष्ट्रको गौरव र विश्वमा नै अलग्गै पहिचान बनाउन सफल सम्पदाको पुनः निर्माणमा लाग्नका लागि हरतरहले प्रयत्न गर्नुपर्छ। पुनः निर्माण गर्दा भने युनेस्कोले तोकेको मापदण्डलाई कायम राख्दै सम्पदा स्थलको सौन्दर्यप्रति पनि ध्यान दिनुपर्ने हुन्छ । सम्पदा स्थल वरपर मापदण्ड विपरीत निर्माण गरिएका भौतिक संरचनालाई समेत हटाउनेतर्पm पनि प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया