ओली सरकारलाई कर्मचारीको पनि असहयोग

‘सबैभन्दा पहिला कम्युनिस्टका नेता कार्यकर्ता, इमानदार र नैतिकवान् हुन जरुरी छ । सुरुआत आफैँबाट गर्नुपर्छ । कम्युनिस्ट पार्टीका नेतामा सुविधा केन्द्रित मनोदशाले सताएको छ । सुख सुविधाले मात्तिएर जनताका कुरा सुन्न पनि नसक्ने अवस्थामा पार्टी पुगेको छ । यसले पार्टीलाई नोक्सानी गर्ने निश्चित छ’

 देशको निजामती प्रशासन भनेको स्थायी सरकार हो । देशको विकास, समृद्धि र सुशासन कायम गर्नु निजामती प्रशासनको प्रमुख भूमिका रहेको हुन्छ । तर, यही निजामती प्रशासनले नै देशको शासन सत्ता घुमाई रहेको हुन्छ । देशको विकास समृद्धि हुन नसकेको पनि निजामती प्रशासनले इमानदारीका साथ काम नगरेको कारणले हो ।

देश चलाउने गम्भीर जिम्मेवारी बोकेको निजामती प्रशासनले देशको उन्नति प्रगतिका लागि प्रभावकारी भूमिका खेल्न नसकेको यथार्थ हो । अहिले देशमा कम्युनिस्ट नेतृत्वको बहुमतको सरकार छ । यो सरकारले चाहने हो र निजामती प्रशासनले प्रभावकारी भूमिका खेल्ने हो भने देश बनाउन असम्भव छैन ।

पटक–पटकका सरकार असफल बनाउन धेरै पहिलेदेखि नै निजामती प्रशासनले ठूलो भूमिका खेल्यो । यो सबैलाई अवगत भएको कुरा हो। अब विगतमा जस्तो राजनीतिक नेतृत्वलाई असहयोग गर्ने काम निजामती प्रशासनले गर्नु हुँदैन । वर्तमान सरकारलाई सफल बनाउने काममा सधैँ अग्रसर भएर लाग्नुपर्छ ।

यो समयको माग पनि हो । सरकारले उठाएका एजेन्डा लाई पूरा गर्न पनि निजामती प्रशासनले इमानदारी साथ काम गर्नुपर्छ । देशलाई सधैँभरि गरिबीमात्र राखेर कसैलाई फाइदा छैन । देशले विकास समृद्धिको मार्ग खोजिरहेको छ । यो दिशातर्फ अघि बढ्न जरुरी छ । देशको अवस्था दिनप्रतिदिन बिग्रँदो छ । गरिबीले चरम सीमा नाघेको छ । दैनिक महँगी बढ्दो छ ।

भ्रष्टाचार र अनियमितता व्याप्त छ। पूर्वाधार विकासको अवस्था चिन्ता लाग्दो छ। सडकको अवस्था हिलाम्मे छ। हरेकक्षेत्रमा माफियाले जालो बुनेको छ। ऊर्जाशीलयुवाहरू विदेश पलायन छन्। अब यो देशको अवस्था के हुन्छ ? वर्तमान सरकार इतिहास कै सबैभन्दा बढी भरोसा र आशा गरिएको सरकार हो।

सरकार बनेको पनि पाँच महिना नाघि सक्यो । तर, अहिलेसम्म जनतालाई आशा जगाउने काम केही गर्न सकेको छैन ।सरकार परिवर्तन भएको अनुभूति यो सरकारले दिन सकिरहेको छैन । अब जनताले यो सरकारबाट के आशा गर्ने ? सरकार असफलताको दिशातर्फ उन्मुख हुने त होइन भन्ने सबैलाई चिन्ता लाग्न थालेको छ ।

सुरु–सुरुमा त सरकारले धेरै राम्रो काम गर्ने भो भन्ने लाग्न थालेको थियो । बिस्तारै सरकार सेलाउँदै गयो । जुन गतिका साथ सरकार अघि बढ्नुपर्ने हो बढ्न सकेन । यो कुरा सबैले स्वीकार गर्न सक्नुपर्छ । वर्तमान सरकारका लागि काम गर्ने हो भने यो अवसर हो ।  सरकार चलाउन यस्तो अवसर सधैँभरि आउँदैन ।

यो कुरा वर्तमान सरकारले बुझ्नुपर्छ । नेकपाका चुनौती र अवसरसँग सँगै आएका छन् । अहिले नेपालमा शक्तिशाली कम्युनिस्ट पार्टी गठन भएको छ । स्थानीय, प्रदेश र केन्द्रमा गरी तिनै तहमा बहुमतको सरकारको नेतृत्व कम्युनिस्ट पार्टीले गरेको छ। यति, ठूलो पार्टी हुदाँ पनि सरकारले दिशा निर्देश गर्न सकिरहेको छैन । अहिलेको सबैभन्दा ठूलो काम सुशासन र भ्रष्टाचार नियन्त्रण हो ।

यो काम हुन सकिरहेको छैन । सबैभन्दा पहिला कम्युनिस्टका नेता कार्यकर्ता, इमानदार र नैतिकवान् हुन जरुरी छ । सुरुआत अाफैँबाट गर्नुपर्छ । कम्युनिस्ट पार्टीका नेतामा सुविधा केन्द्रित मनोदशाले सताएको छ । सुख सुविधाले मात्तिएर जनताका कुरा सुन्न पनि नसक्ने अवस्थामा पार्टी पुगेको छ । यसले पार्टीलाई नोक्सानी गर्ने निश्चित छ ।

जनतामा बढेको असन्तुष्टिलाई सरकारले कसरी हेरिरहेको छ। अहिलेको सरकारले जनअपेक्षा अनुरूप काम गर्न नसकेकै हो । सरकारले करको दायरा बढाएर जनतालाई मर्का परिरहेको छ । स्थानीयतहबाट लिने सेवा सुविधामा करको दायरा बढेर जनता आक्रोशित छन् । जनताले कर तिर्ने सरकार आफू खुसी अनावश्यक ठाउँमा फजुल खर्च गर्ने काम गरिरहेको छ। यो पक्कै राम्रो कुरा होइन।

जनताले कर तिरेपछि त्यसको सेवा सुविधा जनताले पाउनुपर्ने हो कि, होइन ? जनताले झन् सास्ती भोग्नु परिरहेको छ । सरकार कता जाँदै छ ? सरकारको गन्तव्य कता हो ? सरकार यतिखेर कता हो कता कुहिरोको कागजस्तो बनिरहेको छ । सरकारलाई काम गर्न केले रोकिरहेको छ ? देश कम्युनिस्टमय बनेको अवस्थामा अब दोष कसलाई दिएर उम्कने ? विगतमा त दोष दिने ठाउँ थियो अब अरूलाई दोष दिएर उम्कने ठाउँ कतै छैन ।

यो विचार गरे हुन्छ । सरकारले सोचेअनुसार काम गर्न नसके जनताले भोलिका दिनमा विकल्प नखोज्लान् भन्न सकिँदैन । त्यसो भएकाले वर्तमान सरकारले यो अवसरलाई सदुपयोग गरेर काम गर्दा फाइदा हुनेछ । जनताका अपेक्षा बढ्दै छन् । सरकार कछुवाको गतिमा हिँडिरहेको छ । यसरी कुन हिसाबमा मुलुकले समृद्धिको सपना पूरा गर्ला र ? कुनै संकेत नै छैन । जनतालाई ढाँटेर राजनीति गर्नुजस्तो बेइमानी अरू केही हुँदैन ।

राजनीतिक दल र तिनका नेताहरूका भाषण र मीठा–मीठा आश्वासन सुनेको धेरै वर्ष भो । तर, जनताले केही पनि पाउन सकिरहेका छैनन् । यो देशको अवस्था देख्दा बडो चिन्ता लाग्छ । देश बनाउन इच्छाशक्ति र इमानको खाँचो छ । तर, नेताहरूमा यसको अभाव छ । देश गरिब हुने, जनता झन्पछि झन् गरिब हुँदै जाने नेताहरू धनी बन्दै जाने यो परम्पराले देश बन्दैन । यो सोच र चिन्तनले देश हरिकंगालबाहेक अरू हुने कुनै विकल्प छैन ।

कम्युनिस्टको नेतृत्वमा बनेको बहुमतको सरकारप्रति जनता सुरु–सुरुमा यति खुसी भए भन्ने कुरा साध्य नै छैन । सरकारका काम कारबाही र ढिलासुस्ती देख्दा अहिले जनता पूरै निराश छन् । कम्युनिस्ट भनेको त सर्वहारा वर्गको नेतृत्व गर्ने पार्टी हो भन्ने कुरा जनताले बुझेका थिए । सुरु–सुरुमा यही पढाइयो । जब सरकारमा गएपछि सर्वहारा वर्गको कुरा सबै भुलियो । योभन्दा ठूलो धोका जनतालाई के हुन्छ ?

अहिले कम्युनिस्ट पार्टीले दलाल पुँजीवादको नेतृत्व गरिरहेको छ । यो तरिकाले सर्वहारा वर्गको उत्थान हुन सक्दैन ।भोका, बेरोजगारी, समस्यै समस्या भएका जनताहरू हिजो जुन हालतमा थिए, आज पनि त्यही हालतमा छन् । यिनको समस्याको कुरा कसले गर्ने ? अब कम्युनिस्ट पार्टीबाट आश गर्ने ठाउँ छ कि, छैन ? जनताले परिवर्तनबाट धेरै कुराको अपेक्षा गरेका हुन् । तर, सम्भव भएन ।

कम्युनिस्ट पार्टी र अरू पार्टीहरूले चलाएको सरकारमा कुनै भिन्नता नभएपछि अब जनताले के आश गर्ने ? नेपालमा संघीयताको विषयमा बहस भएको १० वर्ष भइसक्यो । तर, अहिलेसम्म पनि हामी संघीयताको कुन मोडेलमा जाने भन्ने विषयमा प्रस्ट हुन सकिरहेका छैनाैँ । यो नै समस्याको विषय हो । स्विस मोडेलमा जाने कि, दक्षिण अफ्रिकी या भारत र नाइजेरिया यिनै विषयमा अलमल गरिरहेका छौँ । संघीयता हाम्रोजस्तो सानो देशका लागि आवश्यक थिएन ।

तर, दलहरूले कुन उद्देश्यले संघीयता भित्र्याए, त्यो बिस्तारै खुल्दै जानेछ । जनताले अनुमोदन गरिसकेको यो संघीय संरचनाको अब विरोध गर्नु राम्रो हुँदैन होला । तर, वास्तविकता र यथार्थता यही हो । दुनियाँको इतिहास हेर्दा संघीयतामा गएका देशहरू कोही विकास र समृद्धिको बाटोमा लम्किरहेका छन् भने कुनै देश संघीयताको कारण हरिकंगाल बनेका पनि छन् । र, असफल भएका छन् ।

अब हाम्रो देशमा संघीयता सफल हुने वा नहुने भन्ने कुरा अभ्यासले बताउँछ । संघीय ऐन अझै आउन सकिरहेको छैन । तर, प्रदेशले आफ्नो प्रादेशिक ऐन ल्याइसकेका छन् । दुई नं प्रदेशलाई हेर्न सकिन्छ । संघीय सरकार र प्रदेश सरकारबीच द्वन्द्वको स्थिति हुने देखिन्छ । यसले गर्दा हाम्रो देशको संघीयता कता जाला भन्ने विषयमा बहस सुरु भइरहेको छ ।

प्रतिक्रिया