बाढी, पहिरो र डुबान: दोषी को ?

‘प्राकृतिक प्रकोप भनेको कसैले रोकेर रोकिने कुरा होइन र बाजा बजाएर आउने कुरा पनि होइन ।’ तर, समयमै सतर्कता अपनाउन सकियो भने यसबाट हुने क्षतिलाई न्यूनीकरण भने गर्न सकिन्छ ’

-डा. डिआर उपाध्याय देशैभरि मनसुनी वर्षासँगै बाढी, पहिरो र तराई–मधेसमा भएको डुबानले समस्या उत्पन्न भएको छ । नेपालमा बाढी, पहिरो र डुबानको समस्या हरेकवर्ष हुने गरेको छ । तर, क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्ने सोच नै सरकारसँग भएन ।

नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको मुलुक हो । बाढी र पहिरोको जोखिममा नेपाल विश्वकै ३०औँ मुलुकका रूपमा रहेको भनिन्छ । गत वर्षको बाढी, पहिरो र डुबानले थुप्रैको ज्यान लिनुका साथै अर्बौं रुपैयाँको नोक्सानी भएको थियो ।

धनजनको क्षतिले हाम्रो देश अझैसम्म थला परेको अवस्था छ । मुलुकका प्रमुख पाँच राजमार्गहरू उच्च जोखिममा छन् । त्रिभुवन राजमार्ग, पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, सिद्धार्थ राजमार्ग र नारायणगढ मुग्लिन सडक खण्ड पहिरोको उच्च जोखिममा छन् ।

सरकारले उच्च सतर्कता अपनाउन सके राम्रो हुन्थ्यो। सबैको आशा पनि त्यही हो । अहिले देशका विभिन्न ठाउँहरूमा बाढी, पहिरो र डुबानको कारण धनजनको क्षति भइरहेको छ । तर, सरकारले जुन गतिले विपद् व्यवस्थापनमा सक्रियता देखाइरहनुपर्ने हो, त्यो गति देखाउन सकिरहेको छैन । लाजमर्दो अवस्था छ । यस वर्षको मनसुन सक्रिय हुँदा देशभर अविरल वर्षा भइरहेको छ ।

अहिले भारी वर्षाका कारण देशभरको जनजीवन प्रभावित हुनुकासाथै थप समस्या निम्त्याएको छ । मुलुक विपद् व्यवस्थापनमा जुटिरहेको छ । यस्ता समस्याहरू हरेक वर्षायाममा भोग्दै आइरहेकै हो । अहिले पनि समस्या भोग्दै छौँ । वर्षा सुरु हुनु अगावै राज्यले सतर्कता अपनाउनु पर्दथ्यो । समयमै सतर्कता अपनाउन नसक्नु यो राज्यको कमजोरी हो ।अहिले देशका धेरै जसो ठाउँहरूमा वर्षाका कारण पहिरो जाने क्रम रोकिएको छैन ।

धेरै जसो पहाडी क्षेत्रहरूमा गएको र पहिरोको कारण तराईका बस्तीहरू डुबेका छन् । नागरिकको अवस्था दयनीय बन्दै गइरहेको छ । तराई–मधेसमा भने बाढीले बस्ती नै बगाएको छ । योभन्दा ठूलो विपद् नागरिकलाई के हुन्छ ? सडक आवागमनमा अवरोध खडा हुँदा धेरैजसो यात्रुहरूबीच बाटोमा अलपत्र परेको अवस्था छ । हरेक वर्षको मनसुन सुरु हुँदा बाढीपहिरो जाने, तराई मधेस डुबानमा पर्ने गरेका छन् ।

प्राकृतिक प्रकोप बढ्नुभन्दा पहिला राज्यले सतर्कता अपनाउनुपर्ने हो । त्यतातिर खासै राज्यको ध्यान पुगेन । बाढी पहिरोका कारण बर्सेनि हजारौँको हाराहारीमा निधन हुने गरेको छ । ‘प्राकृतिक प्रकोप भनेको कसैले रोकेर रोकिने कुरा होइन र बाजा बजाएर आउने कुरा पनि होइन ।’ तर, समयमै सतर्कता अपनाउन सकियो भने यसबाट हुने क्षतिलाई न्यूनीकरण भने गर्न सकिन्छ । हामी सबै सचेत र गम्भीर हुनुपर्ने विषय नै यही हो ।

बाढीबाट बच्न पूर्वतयारी र सतर्कता अपनाउन सकेमा धनजनको क्षतिलाई कम गर्न सकिन्छ । वन जंगल फँडानी गर्नाले पहाडी भेगहरूमा पहिरो जाने क्रम बढ्दो छ । त्यसैले गर्दा जथाभावी वन फँडानी गर्न हुँदैन भन्ने चेतना सबै नागरिकहरूमा हुनुपर्छ । देशका नागरिकहरू सचेत हुनुपर्ने आवश्यकता देखिएको छ । देशका नागरिकहरू सचेत नभएसम्म वन जंगल फँडानीको काम कहिले रोकिँदैन ।

अविरल वर्षाका कारण जुनसुकै भूभागमा जे पनि हुनसक्ने खतरा छ, त्यसकारणले गर्दा सरकारले उद्धार र राहतका लागि खडा गरिएका सबै संयन्त्रलाई तयारीकासाथ राख्नुपर्छ । त्यसो गरियो भने राहत बाँड्न र उद्धारको काम गर्न सजिलो हुनेछ ।  प्राकृतिक प्रकोपका लागि चाहिने आवश्यक सम्पूर्ण सामग्री व्यवस्थापन गर्नु राज्यको मुख्य कर्तव्य हो । खासगरी स्थानीय प्रशासन चनाखो भएर विपद् व्यवस्थापनमा लाग्नुपर्ने हुन्छ ।

स्थानीय प्रशासनले जुन ठाउँमा आपत्विपद् पर्छ, त्यस ठाउँमा तत्काल टोली परिचालन गरी उद्धार र राहतको कामलाई तीव्र पार्नुपर्छ । यस अघिका थुप्रै प्राकृतिक प्रकोपका घट्नामा तत्काल उद्धार टोली खटाउन नसक्नाले धेरैले ज्यान गुमाउनु परेको थियो । त्यो तीतो अनुभव र यथार्थता हामीसँग छ । ती विगतका अनुभवबाट पाठ सिकेर अहिलेको यो विपद् व्यवस्थापनमा खट्नुपर्ने आवश्यकता देखिएको छ ।

विपद् व्यवस्थापनमा सम्पूर्ण नेपाली नागरिकहरू एकजुट हुनुपर्छ । विपद् व्यवस्थापन गर्न एक्लो प्रयासले सम्भव हुँदैन । अहिले देशमा स्थानीय, प्रदेश र केन्द्रको गरी तीन तहको सरकार छ । स्थानीय सरकारले यस विषयमा अलि बढी चासो र सतर्कता अपनाउन जरुरी छ । स्थानीय सरकारको नेतृत्व गरिरहेका जनप्रतिनिधिहरू विपद् व्यवस्थापनका लागि सक्रियताका साथ लाग्नुपर्छ । यतिखेर सबैभन्दा नजिकको र भरपर्दो सरकार भनेकै स्थानीय सरकार हो ।

स्थानीय जनप्रतिनिधिहरू विशेष गरेर प्राकृतिक प्रकोपको सामना गर्न र पीडितहरूलाई राहत र उद्धार कार्यमा खटिनुपर्छ ।उद्धार र राहतका लागि आवश्यक सबै सामग्री जोहो गरी स्थानीय सरकार तयारीका साथ बस्नुपर्छ । किनभने यो भन्दा ठूलो विपद् आउन पनि सक्छ । यो त वर्षायामको सुरुआत मात्र हो । बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक प्रकोपको सामना गर्दै जानुपर्ने अवस्था देखिन्छ ।

जोखिमयुक्त बस्तीहरूमा स्थानीय सरकारले नागरिकहरूलाई पूर्वसचेत बनाएर राख्नुपर्छ । त्यसो भयो भने क्षति घटाउन सकिन्छ । विपद्को स्थितिमा वा त्यसपछि लगत्तै आपतकालीन सेवा र सहयोगको कामलाई पनि प्रभावकारी बनाउनुपर्छ । संविधानले जल उत्पन्न प्रकोप नियन्त्रण गर्ने तथा प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनीकरण गर्न पूर्व सूचना, तयारी, उद्धार, राहत, विपद् व्यवस्थापन एवं पुनःस्थापना गर्ने कार्यलाई केन्द्रीय सरकार, प्रदेश सरकारको साझा अधिकारको सूचीमा राखेको छ ।

त्यसैले केन्द्रीय सरकार, प्रदेश र स्थानीय सरकारले विपद् व्यवस्थापनको सामना गर्न गम्भीरता पूर्वक तयारी गर्नुपर्छ । पहाडमा पहिरो, तराईमा बाढी बर्सेनि आउने गरेको छ । यो त सबैलाई थाहा छ, तर सावधानी अपनाउने कुरामा न नागरिकले चासो दिन्छन् न त सरकारले । समस्या यो हो । हचुवाको भरमा सडक निर्माण गरिएको छ । त्यहाँ पहिरो नगएर के जान्छ ? यस्तै, अन्य प्राकृतिक एवं भौगर्भिक कारणले पनि ठूला–ठूला पहिरो जाने गरेको छ ।

उद्धार र आपतकालीन कार्यसञ्चालनका लागि रकम व्यवस्था गर्नुका साथै उद्धारका लागि आवश्यक हेलिकोप्टर, डुंगा, अस्थायी पुल र अन्य सामग्री, उपकरणसहित सुरक्षाकर्मीको समूहलाई विभिन्न ठाउँमा तयारी अवस्थामा राख्ने काम गर्नुपर्छ । त्यसो भयो भने विपद्बाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न सकिन्छ । चुरे तथा तराई क्षेत्रमा पछिल्लो समय बढेको वनफँडानीका कारण पनि बाढी पहिरोको मात्रामा वृद्धि भएको छ ।

वर्षाको पानी रोक्ने रुख कटान हुँदा पानी सोझै जमिनमा पर्ने र सोस्न नसक्दा समस्या बढेर गएको भूगर्भविद्ले बताएका छन् । बाढी, पहिरो रोक्न सबैभन्दा पहिला वन जंगलको संरक्षण गर्ने काम सबै नागरिकले गर्नुपर्यो । जथाभावी वनजंगल फँडानी गर्ने काम गर्नु भएन । वन जंगल बचाउने चेतनामूलक कार्यक्रमहरू लिएर जनतासामु जाँदा राम्रो हुन्छ । त्यसो भयो भने जनता सचेत र चेतनशील हुन्छन् ।

जनता सचेत हुँदा बित्तिकै केही मात्रमा भए पनि प्राकृतिक प्रकोपबाट जोगिन सकिन्छ। बोटबिरुवा रोप्ने काममा पनि सबैले ध्यान दिनुपर्छ । बोटबिरुवा रोपियो भने त्यो बिस्तारै हुर्कंदै जान्छ र ठूलाठूला रुख हुन्छन् । त्यसले पहाडलाई पहिरो जानबाट रोक्दछ । वनजंगल बोटबिरुवा जोगाउने र संरक्षण गर्नेतिर हामी सबैको ध्यान जानुपर्छ । वर्षाका कारण अहिले भर्खरैसम्म सयौँभन्दा बढी घर विस्थापित भएको अवस्था छ भने बाढीले सडक बगाएको छ ।

जसले गर्दा धेरै ठाउँठाउँमा सवारी आवागमन अवरुद्ध भएको छ । धेरै ठाउँमा खोलाको बाँध फुटेर बस्तीमा बाढी पस्दा सयभन्दा बढी घर डुबानमा परेका समाचारबाहिर आएका छन् । बाढी प्रभावित क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन जरुरी छ । यतिवेला धेरै जसो पहाडीमार्ग अवरुद्ध छन् । अवरुद्ध बाटाहरू खोल्ने काममा सम्बन्धित पक्षको ध्यान पुग्नुपर्छ । बाटो अवरुद्धका कारण जनताले धेरै सास्ती भोग्नुपरेको अवस्था पनि छ ।

ठाउँठाउँमा पुलहरू पनि भत्किएका छन् । बाढी पहिरोपछि सहर र गाउँको सम्बन्ध टुटेको छ । अविरल वर्षाले जनजीवन देशभरि नै प्रभावित छ । उच्च जोखिममा रहेका बस्तीहरूलाई जोगाउने काममा समयमै सतर्कता अपनाउने गरौँ । र, बाढी पहिरो र डुबानमा परेका नागरिकहरूलाई राहत र उद्धार गर्ने काममा सक्रियताका साथ लागौँ । मध्य वर्षा सुरु हुन अझै बाँकी छ, सम्भावित खतरा आउन नदिन सबै सचेत र सजक बनौँ ।

प्रतिक्रिया