‘विद्यालय क्षेत्र हिजोआज शिक्षा आर्जन गर्नेभन्दा पनि धन आर्जन गर्ने क्षेत्रका रूपमा मौलाउँदै गएको छ । शैक्षिक माफियाहरूलाई यो बहुमत प्राप्त सरकारले अब लगाम लगाउन ढिला भइसकेको छ । निःशुल्क छात्रवृत्ति माग्दा यी माफियाहरू कोटा सकिएको भन्दै पन्छिन खोज्छन् भने सूचना माग्दा बेवास्ता गर्छन् । हरेक नागरिकलाई संविधानले सूचनाको हक ग्यारेन्टी गरेको छ । तर शैक्षिक क्षेत्रका बुज्रुक माफियाहरू सूचनालाई चना सम्झिएर पचाइरहेका छन् ’
-फणीन्द्र फुयाल ‘ज्वाला’ हिजोआज शिक्षा व्यापारको पर्यायवाची बन्दै गएको छ । शैक्षिक माफियाहरू विद्यालय नामको पवित्र ज्ञान मन्दीरलाई व्यापार गर्ने केन्द्र र कमाइ खाने भाँडोको रूपमा रूपान्तरण गर्दैछन् । जसले शिक्षाका नाममा दिनदहाडै गरिब नेपाली जनता ठगिरहेका छन् उनीहरू नै टाईसुटमा ठाँटिएर उपहार बोक्दै मन्त्रीहरूसँग सेल्फी खिचिरहेका हुन्छन् ।
यस्ता परिदृष्य टुलुलुटु हेर्नुपर्दा यो स्तम्भकार आफैँ लाजले शिर झुकाउन बाध्य छ । शैक्षिक माफियाहरू शिक्षामा सिन्डिकेट लगाएर मनग्ये पैसा धुतिरहेका छन्, सरकार रमिते बनिरहेको छ । यस्तो लाग्छ कि, सरकार पनि उनीहरूसँगको कमिसनमा रमाएको छ । अझै भनौँ सरकारलाई ती भ्रष्टहरूले खरिद गरेका छन् । शैक्षिक माफियाहरू विद्यालयको लोगो अंकित कपी छापेर, लोगो अंकित सर्ट, टाई र ट्रयाकसुट बेचेर, कोट र ज्याकेट बेचेर पैसा असुल्दैछन् ।
सरकार मुकदर्शक बनेको छ । यस्तो आशंक उत्पन्न हुन्छ कि यी माफियाहरूले सरकारलाई पनि कमिसन दिएका छन् र त सरकार चुपचाप छ । सरकारको कुन मन्त्री कस्तो छ र कसरी आम जनताका पक्षमा काम गरिरहेको छ ? जनताले मूल्यांकन पनि गरिहेका छन् । जनताले सरकार समक्ष प्रत्यक्ष देख्ने, भोग्ने, र अनुभूति गर्ने खालको शासन चाहियो भन्दै यो देशमा सरकारको स्थायीत्वको माग वषौँदेखि गर्दे आएका हुन् ।
बल्ल जनताले सरकारको स्थायीत्व होला कि भन्ने झिनो आशा गर्न थालेका छन् । सरकारको स्थायीत्वसँगै जनताले निजी विद्यालयमा १० प्रतिशत निःशुल्क छात्रवृत्ति लागू भएको हेर्न चाहेका छन् । निजी विद्यालयहरूले लोगो अंकित कपी छापेर ठगी गर्दै आएका छन् । उनीहरूले नर्सरी कक्षाका विद्यार्थीसँग समेत कम्प्युटर र ई लाइब्रेरीको नाममा अकूत सम्पत्ति कमाइरहेका छन् । रकम असुल्न मिल्ने जति कुनै पनि शीर्षक यी शैक्षिक माफियाहरूले कुनै पनि कक्षामा लिन बाँकि राखेका छैनन् ।
माफियाहरूको सञ्जाल देशैभर विस्तारित, सक्रिय अनि संगठित छ ठग्नका खातिर ! यसमा १०० प्रतिशत नै उस्तै त छैनन् तर बाहुल्यता भने ठगहरूकै छ, सेवामुखी निकै कम छन्, अल्पसंख्यक । विद्यालय क्षेत्र हिजोआज शिक्षा आर्जन गर्नेभन्दा पनि धन आर्जन गर्ने क्षेत्रका रूपमा मौलाउँदै गएको छ । शैक्षिक माफियाहरूलाई यो बहुमत प्राप्त सरकारले अब लगाम लगाउन ढिला भइसकेको छ । निःशुल्क छात्रवृत्ति माग्दा यी माफियाहरू कोटा सकिएको भन्दै पन्सिन खोज्छन् भने सूचना माग्दा बेवास्ता गर्छन ।
हरेक नागरिकलाई संविधानले सूचनाको हक ग्यारेन्टी गरेको छ । तर शैक्षिक क्षेत्रका बुज्रुक माफियाहरू सूचनालाई चना सम्झिएर पचाइरहेका छन् । हरेक वर्षको नयाँ शैक्षिक सत्र भने शैक्षिक माफियाहरूको लागि महान चाडपर्वजस्तै गरी आएर महोत्सवका रूपमा मानिदै आएको छ । उनीहरू हरेक वर्ष हरेक कक्षामा पुरानै विद्यार्थी भर्ना भए पनि यो वा त्यो शिर्षकमा अभिभावकको ढाड भाँचिने गरी पैसा असुल्ने गर्छन् । कतिपय विद्यालयले त झोला र किताबमा समेत कमिसन खाएर बेच्ने गरेका छन् ।
जसरी गृहमन्त्री रामबहादुर थापा बादलले करिब एक महिनाअघि एउटा ‘बोल्ड डिसिजन’ गरेर यातायात क्षेत्रको सिन्डिकेट हटाउने निर्णय गरे, त्यसैगरी, शिक्षामन्त्रीले पनि शिक्षा क्षेत्रका माफियाहरूलाई तह लगाउनै पर्छ । उनीहरूको सिन्डिकेट तोड्नै पर्छ । शिक्षा क्षेत्रमा भएका र हुने गरेका यस्ता अनैतिक र गैर जिम्मेवार कुराहरू तिनै आफूलाई पढे लेखेका भन्ने शैक्षिक माफियाहरूले पालना गरिदिए यो देश बनाउने र शिक्षा क्षेत्रमा विकास र योगदान गर्नेहरूमा उनीहरूको नाम पनि दर्ज हुने थियो कि ।
त्यसैले, अब सरकारले ती शैक्षिक माफियाहरूको बैँक खाता रोक्का गरी उनीहरूको हरेक सिन्डिकेट नतोडेसम्म यो क्षेत्रको विकास हुनै सक्दैन । त्यसैले सरकारले ती माफियाहरूको पहिचान गरी कारबाही गर्न ढिला गर्ने हो भने उनीहरूको मनोबल अझै उच्च हुँदै जान्छ र जनता मारमा पर्दै जानेछन् । यो देशमा हजारौँ जनताले बलिदान गरेर ल्याएको लोकतन्त्रको स्वाद गरिब र निमुखा जनताले भन्दा पनि त्यस्तै माफियाहरूले मात्र लिइरहेका छन् ।
सरकार दृढ भएर आम शोषित, पीडित र दुःखी जनताको पक्षमा निर्णायक कदम चाल्दै जाऊ जनता हमेसा साथ दिन तयार छन् । फेरी, यता कलेज खोलेर उच्च शिक्षाका नाममा पसल खोल्दै ठगी खान पल्कनेहरूको पनि कुनै कमी छैन हाम्रो समाजमा । शैक्षिक माफियाहरू गाउँदेखि सहरसम्म उसैगरी सल्बलाई रहेका छन् । विद्यार्थी भर्नाको समयमा कुनै सामाजिक हिरोहरू (खेलाडी, कलाकार, सगरमाथा आरोही, गायक) आदिलाई सद्भावना दूत बनाई महंगा झल्याकझुलुकवाला पोस्टर प्रकाशन गरी विद्यार्थी तान्न ती बुज्रुकहरू तल्लिन छन् ।
सहरीया कलेजहरूमा साइन्स र म्यानेजमेन्ट फ्याकल्टीहरू आजकल फेसनका रूपमा स्थापित छन् । तिनै फ्याकल्टी नामक चारो छरेर विद्यार्थी बटुल्ने र शुल्क असुल्ने ध्याउन्नमा निजी ‘प्लस टु’हरू लागिरहेका छन् । आजकल शिक्षा यस्तो खुलेआम लुटिखाने भाँडो भएको छ कि ती माफियाहरू कति वर्ष पहिले कुनै विद्यार्थीले उत्कृष्ट अंक ल्याइदिएबापत उसको नाम र फोटो बेचेर ब्याज असुलिरहेका छन् ।
सहरमा कुनै त यस्तासम्म निजी कजेजहरू छन् कि ति कक्षा कोठा हुन् कि जेलघर हुन् छुट्याउनै गाह्रो छ । शिक्षकहरूलाई न्यून पारिश्रमिक दिएर (श्रमशोषण गरेर) मुनाफा आर्जन गर्न पल्किएकाहरू अब कि त आफैँ सच्चिनुपर्छ कि त सरकार कठोर ढंगले उत्रिनुपर्छ । आइन्दा शिक्षाका नाममा कसैले कसैलाई ठग्नु किमार्थ यो लोकतान्त्रिक मुलुकमा स्वीकार्य छैन ।
प्रतिक्रिया