‘नेता त्यो हो जसले पहिला सपना देख्छ, अनि अनुयायी पाउँछ, अनुयायी ती हुन्, जसले पहिला नेता पाउँछन् र त्यसपछि मात्रै सपना देख्न थाल्छन् । यस अर्थमा प्रधानमन्त्री केपी शर्मा ओली सच्चा नेताका रूपमा स्थापित भए’
-रघु मैनाली एकैपटक आशा र आशंकाबाट सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओली सरकारको वर्तमान कार्यकाल सफलतापूर्वक हनिमुन अवधि पार गरेको छ ।
विगतमा राजनीतिक नेता तथा कार्यकर्ताहरूले देखाएका गैरजिम्मेवारीपन, राजनीतिमा अपराधीकरण, घुसखोरी, नातावाद कृपावाद, तस्कर तथा गुन्डा र दलालहरूसँगको साँठगाँठ, आपराधिक गतिविधिमा पार्टीका कार्यकताको संलग्नता र नेताका देश र जनविरोधी चरित्रले गर्दा जनतामा सम्पूर्ण नेता तथा राजनीतिक दलप्रति आशंका, आक्रोश तथा निराशा छाउनु स्वभाविकै थियो ।
भ्रष्टाचार र अनैतिकताले सामाजिक महामारीकै रूप लिएको थियो, राज्यका संयन्त्र, राजनीति संगठन तथा विभिन्न पेसा, व्यवसाय, वर्ग, तह र तप्का सबै नै यो महामारीको लपेटामा परेका थिए । त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारप्रति जनताले गरेको आशंका कुनै नियोजित वा पूर्वाग्रही थिएनन् । कुशासनको मारमा परेका भुक्तभोगीहरूको जीवन यथार्थ थियो ती आशंकाहरू ।
संविधान निर्माणमा खेलेको भूमिका, भारतीय नाकाबन्दीको विरुद्धमा लिएको राष्ट्रिय अडान, कठिन परिपस्थितिमा पनि अविचलित भएर विगतमा गरेका निरन्तर संघर्षले केपी ओलीप्रति जनताले ठूलो आशा गरेका थिए । आशाहीनता र गतिहीनताले सिर्जना गरेको आमनिराशा (मास डिप्रेसन) मा देश चुर्लुम्म डुबेका बेला नेपाली जनतालाई संभावनाको नयाँ क्षितिज देखाएर आशाका किरणहरू छर्ने काम पनि यसअघि प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले गरेका थिए ।
केपी ओलीले स्वाभिमानको सपना जगाए, बिजुली र रेलको कुरा गरे र समृद्धिको सपना देखाए । साना सपना देख्न बाध्य नेपालीलाई उनले ठूला सपना देख्न सिकाए । भनाइ नै छ, नेता त्यो हो जसले पहिला सपना देख्छ, अनि अनुयायी पाउँछ, अनुयायी ती हुन्, जसले पहिला नेता पाउँछन् र त्यसपछि मात्रै सपना देख्न थाल्छन् ।
यस अर्थमा प्रधानमन्त्री केपी शर्मा ओली सच्चा नेताका रूपमा स्थापित भए । जसले आमनेपालीलाई ठूला सपनाको पछि दौडन सिकाए, विकास र प्रगतिका सम्भावनाहरूको आशालाग्दो गन्तव्य देखाए । त्यसैले उनी पुनः प्रधानमन्त्री हुँदा जनतामा आशा पनि उत्तिकै थियो । बेथितिहरूका चाङमाथि टेकेर उनले प्रधानमन्त्रीको शपथ खाए । एउटा दृष्टान्तबाट कुरा अघि बढाऊँ । मानव शरीरमा विभिन्न नौ वटा प्रणालीहरू हुन्छन् ।
त्यसमध्ये धेरै प्रणालीहरू स्वायत्त पनि हुन्छन् र ती प्रणालीहरूलाई समन्वयात्मक रूपले सञ्चालन गरेर शरीरलाई तन्दुरुस्त राख्न स्नायु प्रणालीले भूमिका खेलेको हुन्छ । यसरी स्नायु प्रणाली मानव शरीरको मास्टर प्रणाली हो । स्नायु प्रणाली नै विशृंखलित भयो भने व्यक्ति सुस्तःमनस्थितिको सिकार हुन्छ । अरू सबै स्वायत्त प्रणालीहरूले पनि काम गर्न छोड्छन् । मुखले ¥याल चुहिएको थाहा पाउँदैन, सिँगान निस्किएको र दिसा चुहिएको हेक्का हुँदैन । यस्तै देशको मास्टर प्रणाली भनेको राजनीतिक प्रणाली हो ।
राजनीतिक प्रणाली नै विशृंखलित भएपछि राज्य र समाजका तमाम स्वायत्त प्रणालीहरू पनि गतिविहीन बन्नु स्वाभाविक नियति हो । सिंगो देश नै सुस्तःमनस्थितिको सिकार भएको थियो– कुनै अंगले काम गर्न नसक्ने । र, दिसापिसाब चुहिएको हेक्कासम्म पनि नहुने अवस्थामा नेपाली समाज पुगेको थियो । लाजघीन कसैलाई थिएन, नैतिक मूल्य अधमरो थियो, परचक्रीको पक्षमा लागेर देशको अस्तित्व नै समाप्त पार्दा पनि नेता कार्यकताहरू सगर्व हिँडिरहेका हुन्थे । उनीहरूमा कुनै ग्लानी थिएन ।
हो, केपी ओली ठीक यस्तै बेलामा प्रधानमन्त्रीको दोस्रो कार्यकालको शपथ खाँदै थिए । यावत प्रतिकूलता हुँदाहुँदै पनि करिब तीन महिनाको अवधिमा केपी ओली सरकारले सानै भए पनि केही महत्वपूर्ण कामहरू गरेको छ । नेपाली कांग्रेस र शेरबहादुर देउवाको सरकारले विगतमा गर्ने गरेका लजास्पद र प्रतिशोधपूर्ण गतिविधि र राजनीतिक नियुक्तिलाई बदलाको रूपमा नलिई देश सञ्चालनका लागि ठूलो हृदयको आवश्यकता पर्छ भन्ने सन्देश केपी ओली सरकारले दिन सफल भएको छ ।
आइजिपी नियुक्त तथा प्रहरी बढुवालाई लिएर प्रहरी संगठनमाथि हुने गरेका राजनीतिक लुछाचुँडीको अन्त्य गरी थिति बसाल्ने बाटोमा सरकार अग्रसर देखिएको छ । राजनीति र प्रहरी संगठनभित्र रहेको संगठित अपराधलाई धक्का दिएको छ । अमनचयनका साथ सक्रिय रहेका अपराधी र तस्करहरूमाथि धावा बोलेको छ । यातायात क्षेत्रका व्यवसायीहरूले यात्रुमाथि निरन्तर चलाइरहेको ज्यादति रोक्न राजनीतिक आडमा कायम गरिएको कार्टेलिङलाई झापट दिएको छ ।
नेताहरू विदेश जाँदा नेपाल र नेपालीको शिर निहुरिने प्रथाको अन्त्यका लागि प्रधानमन्त्री ओलीको भ्रमण बलियो नजिर बनेको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणका समयमा नेपालको आन्तरिक राजनीति गिजोलिएन, जीहजुरी गरिएन र भिख मागिएन । ओली सरकारको सय दिनका यस्ता गतिविधिले जनतामाथि विगतका सरकारहरूले सधैँ पुर्याउने जनआघातहरूमा मलम लगाएको छ ।
सरकारप्रति जनतामा कायम रहेको स्थायी आशंकालाई हटाएर यी सय दिनले सरकारप्रतिको आशालाई विस्तारै विश्वास र भरोसामा बदल्ने स्पष्ट संकेतहरू कोरेका छन् । तर, सरकारका भावी दिनहरू त्यति सहज छैनन् । विगतका सरकारहरूले सिर्जना गरेका कुरीतिका विरासत र जनतामा ओली सरकारप्रति उत्पन्न भएका अपेक्षाहरूबीचमा ठूल्ठूला पहाडहरू छन् । देशमा शान्तिसुरक्षा र अमनचयनको पहाड छ ।
दिनदिनै महिलामाथिका हिंसा बढ्दो छन् । अन्नदाता किसानका जाँगर हराएका छन् र भकारी रित्तिएका छन् । देशको अर्थव्यवस्था लथालिंग छ । बैंकिङ क्षेत्रमा विद्यमान संगठित अराजकता तोड्नु छ । समाजमा दुराचार र अनैतिकताको महामारी फैलिएको छ । नेपाली समाजको सामाजिक मूल्य यतिधेरै गिरेको सायद इतिहासमा कहिल्यै थिएन होला । सरकारी संयन्त्र निकम्मा छ, सेवा भाव हराएको छ ।
कर्मचारीहरू टोले गुन्डाले झैँ निसंकोच जनतालाई धम्क्याउँछन् । उनीहरू भुरेटाकुरे राजा बनेका छन् । सरकारी संरचनाले पालनपोषण गरेका सिन्डिकेट र दलालहरू यत्रतत्र सर्वत्र छन् । स्थानीय तहका जनप्रतिनिधिहरू परम्परागत स्वभावका शासक बन्न उद्यत देखिन्छन् । अवसर र सम्भावनाहरूको ढोका नखोली जनतामाथि कसरी कर लाद्न सकिन्छ भन्ने ध्याउन्न उनीहरू लागेका छन् । अहिले देश नयाँ परिस्थितिबाट अगाडि बढिरहेको छ ।
हामीले संघीयताको नौलो अभ्यास सुरु गरेका छौँ । जसका लागि सम्पूर्ण संरचनाहरू सिर्जना गर्नुछ । केन्द्र सरकारदेखि स्थानीय तह सञ्चालनसम्मका अनगिन्ती कानुनहरू निर्माण गर्नुछ । समग्र देशका लागि योजना बनाउनु छ । खानेपानी, विजुली, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणजस्ता आवश्यकताका आधारभूत पक्षहरूमा नयाँ मानक स्थापित गर्नुछ ।जनताका अपेक्षा छन्– सरकारले संघीयतामा शिक्षाको राष्ट्रिय मानक तय गर्नुपर्छ ।
शिक्षाको गुणस्तर कायम गर्नुपर्छ । आधारभूत पाठ्यक्रम र पाठ्यपुस्तक तोकिनु छ । मेडिकल शिक्षामा भएको दादागिरी तत्काल अन्त्य गर्नुछ । सामान्य उपचारबाट समेत वञ्चित हुन बाध्य आमनेपालीको पहुँचमा स्वास्थ्य सेवालाई पुर्याउनु छ । बन्जर बन्दै गएको कृषिक्षेत्रलाई उर्वरा बनाउनु छ । अपराधीलाई सांसद कायमै गर्ने लगायतका कानुनी र नीतिगत भ्रष्टाचार तथा अपराधलाई निर्मुल गर्नुछ । वौद्धिक पलायन रोक्नु छ ।
अथवा भनौँ वर्तमान सरकारका सामुन्नेमा जनअपेक्षाले जन्माएका कार्यहरू अनगिन्ती पानाहरूमा पनि नअटाउने गरीको लामो सूची छ । बहुमतको स्थिर सरकार हो भन्ने कुरा अझै जनताले महसुस गर्न सकेका छैनन् । वर्तमान सरकारले त्यसतर्फ ध्यान केन्द्रित गरी युद्धस्तरमा कार्य अगाडि बढाउनु छ । समाज र सरकारका हरेक अंग र क्षेत्रमा विद्यमान अराजकता र मनोमानीलाई अन्त्य गरी समग्रमा सुव्यवस्था र समृद्धि कायम गराउनु वर्तमान सरकारका प्रारम्भिक कार्य विवरणहरू हुन् ।
बिहानीले दिउँसोको संकेत गर्छ भनेझैँ सरकारका सय दिनले जनतामा भरोसाको नयाँ क्षितिज उघारेको छ । भावी दिनमा पनि वर्तमान सरकार लक्षमा सफल बनोस् यसैमा नेपाल र नेपालीको कल्याण छ ।
प्रतिक्रिया