भुइँ मान्छे न पुरानो हुन्छ, न त मर्छ नै

सन्दर्भ कार्लमाक्र्सको द्विशताब्दी जन्मोत्सव
 

-निमानन्द रिजाल

 माक्र्सको द्विशताब्दी नेपालमा मात्रै होइन विश्वले नै मनाइरहेको छ । नेपालमा विभिन्न गोष्ठी सेमिनारहरू भइरहेका छन् । विभिन्न वुद्विजीवीहरूको बीचमा माक्र्स पुगेका छन् । तर, किसान मजदुरहरूको बीचमा सहीमानेमा भने पुग्न सकेका छैनन् । माक्र्सको नाम सुन्ने र यथार्थमा बुझने मजदुरहरूको कमी खड्की रहन्छ ।

यहाँका मजदुरहरू, किसानहरूको आन्दोलनको नेतृत्व मध्यमवर्गीय जनताले गरेको पाइन्छ । यसर्थ माक्र्सलाई सहीअर्थमा बुझ्ने र लागू गर्ने काम बीचमै अलमलमा पर्छ । यो वस्तुगत यथार्थ हो । रसिया, चीन, क्युवा र अन्य देशमा भएका रूपान्तरणका बाटाहरू फरक देखा परे र आफ्नै ढंगले विकसित भए ।

 

पश्चिम जर्मनको ट्राइरमा माक्र्स जन्मेको घर ।

कार्ल माक्र्सको संक्षिप्त परिचय : (५ मे १८१८ – १४ मार्च १८८३ )
कार्लमाक्र्स कस्ता मान्छे हुन्, न मर्छन् न पुराना हुन्छन । यी अचम्मका मान्छे । भुइँमान्छेको (श्रमिक) जीबन सम्मानजनक भएर जिउनुपर्छ । मनिसले मानिसमाथि गर्ने शोषणको खेलको अन्त्य हुनुपर्छ । पुँजीको संकलनमा मजदुरहरूको श्रम लागेको हुन्छ । श्रमको शोषणविना अकुत संपत्ति संभव छैन । यसैले पुँजीमा मजदुर, श्रमजीवी वर्गको स्वामित्व हुन्छ । यो प्राकृतिक नै हो ।

श्रमजीवीहरू सम्मानजनकरुपमा जिउन पाउनु पर्छ भन्ने एक साहासी मान्छेको जन्म सन् १८१८ को मे ५ मा पक्षिम जर्मनीको ट्राइर (trier) भन्ने ठाउँमा भएको हो । उनका पिता हेनरिच माक्र्स र माता हेनरिएटा प्रेसबर्ग थिए । उनका पिता वकिल थिए । माता र पिता दुबै ज्यूज धर्म पढाउने गुरुका सन्तान थिए । उन्का पिता ज्यूज भएकाले जर्मनमा वकालत गर्न दिइएन र धर्म परिवर्तन गरी क्रिस्चियन भए । उनको पूरानाम कार्ल हेनरिच माक्र्स हो ।

उनी सात वर्षको हुँदा बापटाइज गरिएको थियो । उनी सानो छँदा कालो कर्ली कपाल थियो । उनले खुब ध्यान दिएर पढ्ने गर्थे । उनी १८ वर्षको उमेरमा ट्राइरको जिम्नासियमबाट ग्राजुयट भएपछि बोन विश्वविद्यालयमा अध्ययन गर्न पुगे । माक्र्सले आफ्रनाे भविष्यकी पत्नीलाई धेरै प्रेम पत्र लेखे र पढाइमा ध्यान कम पुग्यो । पहिले माक्र्सले साहित्यको अध्ययन र पछि कानुन, दर्शन र मेटा फिजिक्सको बारेमा अध्ययन गरे ।

विशेष गरी मेटा फिजिक्स भौतिकशात्रभन्दा अलि पर ब्दकतचबअत मा पुग्छ र जीव, जगत, ब्रहमाण्डको उत्पत्ति आदिको बारेमा अध्ययन गर्ने विषय हो । १८४१ मा जेना विश्वविद्यालयबाट विद्यावारिधी पूरा गरे । उनको विद्यावारिधीको विषय थियो, ‘The Difference between the Democritean and Epicurean Philosophy of Nature.’ माक्र्सले कलोग्ने पुगे र त्यहाँ रेहिनिस्चे जेइतुंङ (Rheinische Zeitung), एक उदारवादमा आधारित पत्रिकाको संपादन गरे पछि आफनी पत्नी जेनीसित फ्रान्स पुगे ।

फ्रान्समा उदारवादी चिन्तन भएको राज्य व्यवस्था नै थियो यसले माक्र्सलाइ सजिलोसँग लेख्न र प्रकाशन गर्ने ठूलो मौका दियो । फ्रान्स पुगेपछि फ्रेडरिक एंगेल्स (१८२०–१८९५) सँग मित्रता जोडियो । १८४८ मा माक्र्स लन्डन आए र बाँकी जीवन लन्डन मै बिताए । पुँजीबादको गहिराइमा पुगेर अध्ययन गरे । माक्र्स हेगेल र फायरबाखसँग प्रभावित थिए । हेगेल द्वन्दात्मक भौतिकवादका प्रवर्तक मानिन्छन् । थेसिस, एन्टिथेसिस र सेन्थेसिस प्रतिपादन गरेका थिए ।

जेनी र माक्र्स : हरेक सफल मानिसको पछाडि एक महिलाको हात छ भन्ने तथ्य कसैले अन्दाज गर्न मिल्दैन । जेनी भोन वेस्टफालेन माक्र्सकी पत्नीको पुरानाम हो । जेनी र माक्र्स छिमेकी थिए । जेनी माक्र्सभन्दा जेठी थिइन । उनीहरू पहिले स्कुलका साथी थिए । एउटै बेन्चमा बसेर पढने गर्थे । माक्र्स सात वर्ष आफ्ना ठाउँबाट टाढा गएर पिएचडी सिद्धाएर आए पछि उनीहरूको लगनगाँठो गाँसियो । उनका बाबा र अरू परिबारले जेनीको विवाहलाई अस्वीकार गरेका थिए ।

तर, आमाले भने स्वीकार गरेकी थिइन् । उनी धनी बाबुकी छोरी थिइन र विवाह गरेर सँगै आउँदा घरमा काम गर्ने सेविका पनि लिएर आएकी थिइन्, एंगेल्सका अनुसार यी सेविकाबाट माक्र्सको एउटा छोरा भएको थियो । माक्र्सले गरिबीको चरम सीमामा जीवन बिताएका थिए । १८८१ मा जेनीको मृत्यु भयो, जेनीको मृत्युले माक्र्सलाई अति आघात पुर्यायो, यस्तै एउटी छोरीको मृत्यले पनि । जसको कफिन किन्न दुई पाउन्ड उनीसँग थिएन ।

यस्को दुई वर्षमै माक्र्सको मृत्यु भयो । माक्र्सले जेनीलाई अत्यन्तै माया गर्थे र छोराछोरीलाइ पनि उत्तिकै माया गर्थे । यी दुबैको मृत्युको चोट माक्र्सलाई असह्य बनेको थियो । माक्र्सको महत्वपूर्ण कार्यहरू: अहिलेसम्म उनको बारेमा लेखिएका किताबहरू करिब ३ हजार ८ सय १७ छन् । नेपाल, भारतका कुनाकाप्चामा, विश्वभरका कुनाकाप्चामा उनको बारेमा लेखिएका कति छन् यसको तथ्यांक आउन गाह्रो छ ।

यति धेरै किताब उनको बारेमा किन लेखिए ? यो आमसर्वसाधारण मान्छेलाई कूतुहलको विषय हो । उनले पुँजिवादले मानिसलाइँ पैसा बनाउने मेसिनमा परिवर्तन गर्यो भन्ने गर्दथे । दास क्यापिटल : माक्र्सले पुँजीवादीहरूको नाफाखोर, शोषणमा आधारमा ठडिएको व्यवस्थाभन्दा शोषणविहीन समाजको निर्माण गर्न सकिन्छ भन्ने चिन्तन दिए र पुँजीवादको गहिराइसम्म पुगेर अतिरिक्त मूल्यको सिद्घान्त प्रतिपादन गरे ।

यो उनको सबैभन्दा महत्वपूर्ण खोज भएको किताब ‘दास क्यापिटल’ मा उल्लेख छ । दास क्यापिटलका तीन वटा भोलुममध्ये पहिलो मात्रै माक्र्सले पूरा गर्न सकेका थिए अरू दुई वटा एंगेल्सको सम्पादनमा प्रकाशित भए । समाजको विकास र रूपान्तरणमा यसले अहं भूमिका खेल्यो । वास्तवमा भन्ने हो यसको पुँजीवादको विकासमा पनि ठूलो भूमिका छ । कम्युनिस्ट घोषणा पत्र : १८४८ मा माक्र्स र एंगेल्स मिलेर लेखेता पनि पछि वैज्ञानिक समाजवादसम्म आउँदा माक्र्सले एक्लै लेखे ।

यो सर्वहारा मजदुर वर्गलाई मुक्तिको बाटो देखाउने, संगठित हुन उत्प्रेरित गर्ने र समाजमा वर्गहरू छन् जुन बुर्जुवा पुँजीपति र मजुदुर वर्ग हुन् । मजदुरहरूको शोषण हुन्छ र पुँजिपतिले मानिसलाई वस्तुसरह प्रयोग गर्छन् भन्ने यसमा उल्लेख छ । यसले वर्ग संघर्षबाटै समाज पुँजीवाद र पुँजीवादी अर्थ व्यवस्थासम्म समाज पुगेको कुरा प्रस्टाएकोे छ । ‘संसारका मजदुर एक हौँ’ भनेर मजुदुरहरूको एकताको आवश्यकता प्रष्ट पारेका छन् ।

यसले पुँजीवादको जगदेखि नै हल्लाइदियो तर माक्र्सले आफ्नै जीवनमा यसको अनुभूति गर्न पाएनन् तर फ्रेन्च क्रान्ती देखे, पेरिस कम्युन देखे जुन ७२ दिन मात्रै टिकेको थियो । समाजको विश्लेषण: समाज विकासको क्रमको अध्ययन र पदार्थ नै चेतनाको विकासको माध्यम भएको कुरा प्रष्ट बनाए । आर्दशवादी दर्शन पुँजीवादीहरूको शोषणको माध्यम भएको प्रष्टाएर भौतिकवदी दर्शनले विकासको आधारको खोज र प्रयोगबाट सिद्ध गर्दै वैज्ञानिक चेतनाको विकासमा योगदान गरे ।

एंगेल्सले लेखेको महत्वपूर्ण कार्यमा परिबारको निजी सम्पति राज्यको उत्पति भन्ने किताब हो । समाजको विकास जंगली ढुंगेयुग आदिम साम्यवाददेखि सामन्तवाद, पुँजीवाद, समाजवाद हुँदै साम्यवादसम्म पुग्छ भनेका छन् । अन्तर्राष्ट्रियको गठन र विघटन: सन् १८६४ मा श्रमजीवीवर्गको अन्तर्राष्ट्रियको गठन माक्र्सकै नेतृत्वमा भयो । यस्को उद्देश्य संसारका मजदुरहरूलाई गोल बन्द गर्नुथियो । यो आन्तरिक गुट, झगडाले गर्दा संगठन कमजोर बन्दै गयो र १८७६ मा यसको विघटन भयो ।

माक्र्सवाद र नेपालको सन्दर्भ
माक्र्सवाद समाज रूपान्तरणका लागि एक सामाजिक विज्ञान हो । समाजमा विद्यमान वर्गहरू र यिनीहरूको बीचको संघर्ष र रूपान्तरण एक लगातार चल्ने प्रक्रिया हो । सचेत हस्तक्षेपबाट समाजमा भइरहेका अन्धविश्वास, कुरीति, शोषणमुक्त समाज र एक हाँसीखुसी विकसित समाजको निर्माण गर्न सकिन्छ भन्ने यसको अन्तरबस्तु हो । तर, नेपालमा यसको बुझाइमा फरकफरक देखिएको छ । यही बुझाइमा फरक भएकोले समान्तहरूले सयौँ वर्ष सिधासाधा जनतामाथि शोषण गरिरहे ।

कम्युनिस्टहरू एक ठाउँमा उभिन सकेनन्, पुँजीवादको विकास हुन सकेन र पुँजीवादी रूपान्तरणको जिम्मा पनि कम्युनिस्टहरूले नै लिनुपर्ने भयो ।०७ सालमा नेपाली कांग्रेससँग नेकपाले पनि पुँजीवादी क्रान्तिमा भाग लियो । यो क्रान्ति संझौतामा टुगियो । विभिन्न चरण पार गर्दै जाँदा कुनै यान्त्रिकतामा फस्ने र कुनै दक्षिणतिर फस्ने, सचेत हस्तक्षेपलाइ नकार्ने प्रवृत्ति देखियो ।

यो चरण पार गर्दै जाँदा ०४६ सालमा सामन्तवादलाई वैधानिक राजतन्त्रमा परिवर्तन गर्यो । तर, देशका समस्याहरू यथावत नै रहे र वामको एकधारले प्रचण्डको नेतृत्वमा सशस्त्र संघर्षको सुरुआत गर्यो । साम्राज्यवादीहरू र यहाँका दलाल पँुजीपतिहरूले सशस्त्र संघर्षलाई सिध्याउन लागे । यसले संघर्षलाई बल पुग्यो ।

माओवादीलाई सिध्याउन हत्याको शृंखला चल्यो र देशको विशिष्ट परिवेशले लोकतान्त्रिक शक्तिहरू एकठाउँमा आएर गणतन्त्रको स्थापना भयो । जनयुद्धले जन्माएका हजारौँ सहिदहरूको सपना गणतन्त्रसम्म आइपुग्दा क्रान्ति र परिवर्तन जादुको छडी ठान्नेहरूले माओवादी आन्दोलनलाई टुक्राटुक्रामा विभाजन गर्ने प्रयत्न गरे । यसको नेतृत्व यान्त्रिक ढंगले मोहन वैद्यजीले गर्न पुगे र दक्षिणपन्थी मात्र नभएर कम्युनिस्ट आन्दोलनबाटै स्खलित भएर डा. बाबुराम भट्टराई निस्किए ।

यसरी बिखण्डित बनाउने प्रयत्न र जालहरूलाई चिर्दै माओवादी आन्दोलन पुनः नेपालको बिशिष्टता अनुरूप सम्पूर्ण वामपन्थी शक्तिहरू र समाजवादलाई मार्गनिर्देश बनाउने शक्ति समेतलाई गोलबद्ध गर्दै अगाडि बढिरहेको छ । क. प्रचण्डले भनेजस्तै नेपालका कम्युनिस्टहरूको एकताले अन्तर्राष्ट्रिय प्रतिक्रियावादी खेमाहरू अत्तालिएका छन्, यो ध्रुव वा त्यो ध्रुवको प्रयोग गर्दै एकता खल्बलाउने प्रयास गर्दै छन् ।

नेपालमा माक्र्सवादको प्रयोग
माक्र्सवाद जीवमानव समाजलाइ सभ्य र मानवतावादको सिद्धान्तमा आधारित छ । नेपाल वैदिक समाजवादको प्रयोग भएको देश हो । अहिले पनि यसको चरित्र मानिसहरूमा पाइन्छ । यो वैज्ञानिक समाजवाद थिएन, आदिम साम्यवादको अलि विकसित रूप थियो । अहिले नेपालमा वैज्ञानिक समाजवादतिर अगाडि बढ्ने आधारहरू तयार पारिँदै छ ।

यो आधार तयार गर्न ०६ सालदेखि यताको इतिहास बिर्सनु हुँदैन ।  बिर्सियो भने हामीले आमसहिदलाई अपमान गरिरहेका हुनेछौँ र समाजवाद उन्मुख समाजलाई सहजै पुँजिपतिको हातमा सुम्पनेछाैँ । यसर्थमा आमजनता, सेना, कर्मचारी, पुलिस र न्यायालयलाई पनि समाजवादी चेतना र प्रयोगमा प्रशिक्षित गराउनु आवश्यक छ ।

समाजवाद जादुको छडी होइन, यसका आदर्शहरूलाई समाजसम्म पुर्याउन वर्षैँ लाग्छ । राज्य संयन्त्रले यसलाई व्यवहारमा परिवर्तन गर्नुपर्ने हुन्छ ।  यहाँको अर्थव्यवस्था र उत्पादन पद्दतिमा समेत परिवर्तन अहिलेको आवस्यकता अनुरूप ल्याउनुपर्छ । संविधानमा समाजवाद भनेर पुग्दैन यसले आमजनताको जीवनमा रूपान्तरण गर्नुपर्दछ ।

यो रूपान्तरण कसरी गर्ने अहिलेको नेतृत्वको चुनौती हो । यसलाई साथ दिनु र समाजवादी समाजको निर्माणमा सहयोग गर्नु आममानिसहरूको पनि कर्तब्य हो । माक्र्सबाट सिक्दै चीनले विकाशको छलाङ लगाएको छ । हामीले पनि आफ्नाे कार्य कुशलतालाई बढाउँदै खुसी, सम्पन्न र समृद्ध नेपाल बनाउनु कसर छोड्नु हुँदैन ।

प्रतिक्रिया