‘केपी ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष भएकै वेलामा नेपालकै दुई ठूला कम्युनिस्ट पार्टीहरू (एमाले) र (माके) एकीकृत भएर नेकपा भएको छ । यसरी हेर्दा भित्री वा बाहिरी पाटो जे–जस्तो भए तापनि नेपालको राजनैतिक इतिहासमा सबैभन्दा धेरै जनमत प्राप्त राजनैतिक पार्टी र सरकार पनि यही दुई पार्टीहरूको एकीकरणपछि गठन भएको छ ’
-निनाम कुलुङ ‘मंगले’ जेठ ४ गते बिहानै कान्तिपुर दैनिकमा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको गाडी मुग्लिन–नारायणगढ सडक खण्डको दासढुंगा भन्ने ठाउँबाट त्रिशुली नदीमा खसेर वेपत्ता भएको समाचार पढ्ने वित्तिकै म रोएको थिएँ । हुन त त्यो वेला म राजनैतिक रूपमा परिपक्क थिइन नै ।
लगाम लगाएको घोडासरह नेकपा एमाले बाहेक दाँया–बाँया अरू कुनै राजनैतिक दलहरू देख्दिन थिएँ । धेरैपछिसम्म पनि एमालेको संगठित सदस्य त के साधारण सदस्यसमेत थिइन । स्वतः स्वफूर्तरूपमा एमालेको कट्टर समर्थक थिएँ । एमालेको अन्धभक्त थिएँ पाएसम्म म एमालेनिकट साप्ताहिक पत्र पत्रिकाहरू दृष्टि, छलफल, प्रकाश, जनधारणा,जन आस्था आदि नछुटाई पढ्थेँ ।
तर,अहिले बुझ्दा एमाले निकट दृष्टि, छलफल, प्रकाश, जनधारणा,जनआस्था आदि मात्रै नभएर नेपाली कांग्रेस समर्थक सुरूची, विमर्श , पुनर्जागरण, देशान्तर, वा मण्डले÷पञ्चहरूको समर्थक गोर्खा एक्सप्रेस, जन भावना, रूपरेखा, नेपालीपत्र, अनि जनमोर्चा समर्थक जनएकता माओवादी समर्थक जनादेश आदिले पनि आफूले सर्मथन गरेको दल र तिनका नेताको बढाइचढाई र प्रोपोगाण्डा मात्रै छाप्ने रहेछन् ।
अरू दल वा अरू दलकाे नेताको बारेमा समाचार छापे पनि नकारात्मक ढंगले र बंग्याएर मात्रै छाप्ने रहेछन् । आज सम्झँदा लाग्छ, थुइक्क मेरो चेतनाको स्तर , थुइक्क मेरो बुझाइको स्तर,थुइक्क मेरो राजनीति ! त्यतिवेला, मलाई कसैले नेकपा एमाले र एमालेका कुनै नेताको आलोचना वा विरोध गरेको सुनेमा तिनीहरूलाई कुटौँ झैँ लाग्थ्यो । यस विषयमा सम्झिँदा अहिले पनि एउटा रोचक प्रसंगको याद आउँछ ।
ओखलढुंगा जिल्लाका नेपाली कांग्रेसका नेता महेशको र्मोचासँग काठमाडाैँको खिचापोखरी ‘लक्ष्मी लज’मा भेट भयो । मैले ‘सुझो न बुझो टिकी ट्याँस–ट्याँस’ भनेझै र, कति नै जान्ने सुन्ने भएझैँ गरेर प्रसंगवस नेपाली कांग्रेसलाई तथानाम गाली गरेँ । यस्तो गाली सुनेर महेश कोर्मोचा दाइलाई सही नसक्नु भएछ क्यारे, त्यसमाथि केही नजान्ने सिंगाने फुच्चेले नेपाली कांग्रेसजस्तो पार्टीलाई गाली गर्ने । मलाई हत्त न पत्त ए मणि, तिमीले के राजनीति बुझेको छौँ र कांग्रेसलाई गाली गर्छौ ?
लु भन त, तिम्रो एमालेले चाहिँ के गरेको छ ? अनि एमालेचाहिँ कुन गतिलो पार्टी हो ? फेरि एमालेको सिद्धान्त के हो ? तिमीलाई थाहा छ ? बेकारमा जान्ने भइटोपल्छ लु भन त ….. एमालेको सिद्धान्त के हो ? ….. त्यसपछि म वास्तवमै नाजवाफ भएको थिएँ । म त मदन भण्डारीको भाषण सुनेर न एमाले भएको थिएँ ।न त मलाई त्यो वेला एमालेको सिद्धान्त र विचार के हो भन्ने नै थाहा थियो, न त एमाले कस्तो पार्टी हो भन्ने नै थाहा थियो ? तापनि म पक्का एमाले थिएँ ।
पछि त ललितपुर उपमहानगर पालिका (हाल महानगरपलिका) को १४ नम्बर वडामा संगठित भएरै एमालेमा लागियो । कतिसम्म भने, ०५४ को स्थानीय निर्वाचनमा देवराज राईलाई एमालेको तर्फबाट १४ नम्बर वटाबाट जिताउन महत्वपूर्ण भूमिका मैले नै खेँले । अर्को, म एमाले हुनुको कारण ०५१ सालको मध्यावधि निर्वाचनपछि मनमोहन अधिकारीको नेतृत्वमा बनेको अल्पमतको नौ महिने सरकारले गरेको केही सुधारात्मक कामले गर्दा पनि हो ।
तर, मनमोहन अधिकारीको नेतृत्वमा बनेको अल्पमतको नौ महिने सरकारको पालामा एमालेका नेताहरूले सत्ताको चास्नी यस्तरी चाखे कि, उनीहरूका लागि दुलोमा लुकेर बस्नुपर्ने पञ्चहरूसँग मिलेर सत्ताका केवल लागि सहकार्य नगरी नहुने भो ! जसरी पनि सत्तामा जानैपर्ने भो । नत्र भने एमालेका नेताहरूका लागि आकाशै खस्ने भो ! धरती नै फाट्ने भो । त्यो वेला केन्द्रबाट एमाले किन लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा संयुक्त सरकारमा जाने ? त्यसरी जाँदा केके फाइदा हुन्छ ?
आदि बारे कार्यकर्तालाई बुझाउन÷प्रशिक्षण दिन आएका नेता सुरेन्द्र पाण्डेलाई, ‘होइन, दुलोमा लुकेर बस्नुपर्ने पञ्चहरूलाई प्रधानमन्त्री दिएर कसरी सरकारमा जाने ?’ भनी यो पंक्तिकारले प्रश्न गर्दा ‘पञ्चहरूमा पनि उदारवादी र अनुदारवादी छन् । बामदेव कमरेडले गृहमन्त्री पाउँछन् । गृहमन्त्री आफ्नो पार्टीको भएपछि स्थानीय चुनावमा ६० प्रतिशतभन्दा बढी सिट जित्न सकिन्छ ।
स्थानीय सत्ता कब्जा गर्नका लागि पनि लोचनलाई प्रधानमन्त्री बनाउनै पर्ने भनी तर्क÷व्याख्या गरेका थिए’ सुरेन्द्र पाण्डेले । नभन्दै त्यस्तै भयो । त्यसपछि गिरिजाप्रसाद कोइरालाले पनि एमालेको नजरमा अनुदारवादी खेमा मानिएका÷दरबारिया भनी चिनिएका सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए ।
अहिले आएर एमालेको जसरी पनि सत्तामा जानै पर्ने, सत्ता कब्जा गर्नै पर्ने र, अहिले पनि नेपालका आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, पिछडिएको क्षेत्र, तेस्रो लिंगी, संघीयताको विरूद्घमा लिएको नीति हेर्दा÷सम्झँदा र, खस आर्यप्रतिको अनुराग देख्दा त्यो वेला (मदन भण्डारी मर्दा) बेकारमा पो रोइए छ कि ! भने झैँ लाग्छ । हुन त यस मामलामा मरेर गइसकेका मदन–आश्रितद्वयलाई के दोष दिनु ?
सायद उनीहरू जीवितै रहेको भए एमाले पार्टी र तिनका नेताहरूमा यो हदसम्मको सत्ताको भोक लाग्न दिँदैन थिए कि । अनि नेपालका आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, पिछडिएको क्षेत्र, तेस्रो लिंगी, संघीयताको विरूद्घमा लिएको नीति पनि व्यवहारिक रूपमै केही नरम हुन्थ्यो कि ? अनि नेकपा एमालेको नीति पनि यत्ति साह्रो खस आर्यको पक्षपोषण गर्ने खालको हुँदैन थियो कि ?
त्यस्तै, कुनै वेला तत्कालीन नेकपा माओवादीका केन्द्रीय नेता रहेका र प्रधानमन्त्रीसमेत भएका तथा हाल नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक रहेका डाक्टर बाबुराम भट्टराईले प्रसंगवस एमालेलाई दिएको तेस्रो लिंगीको उपमा÷पहिचानलाई मदन आश्रितले सही मान्दा हुन् कि नमान्दा हुन् ?
साथै, एमालेको नौ महिने सरकार ढलेर शेरबहादुर देउवाको नेतृत्वमा बनेको संयुक्त सरकारले पास गराउन खोजेको महाकाली सन्धि पास गर्न दिलो ज्यानले खटिएका र महाकाली सन्धि पास हुनासाथ नेपाललाई वार्षिक एक खर्ब २० अर्ब आम्दानी हुने भनी नेपाल टेलिभिजनको ‘प्राइम टाइम’मा अन्तर्वार्ता दिएका र, कुनै वेला नारायणमान बिजुक्छे, चित्रबहादर केसी, सिपी मैनाली र कमल थापाभन्दा तीन कदम अगाडि बढेर राष्ट्रवादी भइटोपलेका हालका प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति स्वर्गवासी मदन–आश्रितद्धयको दृष्किोण कस्तो बनेको होला ?
हुन त केपी ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष भएकै वेलामा नेपालकै दुई ठूला कम्युनिस्ट पार्टीहरू (एमाले) र (माके) एकीकृत भएर नेकपा भएको छ । यसरी हेर्दा भित्री वा बाहिरी पाटो जेजस्तो भए तापनि नेपालको राजनैतिक इतिहासमा सबैभन्दा धेरै जनमत प्राप्त राजनैतिक पार्टी र सरकार पनि यही दुई पार्टीहरूको एकीकरणपछि गठन भएको छ ।
प्रतिक्रिया