नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्दै पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्रले नेपाल कम्युनिस्ट पार्टी बनाएको घोषणा गरेका छन् । छरिएर रहेका कम्युनिस्टहरूलाई एउटै छातामुनि ल्याउने उद्देश्यका साथ विगत लामो समयदेखि छुट्टाछुट्टै संगठन चलाइरहेका दुई ठूला पार्टीहरू एकै भएको घोषणा गरेका हुन् ।
पार्टी स्थापनाको ६९ वर्षमा कम्युनिस्ट पार्टीहरू झन्डै दुई दर्जनको संख्यामा विभाजन भएका छन् । ०६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीमा चार वर्षदेखि नै विभाजनको बिउ रोपिएको थियो । तर, ०१९ सालतिर आएर पार्टी पहिलोपटक औपचारिक रूपमा विभाजन भएको थियो ।
एमाले–माओवादीको इतिहासमा भने करिब पाँच दशकको सम्बन्धविच्छेदपछि पुनर्मिलन भएका हुन् । पार्टी एकता गरेका यी दुई प्रभावशाली वाम पार्टी ५५ वर्षपछि सगोलमा आएका हुन् । यी दुई वाम शक्ति ०१९ सालको तेस्रो महाधिवेशनपछि दुई धारमा विभाजित भएका थिए । त्यसपछि लगातार रूपमा कम्युनिस्ट पार्टीहरू विभाजनको शृंखलामा रहिरहेका थिए ।
एमालेको इतिहास
तेस्रो महाधिवेशनमा पुष्पलाल श्रेष्ठले नेतृत्व गरेको समूहको विकसित पार्टी नै एमालेको धार हो । यो समूहले पनि कैयौँ टुटफुटको शृंखला बेहोरेको थियो । यही समूहबाट ०२७ सालमा झापा जिल्ला कमिटीले विद्रोह गरी ‘झापा सशस्त्र विद्रोह’ गरेको थियो । त्यहीँबाट पूर्व एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीति गरेका थिए ।
०३२ सालमा कोअर्डिनेसन कमिटी (कोके) बनेको थियो । त्यही समूह ०३५ मा नेकपा (माले) बनेको थियो । ०३५ सालमा मुक्ति मोर्चा, पूर्वको रातो झन्डा र पश्चिमको रातो झन्डा (सन्देश) समूहको पनि मालेसँग एकता भएको देखिन्छ । पुष्पलाल समूहमा ०३० सालमा अर्को विभाजन आयो । नेकपा (पुष्पलाल), मजदुर किसानसभा र नेपाल मजदुर किसान संगठन गरी तीन समूह बन्यो ।
पुष्पलाल समूहमा पनि ०३३ सालमा फेरि पुष्पलाल समूह, मुक्ति मोर्चा र सर्वहारा क्रान्तिकारी संगठन नेपालका नाममा विभाजन आएको देखिन्छ । त्यसमध्ये ०३६ सालमा मनमोहन अधिकारीको नेतृत्वमा गठित नेकपा, सहाना प्रधानको पुष्पलाल समूहको एकता ०४३ सालमा भएपछि नेकपा (माक्र्सवादी) बन्न पुग्यो । नेपाल मजदुर किसान संगठनका नाममा रहेको संगठन पनि विभाजन भएको थियो ।
त्यसमध्ये एउटा समूह नेपाल मजदुर किसान समिति र अर्को नेपाल मजदुर किसान संगठनका रूपमा विभाजन भयो । ०३१ सालमा नारायणमान बिजुक्छे (रोहित) को समूहले नेपाल मजदुर किसान संगठनलाई पार्टीको रूपमा अघि बढायो, जुन समूह अझैसम्म अस्तित्वमा रहेको छ । किसान समिति र ०३४ मा गठन भएको सर्वहारा कम्युनिस्ट लिगबीच ०४० मा एकता भएपछि सर्वहारावादी श्रमिक संगठन बन्यो ।
त्यसको बहुमत पक्षले मालेसँग र अर्को पक्षले रुपलाल विश्वकर्मासहित एकता केन्द्रतिर एकता गरेको इतिहास छ । त्यसपछि ०४७ सालमा माले र माक्र्सवादीबीच पार्टी एकता भएपछि एमाले बनेको हो । तर, एमालेमा पनि ०५४ सालमा विभाजन आयो । सहाना प्रधान, वामदेव गौतम, सिपी मैनालीलगायतले त्यसबेला एमाले विभाजन गरे । ०५८ मा गौतमसहित अधिकांश हिस्साले पुनः एमालेसँगै पार्टी एकता ग¥यो । सिपी मैनाली भने फर्केनन् । उनले मालेलाई नेतृत्व गरिरहे ।
माओवादी केन्द्रको इतिहास
पुष्पलाल समूहलाई आरोपित गर्दै अलग भएका मोहनविक्रम सिंह, मोहन वैद्य, निर्मल लामाहरूले नेतृत्व गरेको धारकै विकसित रूप हो, माओवादी केन्द्र । पुष्पलाल समूहसँग विभाजित भएपछि यो समूहलाई चौथो महाधिवेशनका रूपमा चिनिन्थ्यो । यसभित्र पनि ०३० सालयता विभाजनको अनगिन्ती शृंखला जोडिएका छन् । ०३० मा नेकपा (मशाल) र नेकपा (चौम) का रूपमा विभाजन भयो । मोटो मशालमा पनि लगत्तै मोहनविक्रम र मोहन वैद्यले अलग–अलग समूह बनाए ।
वैद्यले मोटो मशाल र सिंहले पातलो मसालका नाममा पार्टी चलाए । यसमा बढीजसो मोहनविक्रम सिंहबाट नेताहरूले पार्टी विभाजन गर्ने क्रम चलिरह्यो । सिंहबाट फेरि बाबुराम भट्टराई, हरिबोल गजुरेललगायतले विद्रोह गरे । त्यसपछि ०४७ सालमा नेकपा (चौम) नेकपा (मशाल), रुपलाल समूहको सर्वहारा श्रमिक संगठन र विद्रोही मसालबीच एकता भई नेकपा एकता केन्द्र गठन भयो ।
सशस्त्र युद्धको तयारी गर्ने गरी गठन भएको उक्त पार्टी युद्धमा जाने÷नजाने विषयमा पक्ष–विपक्ष भएपछि ०५१ सालमा विभाजन आयो । पुष्पकमल दाहाललगायतले नेकपा (माओवादी) र नारायणकाजी श्रेष्ठलगायतले एकता केन्द्र नै रहने गरी अलग पार्टी गठन गरे । मोहनविक्रम र नारायणकाजीबीच ०५९ सालमा पार्टी एकता भयो र पार्टीको नाम नेकपा एकता केन्द्र मसाल रह्यो । त्यसअघि पुनः मोहनविक्रमसँग दिनानाथ शर्माको नेतृत्वमा अलग्गै विद्रोही मसाल गठन गरेर माओवादीसँग एकता गरे ।
युद्धमा रहेको माओवादीले पनि ०६० सालमा गोपाल किरातीलगायत सम्मिलित किरात वर्कर्स पार्टीसँग एकता गर्यो । ०५९ मा एकता गरेको मोहनविक्रमको नेकपा (मसाल) मा ०६० मा पुनः विभाजन आयो । उनले नेकपा (मसाल) र नारायणकाजीले एकता केन्द्र मसाल पार्टी नाम राखे । एकता केन्द्र मसालले पछि माओवादी शान्ति प्रक्रियामा आएपछि ०६५ सालमा पार्टी एकता गर्यो । मोहनविक्रम नेतृत्वको पार्टी अझै अलग्गै समूहका रूपमा छ ।
राष्ट्रिय जनमोर्चाको नाममा रहेको यस पार्टी अझै पनि संघीयताको विपक्षमा उभिएको छ । ०६५ सालमा एकता केन्द्र मसालसँग पार्टी एकतापछि माओवादीमा पनि विभाजन र एकताको शृंखला चलिरह्यो । एकता केन्द्रसँग पार्टी एकता गरेर नाम परिवर्तन गर्ने भएपछि मातृका यादवले पार्टी छाडेर पुरानो पार्टी आफूले चलाए । पुष्पकमल दाहालयलगायतको पार्टी एकीकृत माओवादी बन्न पुग्यो ।
यसबीच माओवादीले साना समूहमा रहेका केशव नेपालको नेकपा ०६ लाई ०६३ सालमा, संयुक्त लोकतान्त्रिक मोर्चा डा. राममान श्रेष्ठको समूहलाई ०६३ मै, कृष्णदास श्रेष्ठको नेकपा (मालेमा केन्द्र), नेमकिपाबाट विद्रोही बनेका हर्कबहादुर शाही समूहलाई ०६४ मा पार्टीमा मिलायो । ०६५ मा विद्रोही मसालबाट आएका हुकुमबहादुर सिंह, नेकपा (संयुक्त) का डा. लोकेन्द्र शर्मा, नेकपा (एकीकृत) का कृष्ण भुजेल, ०६६ मा नेकपा (माले) बाट विद्राही बनेकादेखि ०६७ मा नयाँ जनवादी मोर्चालाई पार्टीमा मिलाउने काम भयो ।
मोहनविक्रमतर्फ भने विभाजनको शृंखला नै थियो । ०६३ मा रामसिंह श्रीषले पार्टी विभाजन गरे । उक्त समूहले नेकपा (एकीकृत) बनायो । नवराज सुवेदी समूहले ०६७ मा छुट्टै पार्टी बनाई माओवादीसँग एकता गर्यो । ०६९ मा उक्त समूहमा व्यापक विभाजन देखियो । व्यक्तिपिच्छे नेताहरूले अलग्गै पार्टी घोषणा गर्ने र विभाजन भएको घोषणा गर्ने क्रम चलिरह्यो ।
लोकनारायण सुवेदीले संयुक्त माक्र्सवादी, ऋषि कट्टेलले नेकपा, जगत बोगटीले नेकपा (माले समाजवादी), हरिदेव ज्ञवालीले माक्र्सवादी कम्युनिस्ट पार्टी, दिनेश खातीले नेकपा (माले) समूह, गण्डकी धौलागिरि माले समूहलगायत पनि देखापरे । ०६९ सालमा एकीकृत माओवादीमा ठूलो विभाजन भयो । मोहन वैद्य, रामबहादुर थापा, नेत्रविक्रम चन्द विप्लवलगायत नेताले पार्टी विभाजन गरी नेकपा–माओवादी गठन गरे ।
वैद्यको पार्टीमा पनि नेत्रविक्रम चन्दले फेरि पार्टी विभाजन गराए, ०७० मंसिरमा । वैद्यको समूहबाट रामबहादुर थापा, मणि थापाको अलग्गै क्रान्तिकारी कम्युनिस्ट पार्टी, मातृकाको नेकपा (माओवादी) लगायत छरिएका माओवादीबीच पुनः ०७३ मा पार्टी एकता भयो । पार्टीको नाम नेकपा (माओवादी केन्द्र) भएको थियो । वैद्य नेतृत्वमा रहेको पार्टी नेकपा (क्रान्तिकारी माओवादी) मा पनि रामसिंह श्रीष, सीताराम तामाङलगायतले एकता गरेका छन् ।
वैद्यको माओवादी र चन्दको कम्युनिस्ट पार्टी छुट्टै अस्तित्वमा छन् । मुख्य वाम शक्तिहरू एमाले, माओवादी केन्द्रले पार्टी एकताको सैद्धान्तिक सहमति गरी एउटै कम्युनिस्ट केन्द्र बनाए पनि अझै यो अभियान बाहिर आधा दर्जनभन्दा बढी कम्युनिस्ट पार्टी छन् । ०१९ सालको तेस्रो महाधिवेशनमा निष्काशनमा परेका केशरजंग रायमाझी समूहबाट विभाजनको शृंखला बेहोर्दै विकसित भएको नेकपा (संयुक्त) ले माओवादी केन्द्रसँग पार्टी एकता गरिसकेको छ ।
रायमाझी समूहले ०२४ सालमा पुनर्गठन गरेको उक्त समूहमा ०३८ सालमा विभाजन भई नेकपा (मानन्धर) र नेकपा (रायमाझी) समूहमा विभाजन भएका थिए । रायमाझी समूहमा पनि बर्मा समूहको विभाजन हुँदै ०४७ सालमा नेकपा (प्रजातान्त्रिक) ०४८ हुँदै प्रजातान्त्रिक बर्मा समूह, अमात्य र मानन्धर समूहबीच एकता भई नेकपा (संयुक्त) बनेको थियो ।
प्रतिक्रिया