फुटपाथ व्यापारमा विदेशीहरू पनि

‘देशका विभिन्न स्थानहरूबाट मात्र नभइ विदेशीहरू पनि उपत्यकामा आएर फुटपाथ पसलहरू राखेर व्यापार गरिरहेका छन् पछिल्लो समयमा त भारतीयहरूले मात्रै होइन चिनियाँ नागरिकहरूले समेत उपत्यकाको विभिन्न स्थानहरूमा फुटपाथमा व्यापार गरिरहेका छन् तर राज्यले भने आँखा चिम्लिरहेको छ’

-नरेन्द्रमान श्रेष्ठ  काठमाडौं महानगरपालिकाले महानगरभित्र अस्तव्यस्त अव्यवस्थित रूपमा सडक र फुटपाथ अतिक्रमणगरी राखिएका पसलहरू हटाउने अभियान थालेको घोषणा गरेको छ । तर, महानगरपालिकाले फुटपाथ हटाउने अभियानले निरन्तरता पाउला वा फुटपाथ पसलहरू पूर्ण रूपमा हटाउला ? भन्नेमा भने महानगरवासीहरूले शंका गर्न थालेका छन् । यस्तो अभियान विगतमा पनि पटकपटक नभएका होइनन् ।

खोइ त फुटपाथ पसलहरू व्यवस्थित भएका ? फुटपाथ पसलहरू त झन् बढेको बढै छन् । मुलुकभरी करिब चार लाख र काठमाडौं उपत्यकामा मात्रै १० हजारभन्दा बढी फुटपाथ पसलहरू रहेको बताउँछन् सरोकारवालाहरू । महानगरको त्यस्तो स्थान जहाँ मानिसहरूको अत्यधिक भिड हुने गर्छ त्यहीँ फुटपाथ पसलहरू राख्ने गरिएका छन् । जसका कारण पैदल यात्रीहरूलाई समस्या देखिएको छ ।

पाकेटमारी चोरी तथा दुर्घटना बढेको छ । उपत्यकाका भिडभाड हुने स्थानहरू सुन्धारा, नयाँबानेश्वर, रत्नपार्क, नयाँ सडक, मखन, पाटन, लगनखेल, कोटेश्वर, चाबहिल, गौशाला, बसपार्क आदि स्थानहरूमा फुटपाथ पसलहरू बढेको बढ्यै देखिन्छ । विश्व सम्पदास्थल हनुमानढोका दरबार स्क्वायर आदि स्थानहरूमा समेत बेलुका फुटपाथ पसलहरू राखेर यात्रुहरूलाई असुविधा पारिएको छ ।

ट्राफिक जामको समस्या पनि बढेको छ । फुटपाथे व्यापारीहरूका कारण पर्यटकीय सम्पदास्थल नै कुरूप बनेका छन् । उपत्यकामा दिनकादिन फुटपाथ पसलहरू बढेको बढ्यै छ । देशमा नेताहरूको सम्पति बढेजस्तै महँगी बढेजस्तै, भ्रष्ट्राचार अनिमियता, सांसद जनप्रतिनिधिहरूको तलबभत्ता बढे जस्तै, देशको, ढुकुटी स्वाहा गर्ने प्रवृत्ति बढेजस्तै, नेताहरूले फटाहा फटाहा भाषण गर्ने बढेजस्तै फुटपाथ पसलहरू बढिरहेका छन् ।

नेपालमा एउटा उखान छ जहाँ गाडी नहिँ पहुँचा वहाँ …… पहुँचा भनेजस्तै फुटपाथ पसल व्यापारीहरू जहाँतहीँ पुगिसकेका छन् । महानगरका बजार सडक फुटपाथ, सम्पदास्थलहरूमा मात्र नभई पार्क, बसपार्क मानिसहरूका लागि बाटो काट्न बनाइएका आकाशे पुलहरूमा महानगरको सडक पेटी बजार, मन्दिर, गल्लीगल्लीमा समेत पसल राख्न भ्याइसकेका छन फुटपाथे व्यापारीहरूले ।

तर, महानगरपालिकाले यसलाई व्यवस्थित गर्न सकिरहेको छैन । समयसमयमा यसलाई व्यवस्थित गर्छु भनेर तम्सिन्छन् तर जहिले पनि ‘टाँय टायँ फिस’ भनेजस्तै मात्र भइरहेको छ । महानगरका पदाधिकारिहरू नै फुटपाथ पसलहरू व्यवस्थित गर्न चाहिरहेका छैनन् कि भन्ने आशंकासमेत उत्पन्न भएको छ ।

कतिपय महानगरका प्रहरीहरू र फुटपाथ व्यापारीहरूको बीच तालमेल लेनदेनसमेत भएको पनि बताउँछन् सरोकारवालाहरू । यसकारणले पनि महानगरका प्रहरी र फुटपाथका व्यापारीबीच चोर पुलिसको खेलजस्तै भइरहेको पनि बताउँछन् कतिपय सरोकारवालाहरू । अहिलेको फुटपाथ पसल हटाउने अभियान पनि विगतको जस्तो ‘म कुटेजस्तो गर्छु तँ रोए जस्तो गर्’ भनेजस्तो त हुने होइन ?

पछिल्लो समयमा उपत्यकामा जनसंख्याको चाप बढ्दै छ । उपत्यका देशको राजधानी भएको कारणले देशका विभिन्न स्थनहरूबाट विभिन्न कारणले राजधानी प्रवेश गर्नेहरूको संख्या हरेक वर्ष बढेको छ । देशका विभिन्न स्थानहरूबाट मात्र नभई विदेशीहरू पनि उपत्यकामा आएर फुटपाथ पसलहरू राखेर व्यापार गरिरहेका छन् पछिल्लो समयमा त भारतीयहरूले मात्रै होइन चिनियाँ नागरिकहरूले समेत उपत्यकाको विभिन्न स्थानहरूमा फुटपाथमा व्यापार गरिरहेका छन् ।

तर, राज्यले भने आँखा चिम्लिरहेको छ । देशका विभिन्न स्थानहरूबाट राजधानी छिर्नेहरूको लागि त फुटपाथ पसल रोजगारीको माध्यम बनिरहेको छ । कम पुँजी भए पुग्ने भाडा तिर्न नपर्ने व्यापार पनि मनग्य हुने आदि कारणले फुटपाथ पसलहरू बढिरहेको हो भन्दा पनि फरक नपर्ला । तर, रोजगारीका लागि भनेर अरूलाई असुविधा र समस्या हुने गरी जहाँतहीँ व्यापार पनि त गर्न भएन नि । फुटपाथमा पसल राखेर व्यापार गरिएका कारण सरकारले राजस्व पनि पाइरहेको छैन ।

फुटपाथका व्यापारीहरूले न आय कर तिर्न पर्छ न भ्याट नै तिरेका छन् न घरबहाल कर नै तिर्नपर्छ फुटपाथ व्यापारको कारणले राज्यलाइ पनि नोक्सान भइरहेको छ । फुटपाथ व्यापारीहरूले भिडभाड हने व्यस्त सडक बजार चोकहरूमा पसलहरू राख्ने भएकोले हुनाले यसले बटुवाहरूलाइ ठूलै समस्या पारेको छ । मानिसहरू हिँड्ने फुटपाथमा पसल राखेर व्यापार गर्नाले बुटवाहरू गाडी गड्ने सडकबाट हिँड्न परिरहेको छ ।  यसले ट्राफिक जामहुने र दुर्घटना हुने गरेको छ ।

कतिपय अवस्थामा बटुवाहरू र फुटपाथे व्यापारीहरूबीच ठाकठुक भनाभनसमेत हुने गरेको छ । त्यसो त उपत्यकाका सडक फुटपाथहरूमा मात्र नभई आकाशे पुलहरूमा समेत पसलहरू राखी बटुवाहरूलाइ निकै सास्ती दिने काम भइरहेको छ । फुटपाथ पसलहरू बढ्नुको कारण राजनीतिसँग पनि जोडिएको छ । पछिल्लो समयमा राजनितिक दलहरूका गतिविधि राजधानी केन्द्रित भइरहेका कारणले पनि उपत्यकामा जनसंख्याको चाप बढिरहेको छ ।

कतिपय राजनीतिक कार्यकर्ताको रूपमा राजधानी छिरेकाहरूको लागि रोजगारीको सजिलो माध्यम भनेको फुटपाथ पसल व्यापार नै हो भन्दा पनि फरक नपर्ला । उपत्यकामा फुटपाथमा व्यापार गर्ने फुटपाथ पसलेहरू राजनीतिक दलका कार्यकर्ता भएको कारणले पनि राजनितिक दलहरू फुटपाथ पसलहरूलाई हटाउने मामिलामा त्यतिचासो दिँदैनन् र हटाउन नदिएको भनेर पनि भन्ने गरेका छन् ।

उपत्यकाका सहर बजार सडक चोक फुटपाथ अतिक्रमण गरी आवतजावत गर्नेलाई असुविधा हुने गरी सहर बजार नै अस्तव्यस्त कुरूप देखिने गरी जहाँतहीँ जथाभावी फुटपाथ पसल राख्ने व्यापार गर्नेलाई व्यवस्थित गर्ने व्यवस्थापन गर्ने पहिलो जिम्मवारी भनेको महानगरपालिकाहरूको हो । यस कामको अभियानमा स्थानीयवासीहरूले पनि आपूmले सक्दो सहयोग गर्नुपर्ने आवश्यकता छ ।

प्रतिक्रिया