‘कुल ३० खर्बको अर्थतन्त्र भएको हाम्रो मुलुक नेपालको भारतसँग मात्रै वार्षिक ६ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा छ । यो व्यापार घाटा कम गर्ने भरपर्दो विकल्प भनेको धेरैभन्दा धेरै भारतीय पर्यटक नेपाल भित्र्याउनु नै हो ’
विमन लिम्बू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यस पटकको नेपाल भ्रमणका अन्य ठोस उपलब्धि नदेखिए पनि पर्यटनको क्षेत्रमा भने ठोस उलब्धिका संकेतहरू देखिइसकेका छन् । मुलुकका मख्य धार्मिक तीर्थस्थलमध्ये जनकपुर र मुक्तिनाथको प्रचारलाई मोदीको भ्रमणले विश्वव्यापी बनाएको छ ।
अर्बाैं रुपैयाँ खर्च गर्दा पनि हुन नसक्ने पर्यटन प्रवद्र्धन मोदीको यो भ्रमणले गरेको छ । विगतमा आर्थिक र व्यापारिक नाकाबन्दी लगाएर नेपाली मुटुमा चोट पुर्याएका भारतीय प्रधानमन्त्री मोदीले दुखेको घाउमा मल्हमपट्टी लगाउने प्रयास गरेको बुझाइ पर्यटन व्यवसायीको छ ।
मोदीले रामायण सर्किटको मात्रै होइन, बुद्धिस्ट सर्किटको कुरा पनि गरेका छन् । यसले पनि पर्यटन विकासमै सघाउँछ । मोदीले रामजानकी, मुक्तिनाथ र पशुपतिनाथको दर्शन मात्रै गरेनन्, नेपालको तीर्थविना भारतको तीर्थ अपुरो, अधुरो हुन्छ भन्ने सन्देश पनि फैलाए । यसले धार्मिक पर्यटनको सम्भावना झन् बढाएको छ ।
काठमाडौंमा रेलवे लाइन जोड्ने, जनकपुर अयोध्य सिधा मैत्री बस चल्ने कुराले नेपालीहरू खुसी भएका छन् । मोदीले आफ्नो अनुहारमा लागेको दाग आफैँ हटाउने प्रयास गरेकोमा पर्यटन व्यवसायीहरूले धन्यवाद दिएका छन् । अझ उनले विगतको गलत निर्णयप्रति पश्चातापका दुई शब्द बोलिदिएको भए नेपाली जनता हर्षित हुने थिए ।
नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २००३ मा चीनबाट ७ हजार ५ सय ६२ पर्यटक नेपाल आउँदा भारतीयहरू ८६ हजार ३ सय ६३ जना आएका थिए । सन् २००३ को संख्या बढेर सन् २०१४ मा आइपुग्दा चिनियाँ पर्यटक एक लाख २३ हजार ८ सय ५ पुगेका थिए । जुन एक दशक पार गर्दा १६ गुणाले बढी हो । सन् २०१२ मा एक लाख ६५ हजार ८ सय १५ भारतीय पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
उक्त संख्या सन् २०१६ को भन्दा ४२ हजार ५ सय ८३ ले बढी हो । यो वृद्धिदर स्थिर रहेमा सन् २०१८ मा दुई लाखभन्दा बढी भारतीय पर्यटक नेपाल आउने प्रक्षेपण गरिएको छ । भारतसँग हुने व्यापारमा नेपालले वर्षौंदेखि घाटा बेहोर्दै आएको छ । अर्थात् भारतसँग नेपालको व्यापार अति नै असन्तुलित छ । नेपाल–भारत व्यापार भारतको पक्षमा मात्र छैन, नेपालसँग रहेको व्यापारको आफ्नो बलियो स्थितिलाई राजनैतिक सौदेबाजीको अचुक तिरको रूपमा पनि प्रयोग गर्दै आएको छ ।
नेपालको राष्ट्रिय एवं केन्द्रीय राजनीतिमा दबाब सिर्जना गर्न वा नेपालले गर्ने ठूला–ठूला आन्तरिक वा बाह्य निर्णयमा प्रत्यक्षरूपले हस्तक्षेप गर्न पनि भारतले आफ्नो बलियो व्यापारिक स्थितिलाई प्रयोग गरिरहेको छ । आन्दोलनको बहानामा, यी वस्तुहरूको आपूर्ति बन्द पनि गर्दै आएको छ । ०४७ सालपछिको स्थितिमा त नेपालका नेताहरूले केन्द्रीय राजनीतिमा आफ्नो स्थान बलियो बनाउन, सत्ता प्राप्त गर्न, चुनाव जित्न र शक्तिमा निरन्तर बसिरहन भारतको शरणमा जानुपर्ने भएको छ ।
नेपालका नेताहरूले भारतीय शक्ति केन्द्रहरूलाई दाम राखेर ढोग्नुपर्ने समेत भएको छ । र यो नयाँ स्थितिको सिर्जना नेपालका नेताहरूको कमजोरीको कारणले गर्दा भएको हो । अर्को किसिमले हेर्ने हो भने नेपालका नेताहरूलाई भारतीय कुटिल रणनीतिले कमजोर पारेको हो । भारतसँगको व्यापार घाटालाई यथास्थितिमा रहन दिने हो भने नेपालको आर्थिक समृद्धि तथा विकासको कल्पना नगरे हुन्छ ।
कुल ३० खर्बको अर्थतन्त्र भएको हाम्रो मुलुक नेपालको भारत सँग मात्रै वार्षिक ८ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा छ । यो व्यापार घाटा कम गर्ने भरपर्दो विकल्प भनेको धेरै भन्दा धेरै भारतीय पर्यटक नेपाल भित्र्याउनु नै हो । नेपालको भारतसँगको व्यापार घाटा चिन्तनीय स्थितिमा छ । नेपालले एक सय रुपियाँ बराबरको वस्तु वा सेवा भारतलाई निर्यात गर्दा भारतले नेपाललाई एक हजार रुपियाँ बराबरको वस्तु वा सेवा निर्यात गरिरहेको छ ।
यो भिन्नता ज्यादै ठूलो हो । तर प्रश्न ठूलो भिन्नताको मात्र छैन, मूल प्रश्न के छ भने के नेपाल सधैँभरि भारतको बजार बन्ने र जीवन निर्वाहका लागि आवश्यक पर्ने प्रत्येक वस्तु (ऊर्जा, औषधि, खाद्यान्न आदि) का लागि भारतको शरणमा पर्ने । नुन, तेल, चामल, दाल, फलपूmल, तरकारीजस्ता आधारभूत आवश्यकताका वस्तुहरू राष्ट्रिय खपतका लागि चाहिने परिमाणमा समेत पनि नेपालले उत्पादन गर्न सक्तैन ।
यस किसिमका वस्तुहरू निरन्तर भारतबाट ठूलो परिमाणमा आयात गर्नुपरिरहेको छ । कुनै पनि मुलुकले आफुलाई आवश्यक पर्ने सम्पूर्ण वस्तु एवं सेवा स्वयंले उत्पादन गर्न सक्तैन र लागत एवं स्रोतका दृष्टिकोणले त्यस्तो गर्न सक्नु सम्भव पनि हुँदैन । यो आधुनिक व्यापारिक युगमा संसारका लगभग सम्पूर्ण राष्ट्रले विदेशी बजारबाट विभिन्न वस्तु र सेवा खरिद गर्नुपर्छ र गरिरहेका छन् ।
अमेरिकाजस्तो धनी देशले समेत आफ्नो मुलुकलाई आवश्यक पर्ने सम्पूर्ण वस्तु एवं सेवा उत्पादन गर्न सक्तैन र विभिन्न वस्तु एवं सेवा विदेशबाट खरिद (आयात) गर्छ । तर नेपालको स्थितिमा भने निकै ठूलो अन्तर छ । नेपालले स्वदेशमा सस्तोमा उत्पादन गर्न सकिने वस्तु तथा सेवासमेत उत्पादन गर्दैन । भारप्रतिको अति निर्भरता कम गर्न चाहँदैन । यो स्थिति ल्याउन नेपालका नेताहरू मात्र होइन, सामान्य नागरिक पनि जिम्मेवार छन् ।
यो समस्यालाई जनताले सरकारको समस्या भन्दै पन्छिदै आएको छ । सरकारले वास्ता गरेको छैन, गम्भीरतापूर्वक लिएको छैन । भारत विश्वकै आर्थिक महाशक्तिको रूपमा उदाइरहेको वर्तमान अवस्थामा, नेपालले भारतलाई सामान्य किसिमका वस्तु एवं सेवाहरू निर्यात गरेर व्यापार घाटा कम पार्न सक्तैन । र सामान्य किसिमका वस्तु एवं सेवाहरू उत्पादन एवं निर्यात गरेर भारतसँगको व्यापार घाटा कम पार्न सकिन्छ भनी सोच्नु पनि ‘दिवास्वप्न’ मात्र हुनेछ ।
भारतसँगको व्यापार घाटा कम पार्न नेपालले विशेष किसिमका योजनाहरू ल्याउन जरुरी छ । अर्थात् नेपालले खास किसिमका वस्तु एवं सेवा उत्पादन गर्न आवश्यक छ । सन् २०१७ मा प्रकाशित तथ्याङ्क अनुसार अमेरिका, चीन, जापान, जर्मनी, संयुक्त अधिराज्य, फ्रान्स, भारत, इटाली, ब्राजिल र क्यानाडा क्रमशः एकदेखि दशौँ (विश्वका) बृहत् अर्थ व्यवस्था हुन पुगेका छन् ।
अमेरिका सन् १८७१ देखि नै विश्वको सर्वाधिक बृहत् अर्थ व्यवस्था भएको मुलुकका रूपमा रहँदै आएको छ । पछिल्लो समयमा भारतले भने आर्थिक विकासको क्षेत्रमा नयाँनयाँ उदाहरणहरू र कीर्तिमान कायम गर्दै चमत्कारी किसिमले आर्थिक प्रगति गरेको छ । सूचना प्रविधिको क्षेत्रमा सस्तो उत्पादन गर्नमा त भारत विश्वमा नै अग्र स्थानमा छ ।
भारत अहिले विश्वको सातौँ ठूलो अर्थतन्त्र मात्र हुन पुगेको छैन, आफ्नो वार्षिक कुल गार्हस्थ उत्पादनलाई लगभग ९ ट्रिलियन डलर तुल्याएर गार्हस्थ उत्पादन सर्वाधिक हुने विश्वको तेस्रो ठूलो देश हुन पुगेको छ । भारतले युरोपियन राष्ट्रहरूले जस्तै आफ्नो कृषिप्रतिको अति निर्भरतालाई क्रमिक रूपमा कम पार्दै लगेको छ ।
र सेवा उत्पादनको क्षेत्रमा भने अति नै प्रगति गरेको छ । भारतको कुल गार्हस्थ उत्पादनमा कृषि १७, उद्योग २६ र सेवा क्षेत्रको ५७ प्रतिशत योगदान रहेको छ । यसको अर्थ हो भारतमा मध्यम वर्गीय नागरिकहरूको संख्या बढ्दो छ । भारतको १ अर्ब ३० करोड जनसंख्यामध्ये करिब ३० प्रतिशत जनसंख्याका उच्च वर्गमा पुगेको छ भने करिब ३० प्रतिशत जनसंख्या मध्यम वर्गमा पुगेको छ ।
यो जनसंख्या नै नेपालको पर्यटन विकासका लागि पुँजी हुन सक्छ । हरेक वर्ष १ प्रतिशत भारतीयहरूले नेपाल भ्रमण गरे भने पनि भारतसँगको व्यापार घाटा करिब करिब समाप्त हुन्छ ।
प्रतिक्रिया