जोशीका पुर्खा
नेवार जातिलाई पहिला नेवाल भनिन्थ्यो । क्रमशः ल हटेर यो जाति नेवाः या नेवार हुन थाल्यो । यो जातिले नेपाली माटोमा प्राचीनकालदेखि नै जरा गाडेको हो । भनौँ, नेवार काठमाडौं उपत्यकाका आदिवासी हुन् । नेपालको प्रथम राजवंश गोपालवंश हो र गोपालवंश पहिलो नेवार जातिको समुदाय हो । यस वंशले करिब ५ सय वर्ष राज्य चलायो । नेवार समुदायको पुर्खाचाहिँ ज्यापू नै हुन् ।
मल्ल कालदेखि नै नेवारी भाषालाई नेपाल भाषा भन्न थालियो । नेवारी लिपिचाहिँ इस्वी संवत् दसौँ शताब्दीबाट देखा परेको हो । सत्यमोहन जोशी आफूलाई परम्परावादी नेवार मान्छन् । उनी जनै लगाउँछन् र गायत्री मन्त्र जप नगरी अन्न खाँदैनन् । उनका बाजे नरसिंहराज जोशी काठमाडौंका आदिवासी थिए । उनी पनि धर्म–संस्कृतिका कट्टर थिए ।
सत्यमोहन जोशीका बुबा पनि धर्म–संस्कृति र जातीयताका पक्षपाती थिए । उनी राणाका घरेलु कामदार थिए । उनी लेखन्दासको पनि काम गर्थे । एउटा मुद्दामा परेर उनी सर्वनास पनि भए । तर, अनेक संघर्ष खेपेर धेरै पछि उनले एउटा थोत्रो घर किने । अनि त्यसै वर्ष प्रथम सन्तानका रूपमा सत्यमोहन जोशी जन्मे ।
जोशीको जन्म :
सत्यमोहन जोशीको जन्म १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा भएको थियो । सानामा यी अति चकचके थिए । पिट्दा कुट्दा पनि नभएपछि यिनलाई घरमा नै बाँधेर राखिन्थ्यो । त्यसो नगेको भए यिनी इनारमा पनि फाल हान्न सक्थे र घरको धुरीबाट पनि हाम फाल्न सक्थे । तर, त्यतिखेर यी लाटा थिए । यिनका कुरा बुबा आमाले इसारामा बुझ्नुपथ्र्याे ।
पाँच वर्षसम्म पनि बोली नफुटेकाले यिनलाई भक्तपुरको सूर्यविनायकको जंगलमा छाडिएको थियो । त्यसवेला जंगलमा एक्लो भएको अनुभूति भएपछि जोशी ‘माँ, ए माँ !’ भनेर चिच्याएका थिए । जोशीले सात वर्षको उमेरमा नेवारी भाषाको प्रथम अक्षर लेखे । १० वर्ष पुगेपछि यिनले नेपाली भाषा बाल्न थाले । तर, उनी त्यो भाषा बोल्न राम्ररी जान्दैनथे । त्यसैले, उनी नेवारीमा मात्र बोल्थे ।
जोशीको बिहे र सन्तान :
जोशीले १९ वर्षको हुँदा गणेशबहादुर पात्रवंशकी १४ वर्षकी छोरी राधादेवीसँग बिहे गरे । पात्रवंशचाहिँ जोशी परिवारका छिमेकी थिए र उनको व्यवसाय कपडा पसल थियो । जोशी दम्पतीबाट चार छोरा अणु, डा. हेमन्त, खगेन्द्र र डा. पूर्ण अनि चार छोरी नर्वदा, कावेरी, दिलकुमारी र खड्गलक्ष्मी जन्मे ।
जोशीको शिक्षा :
जोशीले नेवारी भाषाबाट शिक्षारम्भ गरे । लाटा–लठेब्रा र सोझा भएकाले उनको पढाइ सुस्तरी नै भयो । सानामा उनलाई पढ्नै मन लाग्दैनथ्यो । मास्टरको कुटाइ र साथीहरू पनि नेवारीमा बोल्ने नभएपछि उनी स्कुलैजाँदैनथे ।
जोशी स्कुल गए पनि पाठ बुझाउन सक्तैनथे । त्यसैले, गुरुहरूले पनि उनका दुइटै कान समाएर उचाल्दै ‘मामा घर देखिस् ?’ भन्थे । त्यतिले नपुगेर उनी हरदिन बेतका लौराबाट कुटिन्थे ।
उनका कन्सिरी तान्नुदेखि कान समाएर सयपल्ट उठबस गराउनु उनका गुरुहरूको नित्यकर्म मानिन्थ्यो । अनेक दुःखकष्ट र पीडा खेपेर जोशी दरबार स्कुल पुगे । त्यसवेला त्यहाँ रुद्रराज पाण्डे हेडमास्टर थिए । त्यहाँ उनले लेखनाथ पौडेल र भानुभक्त आचार्यका कविता पढे ।
त्यसवेला उनलाई पढाउने प्रमुख गुरु पं. वासुदेव भट्टराई थिए । त्यहाँ पनि उनको कान पड्काइने, कन्सिरी तानिने र उनले मुड्की खाने काम भइरह्यो । त्यसवेलाको मास्टरी पिटाइ खाएर उनी स्कुलप्रतिको वितृष्णामा थिए । वासुदेव भट्टराईले एक मुड्की दिँदा उनी पछारिन्थे । सबै गुरुको मरणासन्न पिटाइ खाएर पनि उनले त्यहाँबाट म्याट्रिक गरे ।
जोशीले त्रिचन्द्र कलेजबाट १९९८ सालमा आइए पास गरे । त्यसपछि उनी बिएको कक्षामा सरिक भए, तर उनले त्यस कक्षालाई पार लाउन भने सकेनन् ।
जोशीको साहित्यप्रवेश :
म्याट्रिक पास हुनुअघिसम्म जोशीले कुनै स्रष्टा देखेका थिएनन् । उनले पहिलोपल्ट देखेका साहित्यकार भीमनिधि तिवारी नै थिए । साथै, कलेजको दैलो टेकेपछि मात्र उनले साहित्य विषय चाल पाएका थिए । जोशीले पहिलोपल्ट चिनेका साहित्यकारहरू बालकृष्ण शमशेर र पुष्कर शमशेर थिए । यी दुवै राणाले यिनलाई माया गर्थे । साथै, पुष्कर शमशेरले यिनलाई अनुवादको काम पनि दिन्थे ।
त्यसवेला उनी अंग्रेजीबाट नेपाली भाषामा अनुवाद गर्थे । उनले पहिलोपटक मोपाँसको कथा अनुवाद गरे । उनी राम्रो अनुवादक भएको व्यहोरा नेपाली र अंग्रेजी भाषाका विज्ञ महाकवि लक्ष्मीप्रसाद देवकोटाले प्रमाणीकरण गरे । जोशीले देवकोटालाई नै साहित्यको गुरु पनि थापे । जोशी देवकोटाको घर गइरहन्थे ।
२०१४ सालमा देवकोटा मन्त्री हुँदा देवकोटालाई घरबाट सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पुर्याउने काम पनि जोशीले नै गरेका थिए । जोशीका अर्का साहित्यिक गुरु माधव घिमिरे पनि थिए । जोशीको प्रथम लेख पारसमणि प्रधानद्वारा सम्पादित ‘भारती’मा छापिएको थियो । त्यसवेला जोशी आइए पढ्दै थिए ।
जोशीको जागिर :
घरको दयनीय आर्थिक अवस्थाका कारण जोशीले स्नातक पूरा गर्न पाएनन् । त्यसबखत उनी जागिरकै खोजीमा थिए । त्यसै क्रममा उनले औधोगिक सर्वेमा खरदारको जागिर पाए र तनहुँ गए । जोशीले अमेरिकन सांस्कृतिक केन्द्रमा पनि जागिर खाए । उनले महेन्द्र राजमार्गको प्रचारप्रसार प्रमुख भएर पनि काम गरे । उनी पुरातत्व विभागमा पनि निर्देशक भए । उनले चीनको महाविद्यालयमा पनि जागिर खाए । उनले त्यहाँ चिनियाँहरूलाई नेपाली पढाए ।
उनले पढाएका चिनियाँहरूले पेकिङ रेडियोबाट क्रमशः नेपाली कार्यक्रम पनि चलाउन थाले । चीनमा बस्दा माओ त्सेतुङले जोशीलाई स्नेह गरे । उनले पनि माओ त्सेतुङका कविता नेपाली भाषामा अनुवाद गरेर प्रकाशित गरे । जोशी नेपाल फर्केपछि पनि जागिरमा नै बाँधिए । उनले नेपालका कलेजहरूमा पनि प्राध्यापन गरे । जीवनभरिको जागिरबाटै उनले आफ्नो घरपरिवार पनि उकास्दै लगे । तर, उनले स्वच्छ नैतिक र इमानदार भएर नै आफूलाई उभ्याउँदै आए ।
जोशीको भ्रमण :
जोशीले नेपालका प्रायः धेरैै भूभाग टेके । उनले भारत, चीन, बंगलादेश, श्रीलंका, म्यानमार, थाइल्यान्ड, सोभियत रुस, न्युजिल्यान्ड, अस्ट्रेलिया, बेलायत, क्यानडा र अमेरिकाको भ्रमण गरे । यात्रा सन्दर्भमा जोशीको सबैभन्दा उल्लेखनीय भ्रमण न्युजिल्यान्डको थियो । किनभने, न्युजिल्यान्ड पुग्ने उनी प्रथम नेपाली थिए । उनी त्यस राष्ट्रमा दौरासुरुवाल, कोट र टोपी लगाएर प्रवेश गरेका थिए ।
उनले जुन दिन न्युजिल्यान्डको भूमि टेके, त्यसै दिन अर्थात् २०१० साल जेठ १६ गते न्युजिल्यान्डका एडमन्ड हिलारी नेपालका तेञ्जिङ शेर्पाका साथ सगरमाथाको टुप्पोमा पुगेका थिए । अनि, त्यो समाचारले न्युजिल्यान्डलाई रंगीन बनाएको थियो । त्यसैले, त्यसवेला जोशीले त्यहाँ ठूलो मान पाएका थिए । त्यसै भ्रमणमा केन्द्रित उनको २०४९ सालमा एउटा नियात्रा पनि छापियो, ‘न्युजिल्यान्डमा पहिलो नेपाली’ ।
जोशीको कर्णाली मोह :
जोशी नेपाली भाषाको व्युत्पत्ति थलो जुम्लाको सिँजा पुगे । नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानबाट बजेट स्वीकृत गराएर त्यस ठाँउमा उनले अरू ५ जनालाई पनि लगे । त्यहाँ उनले विविध हस्तलिखित ग्रन्थ र शिलापत्रहरू पनि फेला पारे । त्यसवेला उनीसँग त्यहाँ जाने चूडामणि वन्धु थिरजंगबहादुर सिंह विहारीकृष्ण श्रेष्ठ र प्रदीप रिमाल थिए । जोशीहरू भएर कर्णली लोक संस्कृति नामक पाँच ग्रन्थ लेखे । साथै, ती पाँचै कृतिका लागि पाँचै जनाले त्यसवेला संयुक्त रूपमा मदन पुरस्कार पाएका थिए ।
जोशी र प्रज्ञाप्रतिष्ठान :
शाहीकालीन समयमा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको बेग्लै गरिमा, रौनक र इज्जत थियो । त्यसवेला साँच्चैका प्राज्ञ मात्र त्यहाँ पुग्थे । त्यही फेरोमा जोशी पनि त्यहाँ सदस्यसचिव भए । त्यसवेला कुलपतिचाहिँ केदारमान व्यथित थिए र उनी प्रथम जनकुलपति थिए । व्यथितभन्दा अघि राजा महेन्द्र नै कुलपति थिए । जोशीको कार्यकालदेखि प्रज्ञा–प्रतिष्ठानको भौतिक र सांस्कृतिक विकास हुन थाल्यो । साथै, त्यसै वेलादेखि त्यहाँ गाइजात्रा महोत्सव सुरु भएको थियो । साथै, महेन्द्र स्मृति ग्रन्थ पनि उनैको कार्यकाल र सम्पादनमा प्रकाशित भएको थियो ।
जोशीबाट अरनिकोको खोज :
१३औँ शताब्दीमा नेपालबाट चीन पुगेका अरनिकोबारे अध्ययनमा लागे जोशी । चीनमा रहँदा उनले अरनिकोको अस्तित्व भएको ठाँउको खोजी गरिरहे । उनी अरनिकोको समाधिस्थल पनि पुगे । जोशीले तिब्बतमा पनि अरनिकोले बनाएको चैत्य फेला पारे । यथेष्ट जानकारी लिएपछि उनी अरनिकोबारे प्रचारमा लागे । उनले अरनिको श्वेतचैत्यमा आधारित कथा र महाकाव्य पनि लेखे । अरनिको ६३ वर्षको उमेरमा सन् १३०६ मा चीनमा नै स्वर्गीय भए भन्ने कुरा जोशीले नेपाली भाषामा लिपिबद्ध गरिदिए ।
अन्ततः जोशीकै समेत कारण जोडिएर अरनिको नेपालका राष्ट्रिय विभूति बने । जोशीले ‘कलाकार अरनिको’ नामक भव्य ग्रन्थ लेखे र त्यही भव्य कृति चीनको राजकीय भ्रमणताका राजा वीरेन्द्रले चीनका राष्ट्रपतिलाई उपहार दिएका थिए ।
जोशीले तिब्बत गएर राजकुमारी भृकुटीबारे पनि धेरै जानकारी बटुले । त्यहाँ भृकुटीलाई देवी मानेर पूजा गरिएको पनि उनले देखे । भृकुटीलाई तिब्बतीहरूले हरिततारा भन्ने व्यहोरा पनि जोशीले नेपालमा आएर प्रचार गरे ।
जोशीद्वारा मुद्राको खोज :
जोशी पुरातत्व विभागबाट शत्रुहरूद्वारा लखेटिएका थिए । त्यसपछि, उनले ‘नेपाली राष्ट्रिय मुद्राहरू’ नामक ग्रन्थ लेखे । उनले महेन्द्र मल्लको चाँदीको मुद्रासमेत पत्ता लगाए । त्यसै वेलादेखि नेपालमा चाँदीको पैसाको पनि प्रचलन रहेको उनैले पत्ता लगाए । प्राचीन कालदेखि तत्कालीन वेलासम्मका सबै मुद्राहरूको संकलन, अन्वेषण र अध्ययन गरी उनैले ‘नेपाली राष्ट्रिय मुद्राहरू’ नामक आधिकारिक ग्रन्थ तयार पारेका थिए ।
संसारमा पहिलोपल्ट एसिया माइनरमा लिडिया साम्राज्यका संस्थापक गिजेजले मुद्राको आविष्कार गरे । इसापूर्व ६५२ मा मुद्राको आरम्भ भएको थियो भन्ने व्यहोरा पनि जोशीले नेपाली जनमाझ प्रस्तुत गरे । साथै, नेपालमा चाहिँ लिच्छविकालीन मुद्रा साक्षात फेला परेको व्यहोरा जोशीले प्रकाशनमा ल्याए ।
नेपालमा अन्तर्राष्ट्रिय मापदण्डको मुद्राचाहिँ राजा त्रिभुवनका पालामा आएको रहेछ । जोशीका अनुसार राजा महेन्द्रका पालादेखि विशिष्ट र आधुनिक नेपाली मुद्रा चलनचल्तीमा आए ।
जोशीको भाषा प्रेम :
जोशीले आइए पढेदेखि नै साहित्यसेवामा सिर्जनात्मक र संगठनात्मक रूपमा आफूलाई जोडिरहे । कृतिगत रूपमा उनी जति सफल भए, संगठन परिचालनमा पनि उनको विशिष्ट भूमिका रहँदै आयो । २०११ सालमा कविशिरोमणि लेखनाथ पौड्यालको रथ बनाउने जिम्मा पनि जोशीले नै पाएका थिए । व्यक्तिगत र संस्थागत रूपमा उनले साहित्य र संस्कृतिका लागि धेरै काम गरे ।
जोशीकै संयोजकत्वमा २०६६ सालमा काठमाडौंमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भयो । त्रिमूर्ति निकेतनबाट आयोजित १३ राष्ट्रको सहभागितामा भएको उक्त सम्मेलन पाँच दिनसम्म चल्यो । जोशी नेपाल भाषा एकेडेमीका चान्सलर पनि भए र त्यहाँ पनि उनले आफ्नो मातृभाषाको विस्तारका लागि रचनात्मक काम गरिरहे ।
शताब्दी पुरुषको उपाधि :
जोशीको ८५ वर्षको हाराहारीमा नै नइबाट शताब्दी पुरुषको परिकल्पना भएको थियो । त्यसैको आधारमा नइको समेत सौजन्यमा त्रिमूर्ति निकेतनले २०७१ साल मंसिर १५ गते जोशीलाई पाँच लाख रुपैयाँ राशिसहित सप्तनागजडित उनकै उचाइको कलात्मक काठको फ्रेममा ताम्रपत्र समर्पण गरेको थियो ।
नइ र त्रिमूर्ति निकेतनको अनुरोधमा नेपाल सरकारले समेत जोशीलाई २०७४ साल वैशाख २१ गते ‘वाङ्मय शताब्दी पुरुष’को उपाधिद्वारा विभूषित गर्यो । त्यसपछि उनले भने, ‘मलाई यो जीवनमा अब अरू केही चाहिँदैन, पुग्यो ।’
जोशीलाई पुरस्कार तथा रथारोहण :
जोशीलाई राज्यले विख्यात ‘त्रिशक्तिपट्ट सुप्रबल गोरखा दक्षिणबाहु’ र ‘उज्ज्वल कीर्तिमय राष्ट्रदीप’बाट विभूषित गर्यो । उनलाई राजधानीको नागरिक समाजद्वारा २०७४ साल भदौ २९ गते रथारोहण गराइयो र सोही दिन राष्ट्रप्रमुखबाट जोशीलाई समग्र राष्ट्रकै अमूल्य निधि र राष्ट्रको गौरव अभिवृद्धि गर्ने सम्बोधनका साथ अभिनन्दन प्रदान गरिएको थियो ।
जोशीलाई श्रेष्ठ सिरपाः लाकौल सिरपाः आदिकवि भानुभक्त पुरस्कार, भानुभक्त प्रज्ञा पुरस्कार, भानुभक्त स्वर्णपदक, त्रिभुवन प्रज्ञा पुरस्कार, मदन पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, भूपालमानसिंह कार्की पुरस्कार, नइ सुकीर्ति पुरस्कार, डिल्लीरमण रेग्मी राष्ट्रिय पुरस्कार, गोपाल कमल राजभण्डारी रोटरी अवार्ड, यात्री वाङ्मय पुरस्कार, इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मानका साथै झन्डै दुई सय वटा संस्थाले सम्मान र अभिनन्दनपत्र समर्पण गरेका छन् ।
त्रिमूर्ति निकेतनले जोशीका सम्मानमा सत्यमोहन जोशी शताब्दी पदकको स्थापना गर्यो । देशदेशान्तरका २ सय १७ जना महानुभावलाई उनैका हातबाट सो पदक अर्पित गरिएको थियो । न्हूजः गुठीले पनि जोशीको मुहार अंकित २० ग्रामको चाँदीको सिक्का प्रकाशनमा ल्यायो । साथै, जोशीलाई काठमाडौं विश्वविद्यालयबाट २०६८ साल भदौ २ गते महाविद्यावारिधिको उपाधि समर्पण गरिएको थियो ।
जोशीका कृति :
शताब्दी पुरुष डा. सत्यमोहन जोशीकृत ७१ वटा पुस्तक प्रकाशित भइसकेका छन् । उनले नेपाली साजिलो वर्णमालादेखि कीर्तिबाबुको स्मृतिसम्म कृति लेखे । उनका कृतिहरू ३३ वटा नेपाली भाषा र ३७ वटा नेपाल भाषामा छन् । साथै, उनले अंग्रेजी भाषामा पनि एउटा कृति लेखे । उनका कृतिहरू निबन्ध, प्रबन्ध, नाटक, कविता, कथा तथा कोशमा आधारित छन् ।
जोशीको जीवनशैली :
जोशी सादा जीवन उच्च विचारका कुबेर हुन् । उनी कहिल्यै चढेनन्, बढेनन् र कहिल्यै सड्केनन् । कसैले अपमान गर्दा पनि उनी कहिल्यै आत्तेनन् । उनी सधैँ भुइँ टेकेर नै हिँडिरहे । एक÷डेड घन्टासम्मको पैदल बाटोमा उनी सकेसम्म बस र ट्याक्सी पनि चढ्दैनन् । उनी सधैँ दौरासुरुवाल, कोट, टोपी लगाएर मात्र घरबाट निस्कन्छन् । नरम बोलीचाली उनको जीवनको विशेषता मानिन्छ । समय पालनामा उनी घडीको सुइजत्तिकै विश्वासिला देखिन्छन् । यही रीतमा जोशीको जीवनले ९९ वर्षमा टेकेको छ । नरेन्द्रराज प्रसार्इं
प्रतिक्रिया