‘८÷१० वर्ष अगाडि उनको दयनीय अवस्थालाई देखेर त्यही गाउँको विकासका लागि आउने एक जना उद्यम विकास सहजकर्ताले उद्यम व्यवसायको तालिम लिएर काम गर्न सल्लाह दिएका थिए । उनको सल्लाहअनुसार मैँयाले पनि व्यवसाय गर्ने निर्णय गरिन् । जुन निर्णयले उनलाई आज मासिक ४० देखि ५० हजारसम्म कमाउन कुनै समस्या छैन ‘
शुकदेव थपलिया ‘हिजोबाट सिक, आजका लागि बाँच र भोलिका लागि आशा गर’ प्रसिद्ध सैद्धान्तिक भौतिकविद अल्बर्ट आइन्स्टाइनको यो भनाई मैया रम्तेलको जीवनमा मेल खान्छ । काभ्रेको मन्डनदेउपुर–९ बस्ने मैँया रम्तेललाई कुनै समय अरूको ज्यालादारी गरेर आफ्नो एक पेट पाल्नका लागि समेत धौ–धौ परिरहेको थियो ।
कुनै रोजगारीमा जाने सम्भावना पनि थिएनन् उनको । राम्रोसँग आफ्नो नामसमेत लेख्न नआउने मैँयालाई आफ्नो जीवनप्रति दिक्दार लागेर आउथ्यो । अनि उनै भौतिकविदले भनेजस्तै एक दिन मैँयाको जीवनमा आशाहरू पलाए र अहिले सफल उद्यमीको रूपमा परिचित छिन् । उनै एउटा सफल उद्यमी महिलाका रूपमा मैँया आज परीचित भएकी छन् ।
आजभन्दा ८÷१० वर्ष अगाडिको कुरा हो, उनको त्यस्तो दयनीय अवस्थालाई देखेर त्यही गाउँको विकासका लागि आउने एक जना उद्यम विकास सहजकर्ताले उद्यम व्यवसाय गर्ने सल्लाह दिएका थिए । उनको सल्लाह अनुसार मँैयाले पनि व्यवसाय गर्ने निर्णय गरिन् ।
मैँयाले उद्यम विकास सहजकर्ताको सल्लाह बमोजिम दिगो उद्यम तथा सामाजिक विकास केन्द्रको आयोजनामा सञ्चालन भएको उद्यमशीलता विकास तालिमको साथै जुत्ता चप्पल बनाउने सीप विकास तालिममा सहभागी भई सीप सिक्ने मौका प्राप्त गरिन् । त्यस तालिम प्राप्त गरिसकेपछि उनले जिल्ला लघु उद्यमी समूह संघ डि–मेगाको सदस्य पनि हुन पाएकी थिइन् ।
‘मैले तालिम लिएअनुसार नै विभिन्न लेडिज जुत्ता, चप्पलहरू उत्पादन गर्दै गएँ र व्यावसायिक रूपमा नै सामानहरू उत्पादन गर्नका लागि मलाई पुँजीको आवश्यकता पर्दै गयो’, मैया भन्छिन्, ‘त्यसका लागि समता बहुउद्देश्यीय सहकारी संस्थाबाट १० हजार र पञ्चकन्या महिला बहुउद्देश्यीय सहकारी संस्थाबाट १० हजार ऋण प्राप्त गरी व्यवसायमा लगानी गर्दै गएँ ।’ यसरी आफूले आफ्नो व्यवसायलाई निरन्तर रूपमा गर्दै जादाँ जुत्ता, चप्पलको पनि बजारमा माग बढ्दै गएको उनको भनाइ छ ।
उनी डिजाइन अनुसारको चप्पल, छालाको जुत्ताहरू उत्पादन गर्छिन् । यस व्यवसायबाट राम्रै आम्दानी हुन थालेपछि झन् व्यवसायलाई बढाउँदै जाने निर्णय गरेको मैँया बताउँछिन् । त्यसका लागि जिल्ला लघु उद्यमी समूह संघ डि–मेगाबाट ४० हजार र ग्रामीण प्रविधि केन्द्र संस्थाबाट उनलाई ३० हजार अनुदान स्वरूप रकम प्राप्त भएको थियो । ०६९ सालमा सुन्दर लेडिज चप्पल तथा जुत्ता उद्योग नामको उद्योग घरेलु तथा साना उद्योग कार्यालय काभ्रेमा दर्ता गरी अगाडि बढिरहेको छु ।
त्यसपश्चात् मैले विभिन्न संघसंस्थाहरूबाट उपयुक्त प्रविधिहरूसमेत प्राप्त गरेकी थिएँ । यस व्यवसायबाट निरन्तर अगाडि बढ्दै गएपछि सामग्री उत्पादन तथा बिक्री कार्यलाई बढाउँदै लैजाने हौसला प्राप्त भएको भन्दै मैया भन्छिन्, ‘निरन्तर प्रयासपश्चात अहिले यस उद्योगमा पाँच जना महिला तथा पुरुषहरूलाई रोजगार दिई हाल मासिक एक लाख सम्मको कारोबार गरी मासिक ४०÷५० हजार खुद नाफा आम्दानी भइरहेको छ ।
यस व्यवसाय सञ्चालन गर्नुभन्दा पहिला घर खर्चलगायत छोराछोरीले समेत राम्रो शिक्षा प्राप्त गर्न सकेका थिएनन् तर अहिले प्राइभेट स्कुलमा सहज तरिकाले शिक्षा हासिल गर्न पाइरहेको मात्र होइन समाजमा उनको एक सफल उद्यमीको रूपमा मान प्रतिष्ठासमेत बढिरहेको छ ।अहिले आफ्नो व्यवसायको व्यवस्थापक पदमा रही काम गरिरहेकी मैँया समाजमा सामाजिक काममा पनि समय दिँदै समाजसेवा गर्दै आइरहेकी छन् ।
उनी आफ्नो व्यवसायका साथै विभिन्न सरकारी तथा गैरसरकारी संस्थाबाट सञ्चानल हुने विभिन्न ठाउँहरूमा माग अनुसारको लेडिज चप्पल तथा जुत्तासम्बन्धी तालिमसमेत दिने गर्छिन् । भन्छिन्, ‘मैले उत्पादन गरेको जुत्ता चप्पलको बजार क्षेत्र स्थानीय बजार मन्डनदेउपुरलगायत जिल्ला भित्रका बजार, पाँचखाल, धुलिखेल, बनेपा र जिल्ला बाहिर सिन्धुपाल्चोकको मेलम्चीजस्ता मुख्य बजारको रूपमा सामान बिक्री बितरण गर्ने गरेको छु’, मैयाँले भनिन् ।
उद्यम विकास सहजकर्ता भवानी न्यौपाने भन्छन्, ‘एक महिला भएको र गरिब परिवारका कारण सुरुका दिनहरूमा मैँयालाई यो व्यवसाय सञ्चालन गर्न अति गाह्रो भएको थियो । तैपनि, पनि आफू बेरोजगार भएको अवस्थालाई सम्झी मध्यमखालको जोखिम राखी बिस्तारै बिस्तारै व्यवसाय सञ्चालन गर्दै गइन् र उनी सफल उद्यमी भएको सहजकर्ता न्यौपानेको भनाइ छ । घर परिवार, समाजलगायत विभिन्न संघसंस्थाहरूको पनि आर्थिक तथा प्राविधिक सहयोग प्राप्त गरी उनी यो अवस्थासम्म आउन सफल भएकी हुन् ।
उनी अहिले एक सफल उद्यमीको रूपमा काभ्रे जिल्लामा समेत परिचित छिन् । विदेश जाने होडबाजी चल्ने जिल्लाहरूको सूचीमा अग्रपंक्तीमै देखिँदै आएको काभ्रे जिल्लामा उद्योग व्यवसायको हिसाबले हेर्ने हो भने विभिन्न स्रोत साधानहरूले भरीपूर्ण भएको जिल्ला मानिए पनि कामलाई ठूलो सानो मान्ने संस्कृतिकै कारण संभावनाहरूको उचित प्रयोग हुन भने सकिरहेको छैन ।
प्रतिक्रिया