सुभानु आचार्य ललितपुर । नेपाल जैविक विविधता भएको देश हो । यस्ता विविधतालाई संरक्षण गर्न नेपाल सरकारले संरक्षित क्षेत्र बनाएको छ । हिमाल, पहाड तथा तराई गरी सबै भौगोलिक क्षेत्रमा यस्ता संरक्षित क्षेत्र छन् । त्यस्तै संरक्षित क्षेत्रमध्ये लतिलपुरको गोदावरी र फूलचोकीस्थित ‘गोदावरी राष्ट्रिय उद्यान’ । तत्कालीन राजा महेन्द्र बेलायत भ्रमणमा जाँदा त्यहाँ रहेको रोयल बोटानिकल गार्डेन इडेनवर्गको अवलोकन गरेका थिए।
यसबाट प्रभावित भएका राजा महेन्द्रले नेपालमा पनि यस्तै उद्यान बनाउने विचार गरे । फलस्वरूप १२ कात्तिक २०१९ मा बेलायतबाट नै दुई जना (हट लक र टोनसलिङ) प्राविधिक झिकाएर ललितपुरमा वनस्पति उद्यान बनाउन लगाएका थिए । ८२ हेक्टर जमिनमा फैलिएको यो उद्यान १५ सयदेखि २ हजार मिटरसम्म फैलिएको छ । १९ असार ०६३ मा शाही वनस्पति उद्यानबाट राष्ट्रिय वनस्पति उद्यानमा नाम परिवर्तन भएको हो ।
जुन अंग्रेजीमा नेसनल बोटानिकल गार्डेनको रूपमा परिचित छ । राष्ट्रिय वनस्पति उद्यान अनुुसन्धानकर्ताहरूको लागि अनुुसन्धान केन्द्र, विद्यार्थीहरूको लागि शैक्षिक केन्द्र र सर्वसाधारणका लागि मनोरञ्जनस्थलको रूपमा रहेको छ । यस वनस्पति उद्यानमा उद्यान विकास शाखा, वानस्पतिक सूचना तथा उत्पादन शाखा र संरक्षण तथा शैक्षिक उद्यान शाखा गरी तीन वटा शाखा रहेका छन् । यो उद्यान एक प्रमुख उद्यानको रूपमा रहेको छ ।
यसमा रैथाने तथा दुर्लभ बोटबिरुवाहरूको संरक्षण गरिनुका साथै स्थानीय तथा अरू मुलुकबाट ल्याइएका विरुवाहरूको पनि संरक्षण गरिएको छ । यस उद्यानमा पुरानो प्रजातिका चिलाउने, कटुस र उतिसजस्ता बोटबिरुवाहरू पाइन्छन् । हाल राष्ट्रिय वनस्पति उद्यान भित्र ८ सय ५० भन्दा बढि प्रजातिका वनस्पतिहरू संरक्षित छन् ।
राष्ट्रिय वनस्पति उद्यान स्थापना गर्नुको प्रमुख उद्देश्य वनस्पतिको संरक्षण तथा अध्ययन अनुसन्धान गर्नु रहेको छ । यो पुरानो प्राकृतिक जंगलको रूपमा परिचित छ । राष्ट्रिय वनस्पति उद्यानमा पाइने मुख्य आकर्षणहरू जडिबुटी वाटिका, जैविक विविधता शैक्षिक उद्यान, ढुंगे वाटिका, रुख उन्यूमा विभाजन भएको छ ।
राष्ट्रिय वनस्पति उद्यानमा विशेष वाटिका छ । विशेष वाटिकामा मौसमी सदाचार फूल, सुनाखरी, सिउँडी, पानीको फोहरा, लालीगुराँस, कञ्चन झर्ना, जापानिज शैलीको वाटिका, दुर्लभ तथा लोपोन्मुख वनस्पति, लिली वाटिका, वानस्पतिक परिवार वाटिका, उष्ण प्रदेशीय घर, जलीय वनस्पति, गुलाफ वाटिका, मनास्लु घर, भिभिआइपी वृक्षरोपण क्षेत्र, जनजातीय वानस्पतिक वाटिका, सूचना केन्द्र रहेका छन् ।
हाल यस उद्यानका वरिष्ठ उद्यान अधिकृत दीपक लामिछाने कार्यालय प्रमुखका छन् । भने, दैनिक ज्यालादारीमा लगभग ३० जना कर्मचारी कार्यरत छन् । यिनै कर्मचारी तथा स्थानीयको संरक्षणमा यो उद्यान अघि बढेको छ । नियमित रूपमा उद्यानमा सिँचाइ गर्ने, गोडमेल गर्ने, किराहरू लागेका रुखविरुवा हटाउने, उद्यानको सुरक्षाका लागि खट्ने गरेका छन् ।
राष्ट्रिय वनस्पति उद्यानको सुरक्षाको लागि चारैतिरबाट तारबार तथा पर्खालले घेरिएको छ । राष्ट्रिय वनस्पति उद्यानका विभिन्न हावापानीमा पाइने वनस्पति संरक्षण गरेर राखिएको छ । यहाँ हिमाली, पहाडी र तराई क्षेत्रमा पाइने बोटबिरुवा तथा वनस्पति छन् । गोदावरी क्षेत्र सदासर्वदा चिसो ठाउँ भएकाले यहाँ विभिन्न वनस्पतिको परीक्षण गर्ने गरिन्छ । गोदावरीको हावापानीमा हुर्किन सक्ने वनस्पतिलाई मात्र उद्यानमा संरक्षण गरिएको छ ।
हिमाली क्षेत्रमा पाइने ४० देखि ५० प्रजातिका वनस्पतिहरू यस उद्यानमा राखिएको छ । तराईमा हुर्कने वनस्पति गोदावरीमा ट्रपिकल हाउस वा उष्ण प्रदेशीय घरमा संरक्षण गरी राखिएको छ । तराई क्षेत्रमा फल्ने ४० देखि ५० प्रजातिका वनस्पति यस उद्यानमा हेर्न पाइन्छ । प्रायः सबै वनस्पतिहरू गोदावरी क्षेत्रमा उपलब्ध हुने गरेको छ । उद्यान रोप्न आवश्यक पर्ने विरुवाहरूलाई त्यहीँभित्र उमार्ने काम गरिन्छ ।
उमारेर रहेका विरुवाहरूलाई बढी भएको अवस्थामा सूचना केन्द्रबाट बिक्रीवितरण गर्ने गरिन्छ । जडिबुटीलगायत काउलोको बिरुवाहरूलाई उत्पादन गरी सामुदायिक वनमा रोप्ने काम हुन्छ । उद्यानले उत्पादन गरेका विरुवाहरूलाई बिक्रीवितरण गरी राजस्व तिर्न सहयोग गर्नेगर्छ । यस उद्यानमा दैनिक रूपमा अवलोकनकर्ताहरू आउने गरेका छन् । गोदावरीको राष्ट्रिय वनस्पति उद्यान वर्षको ३ सय ६५ दिन नै खुल्ला हुने गर्छ ।
शुक्रबार प्रायःजसो विद्यार्थीहरू शैक्षिक भ्रमणका लागि आउने गर्छन् । शुक्रबार उद्यानको भ्रमण गर्न लगभग हजारभन्दा बढी आगन्तुकको भिड लाग्दछ । नेपाली नयाँ वर्षको दिन उद्यान भ्रमणमा घुइँचो लाग्ने गरेको लामिछानेको अनुभव छ । उनी भन्छन्, ‘यस वर्षको १ वैशाखमा लगभग १५ हजार उद्यानको भ्रमण गर्न आएका थिए । ’ शुक्रबारबाहेक अन्य दिनमा लगभग ५ सयदेखि १ हजार आगन्तुक उद्यान घुम्न आउने गरेका छन् ।
लामिछानेका अनुसार गोदावरी पार्क भन्ने बितिकै मानिसहरू बढी आकर्षित हुने गरेका देखिन्छन् । आगन्तुकहरू राष्ट्रिय वनस्पति उद्यानमा छिरी विभिन्न पोजमा फोटो खिच्ने, उद्यानको अवलोकन गर्ने, विभिन्न बोटबिरुवाको बारेमा अध्ययन गर्ने गर्छन् । नवआगन्तुकहरूले राष्ट्रिय वनस्पति उद्यानलाई पार्कको रूपमा चिन्ने गरेका छन् । उद्यान र पार्क भनेको फरक चिज हो । लामिछानेले भने, पार्क भनेको मनोरञ्जनका लागि मात्र हुन्छ ।
तर, वनस्पति उद्यान भनेको अध्ययन, अनुसन्धान गरी ज्ञान बटुल्ने ज्ञानभण्डार हो। वनस्पति उद्यान केन्द्रलाई वनस्पतिसम्बन्धी ज्ञान दिने शैक्षिक केन्द्रको रूपमा चिनिन्छ । उद्यान अवलोकन गर्न आउने आगन्तुकहरूले उद्यानको बारेमा दुई किसिमको प्रतिक्रिया दिने गरेका लामिछानेले बताए । जो व्यक्ति धेरै वर्ष विदेश घुमेर आएका छन् उनीहरूले गोदावरीको उद्यान केन्द्र त्यहाँको जस्तो भइदिए हुन्थ्यो भन्ने प्रतिक्रिया दिने गरेका छन् ।
जो नेपाली पहिलोपटक उद्यान केन्द्रमा घुम्न आएका छन् वा पटकपटक उद्यान केन्द्रमा आएका छन् उनीहरू गोदावरीको प्राकृतिक सौन्द्रर्यता देखेर त्यसै खुसी हुने गरका छन् । उद्यानको थप विकास गर्न राज्य वा सरकारको तर्फबाट पहल हुनुपर्ने देखिन्छ किनकी गोदावरीमा अवस्थित राष्ट्रिय वनस्पति उद्यानलाई शैक्षिक संस्थाको रूपमा अवलोकन गर्ने गरिन्छ । हाल देश संघीय, प्रादेशिक र स्थानीय तहमा बाँडिएको छ ।
यो उद्यान केन्द्र राष्ट्रिय उद्यान केन्द्र भएकाले यसलाई थप विकास गर्न राज्यको तर्फबाट पहल हुनु आवश्यक छ । प्रत्येक देशमा एउटा राष्ट्रिय अवधारण अनुसारको वनस्पति उद्यान केन्द्र हुन्छ । गोदावरीमा रहेको राष्ट्रिय वनस्पति उद्यानको विकास र विस्तारमा सबैले एकजुट हुनुपर्ने देखिन्छ । संघीय सरकार अनुसार राष्ट्रिय वनस्पति उद्यानको विकास सम्पूर्ण जनता वा राष्ट्रको रोहोबरमा रहेर हुनुपर्छ ।
क्षेत्रफलको हिसाबले हाल निर्माण हुँदै गरेको पोखराको जैविक विविधता उद्यान केन्द्र ठूलो उद्यान हो । जडिबुटी तथा वनस्पतिको संरक्षण र विविधताको हिसाबले ८ सय ५० प्रजाति पाइने हुनाले प्रजातिको हिसाबमा सबैभन्दा ठूलो उद्यान केन्द्र गोदावरीको राष्ट्रिय वनस्पति उद्यानलाई लिने गरिन्छ । राष्ट्रिय वनस्पति उद्यान अवलोकन गर्न आउने स्वदेशी र विदेशी पर्यटक गरी वर्षको ३ लाख ७५ हजारभन्दा बढी आगन्तुक गोदावरी आउने गरेका छन् ।
उद्यानमा भ्रमण गर्नेको ५ देखि ६ वर्षको तथ्यांकलाई हेर्ने हो भने हरेक वर्ष एक लाखभन्दा बढी पर्यटकहरू वनस्पति उद्यान केन्द्रमा अवलोकन गर्न आएका देखिन्छ । हाल यो संख्या बढ्दो दरमा रहेको छ । स्वदेशीको तुलनामा विदेशी आगन्तुककोे संख्या कम देखिन्छ । विदेशी वर्षको झन्डै ५ देखि ६ हजारको हाराहारीमा आउने गरेका छन् । विदेशीको प्राथमिकता भनेको नेपालमा मनोरञ्जन, हिमाललगायत ऐतिहासिक स्थलको भ्रमण तथा पुराना मठमन्दिर रहेकाले यस उद्यानमा कमै आउने गरेका लामिछानेले बताए ।
उनी भन्छन्, ‘विदशी जो वनस्पतिको अध्ययन तथा अनुसन्धान गर्न चाहान्छन् उनीहरू मात्रा उद्यानमा छिर्ने गर्छन् ।’ यस उद्यानमा अन्य कतै नपाइने तर गोदावरीमा मात्र पाइने ६ प्रजातिका वनस्पति रहेका छन् । यी ६ प्रकारका प्रजातिहरूलाई रैथाने भनी नामाकरण उद्यानले गरेको छ । ललितपुरको फुल्चोकीलगायत गोदावरीबाट यी ६ प्रकारका प्रजातिहरू हराए भने विश्वबाट लोप हुने छन् ।
राष्ट्रिय वनस्पति उद्यानमा वर्षका लगभग ७० हजार विद्यार्थी अध्ययनका लागि आउने गर्छन् । विद्यार्थीबाहेक परिवार मिलेर, समूह मिलेर, साथीभाइसँग, जुनसुकै उमेर समूहको आगन्तुक उद्यानमा आउने गर्छन् । ८० देखि ९० वर्षमा वृद्धवृद्धाहरू गोदावरी उद्यानमा स्वस्थ्य समस्या हटाउन आउने गर्छन् । मानिसको शरीर फुर्तिलो बनाउन हिँडाइको आवश्यक पर्छ ।
राष्ट्रिय वनस्पति उद्यानको अवलोकन गर्न आउने आगन्तुकलाई उद्यानको भ्रमण गर्न लगभग दुई देखि तीन घण्टा हिँड्नुपर्ने हुँदा उनीहरू उद्यानमा शारीरिक व्यायामको लागि आउने गर्छन् । सौन्दर्यका पारखी आगन्तुकहरू उद्यानमा विशेष गरी पार्क भित्रको मौसमीलगायत बेमौसमी फूल अध्ययन गर्न आउने गर्छन् । राष्ट्रिय वनस्पति उद्यानमा अवलोकनकर्ताले माग गरेको अवस्थामा उद्यानले गाइडको व्यवस्था पनि गरिदिनेछ ।
विशेष गरी विद्यार्थीको शैक्षिक भ्रमणको क्रममा उनीहरूलाई बिभिन्न प्रजातिबारे ज्ञान दिन गाइड उपलब्ध गराइन्छ । उद्यानको भ्रमण गर्न आउने आगन्तुकहरूले हामीलाई गाइडको आवश्यक पर्यो भनी उद्यानको सूचना पाटीमा सम्पर्क गर्नुपर्ने हुन्छ । उद्यानले यसभित्र रहका सबै सूचना आगन्तुकले सजिलै प्राप्त गरुन् भनी ठाउँठाउँमा सूचना बोर्डको व्यवस्था गरिदिएको छ ।
उद्यानमा आगन्तुकलाई भ्रमण गर्न सजिलो होस् भनी उद्यानको विभिन्न भागमा नेपाली तथा अंग्रेजी अंकित बोर्डहरू राखिएका छन् । नेपालमा राष्ट्रिय वनस्पति उद्यानको छुट्टै ऐन नियम र कानुन छैन । उद्यानभित्र प्रवेश गरी सानोतिनो बिगो गर्नेलाई उद्यानको कर्मचारीले सुझाव दिने गर्छन् । उद्यान परिसरमा पोलिथिनको झोला लान पाइँदैन । मद्यपान तथा धूमपान गरी उद्यानकोे अवलोकन गर्न निःषेध गरिएको छ ।
सुहाउँदो वातावरणबाहेक कुनै पनि नसुहाउँदो आचरणको काम उद्यानभित्र आगन्तुकले गर्न पाउने छैन । उद्यानमा रोपेका फूल टिप्ने र पात चुड्नेजस्ता कार्यमा उद्यानले कुनै कारबाही नगरे पनि उद्यानभित्र ठूलै हानिनोक्सानी गरेमा उसलाई वन विनय अनुसार सजाय दिने गरिन्छ । गोदावरी पानीले भरिपूर्ण क्षेत्र हो । यहाँ अन्य स्थानको तुलनामा जमिन कमै मात्रमा सुख्खा रहने गर्छ ।
उद्यान क्षेत्रमा जुनसुकै बेला पानी बगिरहने भएकाले त्यहाँको बोट विरुवालगायत वनस्पतिलाई हुर्कन निकै सुविधा पुगेको छ । उद्यानभित्रको यी वनस्पति हुर्काउने उद्यानले ट्यांकीमार्फत पानी जम्मा गरी पाइपले तानेर हाल्ने गरेको छ । भूकम्पपछि केही मूलहरू सुकेकाले उद्यानमा पानीका लागि केही मात्रामा समस्या देखिएको छ । स्थानीयवासीले उद्यानभित्रको पानी उनीहरूको आवश्यता पूरा गर्न भोगचलन गर्ने भएकाले केही मात्रामा समस्या परेको देखिन्छ ।
उद्यानको सबैभन्दा माथिल्लो भागमा रहेको स्पेसल गार्डेनको मूल सुकेकाले स्पेसल गार्डेनमा पानी हाल्न समस्या देखिएको छ । कोरोनेसन पोन्डतिर जाने पानीका स्रोतहरू छन् तिनिहरूलाई ट्यांकरबाट यताउता लाने हुँदा उद्यान सिचाइँमा केही समस्या छ । राष्ट्रिय वनस्पति उद्यानलाई तीन शाखामा विभाजन गरिएको छ । पहिलो उद्यान विकास शाखा, दोस्रोमा वनस्पति उत्पादन बिक्री र सूचना केन्द्र हो भने तेस्रोमा शैक्षिक उद्यान शाखा रहका छन् । यसभित्र विभिन्न जाति विशेष उद्यानहरू रहेका छन् ।
यस उद्यानभित्र मौसमी शोभनीय पूmलहरू, पानीको फोहोरा, सुनाखरी, क्याक्टस घर देख्न सकिन्छ । भने जैविक विविधता शैक्षिक उद्यानभित्र जडिबुटी वाटिका, दुर्लभ लोपोन्मुख संरक्षण क्षेत्र, लिली वाटिका, क्यास्नोमी फेमेली गार्डेन, ट्रपिकल हाउस, कोरोनेसन पाउन्ड, गुलाफ वाटीका रहेका छन् । उद्यानमा आउने वा आएका अति विशिष्ट व्यक्तिले रोपण गरेको वनस्पति राखिएको क्षेत्र छ त्यसलाई उद्यानले भिभिआइपी प्लान्टको नाम दिएको छ ।
उद्यानभित्र इथ्नो बोटानिकल गार्डेन अर्थात् सूचना केन्द्र र शैक्षिक उद्यान नामले विभाजन गरिएको छ । राष्ट्रिय वनस्पति उद्यानलाई जडिबुटी वाटिकाको नामले चिनिन्छ । वर्षै पिच्छे प्रत्येक वनस्पतिलाई उद्यानले परीक्षण गर्दछ । लामो समयदेखि गोदावरी क्षेत्रमा काम गरेका अनुभवी प्राविधिकले वनस्पतिको अध्ययन गर्ने गर्छन् । वनस्पति उत्दपान गर्न केही सहज होस् भनी उद्यानले केही ग्लाउ हाउसको व्यवस्था गरेको छ ।
त्यस ग्लाउ हाउसमा परीक्षण गर्दा अध्ययन सफल भएपछि वनस्पतिलाई खाली भएको स्थानमा रोप्ने गरिन्छ । यस उद्यानको विकासमा स्थानीयवासीको ठूलो सहयोग रहेको लामिछाने बताउँछन् । यहाँ आउने पर्यटक नै यस क्षेत्रको मूख्य आयस्रोत भएकाले पनि स्थानीयको साथ र सहयोगले यस उद्यानको विकासमा अझ टेवा मिलेको उनी बताउँछन् । यसलाई अझ समृद्धि बनाउने हो भने पुरै ललितपुरको विकासका लागि एक कोसेढुंगा सावित हुनेमा लामिछानेको विश्वास रहेको छ ।
यसका लागि नगरपालिकासँग सहकार्य गरी आयआर्जनका कार्यक्रमलागायत अन्य रोजगारी सिर्जनामुलक कार्यक्रमलाई अगाडि बढाउन पहल गरेको उनी बताउँछन् । गोदावरी नगरपालिकाको मुख्य स्रोत भनेको राष्ट्रिय वनस्पति उद्यान हो । यसले सातदोबाटोदेखि गोदावरीसम्मका होटल तथा लज, चिया पसल, फूलविरुवाका नर्सरीहरूलाई फाइदा पुगेको छ । यसै उद्यानले गर्दा यातायातको पनि सुविधा रहेको छ ।
राष्ट्रिय वनस्पति उद्यानले पर्यावरणीय क्षेत्रमा पनि सेवा पुर्याएको छ । यसले पानीको स्रोतलाई संरक्षण गरेको छ । उद्यानमा क्षेत्रमा संरक्षित रुखविरुवाले बाढीलगायत पहिरोलाई न्यूनीकरण गरेको छ । यसले यहाँको ताप्रक्रमलाई पनि सामान्य राखेको छ । उद्यानबाट बगेर जाने पातपतिंगरबाट स्थानीयको कृषिलाई पनि निकै सहयोग पुगेको छ । उद्यानले पु¥याएको सहयोग प्रत्यक्ष रूपमा नदेखिए पनि अप्रत्क्षय रूपमा गोदावरीक्षेत्रमा परिरहेको छ ।
गोदावरीको चिसो भेगमा छुट्टै किसिमको वनस्पति उत्पादन हुने गर्छ, जसमा सिमसारलाई एक उदाहरण मान्न सकिन्छ । राष्ट्रिय वनस्पति उद्यान गोदावरीको एक वा दुई वटा विदेशी वनस्पति विभागसँग सहकार्य भएको छ । सहकार्यको माध्यममार्फत उद्यानले विदेशी वनस्पति विभागसँग प्राविधिक ज्ञान बटुल्ने गर्छ । ती विदेशी उद्यानले गोदावरीको उद्यानमा विभिन्न तालिमलगायत जनचेतनामूलक कार्यक्रम गर्ने गर्छन् ।
लामिछाने स्वयं पनि डेढ वर्षअघि जैविक विवधता शैक्षिक उद्यान बेलायतको राजदूतावासको स्कटल्यान्डमा रहेको रोयल बोटानिकल गाडेन इडेन्बर्गमा वन तथा वातावरण, मन्त्रालय अथवा वनस्पति विभाग राष्ट्रिय वनस्पति उद्यानको सहकार्यमा जैविक विवधता शैक्षिक उद्यान निर्माण कार्यको तालिममा सहभागी भएका थिए । १० दिने कार्यक्रममा लामिछानेले बेलायतको प्रविधि हेर्ने र अध्ययन गर्ने मौका पाएका हुन् । बेलायतको उद्यानमा काम गर्न अन्य देशबाट पनि निकै मानिस भिसा एप्लाई गरेर आएको प्रत्यक्ष रूपमा लामिछानेले देखे । नेपालमा वनस्पतिसम्बन्धी कुनै पनि मोह नभएकाले यसमा मोह राख्नुपर्ने उनको भनाइ रहेको छ ।
प्रतिक्रिया