बाबु हुनु त सुपा तामाङजस्तो

रसुवा । चप्पल फाटेर प्वालैप्वाल परेका छन् । शरीर ढाकेको कपडा ठाउँठाउँमा उध्रिँदै गएका छन् । टोपीदेखि पैतालासम्मका कपडा धुलाम्मे छन् सुपा तामाङका । चरम गरिबीको स्पष्ट झल्को शरीर ढाक्ने लुगाले दिइरहेको थियो । तर, ४८ वर्षीय सुपाले सन्तानप्रति पोखेको माया, ममता र वात्सल्य समाजका लागि उदाहरणीय बनेको छ ।

उनले रसुवा जिल्ला अस्पतालको शैय्यामा मृत्युसँग जुधिरहेकी आफ्नी सुत्केरी छोरी र नवजात शिशुलाई थप उपचार गर्न निजी खर्चमा काठमाडौंबाट हेलिकप्टर मगाई आफ्नो वात्सल्यलाई डगमगाउन दिएनन् । उदाहरणीय र अनुकरणीय बाबुको कर्तव्य पालन गर्न पनि चुकेनन् सुपा तामाङ ।

अस्पताल परिसरमा टहलिँदै आकाशमा कुन बेला हेलिकप्टर देखिन्छ भनेर पवित्र गोसाइँकुण्ड हिमशृंखलातर्फ हेरिरहेका पार्वतीकुण्ड गाउँपालिका गोल्जुङ–१ निवासी ४८ वर्षीय सुपाले गहभरी आँशु पार्दै भने ‘डाक्टरले जति छिटो हुन्छ, आमा—शिशुलाई काठमाडौं पुर्याउनुहोस, आमा शिशु दुवैको जीवन खतरामा छ, शिशुको त झन् बढी खतरामा छ, हामीले गर्नसक्ने जति उपचार यहाँ गरिसक्यौँ भन्नुभएको छ ।’

‘अस्पतालको ढोकामा झुन्ड्याइएका एम्बुलेन्सका चालकहरूको नम्बरमा कुनैसित पनि सम्पर्क भएन । एम्बुलेन्स पाइएन । हेलिकप्टर नै मगाउनु प¥यो । ज्यानभन्दा ठूलो त पैसा होइन नी ! छोरी र नाति बाँचे भने त सके तिर्लान् । नसके जसो होला होला जस्तो लाग्यो । अलिकति पाटा (जमिन) थियो, लालपूर्जा राखिदिन्छु भनेर ऋण लिएर हेलिकोप्टरका लागि पैसाको जोहो गरेँ ।’ उनले मलिन हुँदै भने ।

दुई छोरी र दुई छोराका पिता सुपाकी जेठी छोरी दावा ग्याल्मो घले सात महिनाको गर्भवती अवस्थामा एक्कासि रक्तस्राव हुन थालेपछि नजिकको गोल्जुङ स्वास्थ्यचौकी पुगेकी थिइन् । ‘स्वास्थ्यकर्मीले तुरुन्त धुन्चेस्थित जिल्ला अस्पतालमा लैजानुस् भने । बाटोमा ल्याउँदा बाटोमा झन् खुन गयो, अस्पतालको मूलढोकामा नै झरेको रगत देखाउँदै दाबाका पति कर्मा तामाङले भने । यहाँस्थित १५ शैय्याको जिल्ला अस्पतालमा शल्यक्रियाद्वारा बच्चा जन्माउने जनशक्ति र आइसियुसमेत छैन ।  ‘हामीकहाँ ल्याइपुर्याउँदा बिरामीको निरन्तर रगत गइरहेको थियो ।

सबै परीक्षण गर्दा आमा र पेटभित्रको शिशुको अवस्था सामान्य थिएन । रगत रोक्ने काम गरेँ । रगत बग्न रोकिएपछि बच्चा सकुशल कसरी निकाल्न सकिन्छ भनेर आफूले अध्ययन गरेका सबै चिकित्सकीय ज्ञानलाई प्रयोग गरेँ । करिब तीन घण्टाको अथक प्रयासछि विना शल्यक्रिया पेटभित्रबाट शिशु निकालेँ । सुत्केरी हुन दिन पुगेकै थिएन । शिशुको तौल कम थियो । थप उपचार सेवा दिने उपकरण, विशेषज्ञ र दक्षचिकित्सक तथा रक्तसञ्चार सेवासमेत नभएकाले काठमाडौं रिफर गरेँ’, चिकित्सक नितुकुमारी झाले भनिन् ।

हेलिकोप्टर मगाउन सहजीकरण गरेका ज्येष्ठ सञ्चारकर्मी ज्ञानेन्द्र न्यौपानेले भने, ‘बिहान बेलुकी छाक टार्नसमेत मुस्किल पर्ने सुपाले छोरीको थप उपचार गर्न देखाएको तत्परता र माया अनुकरणीय छ । साथमा नगद पैसा नभए पनि उनको बोली र व्यवहारले मैले हेलिकोप्टर तत्काल झिकाउन सहजीकरण गरिदिएँ ।’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चिकित्सक गुणनिधि शर्माका अनुसार अझै ७५ प्रतिशत गर्भवती आमा घरमा नै सुत्केरी हुन्छन् भने २५ प्रतिशतले मात्र स्वास्थ्य संस्थामा सुत्केरी गराउँदै आएका छन् ।

बर्सेनि करिब नौ सयदेखि एक हजार गर्भवती हुने आमामध्ये करिब २ सय ५० ले मात्र जिल्लाभर रहेका १३ वटा बर्थिङ सेन्टरबाट गतवर्ष सेवा लिएका थिए । अर्काेतर्फ जिल्ला अस्पतालमा गतवर्ष ६२ गर्भवती महिलाले बच्चा जन्माएका थिए ।  गर्भवती सबै आमालाई स्वास्थ्य संस्थामा नै सुत्केरी हुन ल्याउन स्थानीय तहमार्फत् अभियान सुरु भएको उर्माले जानकारी दिए ।

जिल्ला अस्पतालको सेवा अव अत्याधुनिक भवनबाट
विनाशकारी भूकम्पले ध्वस्त पारेपछि त्रिपाल मुनिबाट सञ्चालन भइरहेको जिल्ला अस्पतालले अत्याधुनिक प्रिफ्याब भवनबाट आफ्नो सेवा सुरु गरेको छ । क्यानेडियन रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रमले जिल्ला अस्पताल, अस्पताललाई चाहिने उपकरणसहित स्वास्थ्यकर्मीका लागि आवास निर्माणमा सहयोग गरेको हो ।

सोसाइटीका अध्यक्ष सञ्जीव थापा र क्यानेडियन रेडक्रसका अध्यक्ष ग्याभिन गाइल्सले संयुक्तरूपमा भवनको उद्घाटन गरी स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रमेशप्रसाद अधिकारीलाई हस्तान्तरण गरेका थिए । भूकम्प प्रतिकार्य कार्यक्रमका संयोजक उमेश ढकालका अनुसार करिब ५ करोड ४३ लाखको आर्थिक एवं प्राविधिक सहयोगमा ती प्रिफ्याब भवन तयार भएका थिए ।

अत्यन्त आकर्षक, सुन्दर तथा सफा भवनमा स्वास्थ्य सेवा प्रदान गर्न सुरु भएसँगै सेवा लिन आउने बिरामीको संख्यामा वृद्धि हुन थालेको छ । ‘टेन्टमुनिको स्वास्थ्य सेवा लिन दैनिक १०÷१२ जना आउँथे तर अहिले ४०÷५० जना सेवा लिन आउने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चिकित्सक शर्माले भने । ‘हुरी बतास, पानी आउँदा टेन्टमुनि स्वास्थ्य सेवा प्रदान गर्न असाध्यै कठिन हुन्थ्यो चिकित्सक झाले भनिन्, ‘अहिले काठमाडौंका अस्पतालका कोठाभन्दा कुनै कमी छैन ।’

कार्यक्रमले क्यानेडियन रेडक्रसकै सहयोगमा अस्पतालका लागि आवश्यक अल्ट्रासाउन्ड, इसिजी, दाँत परीक्षणका लागि आवश्यक उपकरण, फोरो थेरासी (नवजात शिशुमा जन्डिसको मात्रा पहिचान)अक्सिजन, नयाँ शैय्या, म्याट्रेस, प्रयोगशालाका लागि आवश्यक सबै सामग्री पनि थप सहयोग गरेको भूकम्प प्रतिकार्य कार्यक्रमका रसुवाका संयोजक मधुसुधन थापाले जानकारी दिए ।

पानी र शीतको थोपासमेत चुहिने टेन्टमुनि नै अत्यन्त दुःखका साथ बस्दै आएका स्वास्थ्यकर्मीका लागि नयाँ भान्सासहितको भवन तयार भएपछि खुसीले गद्गद् भएका छन् । ‘हावाहुरी र चिसोका कारण कति दिन टेन्टभित्र निदाउन नै सकेनौँ’ जनस्वास्थ्य अधिकृत विजय रिमालले भने ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष थापा र उपमहामन्त्री हरि न्यौपानेले भूकम्प अतिप्रभावित १४ जिल्लामा सोसाइटीले अन्तर्राष्ट्रिय सहयोग जुटाएर आवास पुनर्निर्माण, स्वास्थ्यचौकी भवन निर्माण, आयआर्जन, जीविकोपार्जन, खानेपानी तथा सरसफाइका कार्यक्रम समुदायमा सञ्चालन भइराखेको चर्चा गर्दै आगामी दिनमा मानवीय सेवाका विविध क्षेत्रमा सोसाइटी अनवरत रूपमा जुटिरहने बताए ।

रेडक्रसको रसुवा शाखाका सभापति बाबुलाल तामाङले मानवीय सेवाका लागि रेडक्रसले जिल्लामा विभिन्न काम गरिरहेको जानकारी दिए । रेडक्रस तथा रेडक्रिसेन्टको अन्तर्राष्ट्रिय महासंघका नेपाल प्रतिनिधि जुजा किम र क्यानेडियन रेडक्रसका अध्यक्ष ग्याभिन गाइल्सले नेपाल रेडक्रसमार्फत मानवीय सेवाका लागि सहयोग जारी रहने जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रमेशप्रसाद अधिकारी र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चिकित्सक गुणनिधि शर्माले नेपाल रेडक्रस स्वास्थ्य सुधारमा उल्लेखनीय काम गर्दै आएको र भूकम्पले क्षति पु¥याएका स्वास्थ्य संस्था पुनर्निर्माण गरी हस्तान्तरणमा रेडक्रस अग्रणी रहेको बताए ।

सोसाइटीले भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, काभ्रे, मकवानपुर, दोलखा, रामेछाप, ओखलढुंगा, ललितपुर, भक्तपुर, काठमाडौंलगायतका १४ जिल्लामा आवास निर्माण, स्वास्थ्य, खानेपानी र सरसफाइ, जीविकोपार्जनलगायत क्षेत्र समेटी भूकम्प प्रतिकार्य कार्यक्रम सञ्चालन गरिराखेको छ । रेडक्रसले हालसम्म आफूले जिम्मा लिएका ७ हजार ३ सय ९३ निजी आवास पुनर्निर्माण सहयोगमध्ये ३ हजार २ सय ७७ निजी घर पुनर्निर्माण सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया