‘धूमपान छाड्ने इच्छा शक्तिलाई दृढ बनाइराख्ने हो भने नसक्ने प्रश्नै हुँदैन । यसको लागि खान मन लागेको वेलामा लामो लामो स्वास लिने र आफ्नो ध्यान अन्यत्र केन्द्रित गर्ने, फलफुलको जुस पिउने, धूमपान गर्नेको संगत नगर्ने ,आदि बानी व्यहोरा अपनाउन सकिने चिकित्सकहरू बताउँछन् ‘
-पुष्करराज प्रसाई हिजो आज स्वास्थ्य मन्त्रालयमा जाने जो कोेही मानिसलाई गेटमा रोकी धूमपान या सुर्तीजन्य पदार्थ भएनभएको खानतलासी गरेर मात्र भित्र प्रवेश दिने गर्न थालिएको छ । यदि साथमा धूमपान र सुर्तीजन्य पदार्थ फेला परे गेटमा नै सुरक्षाकर्मीले बरामद गरेर फालिदिन्छन् ।
यस क्रममा आजकाल दैनिकजसो मन्त्रालयको गेटमा सातदेखि १० पाकेट चुरोट को बट्टा र १५देखि २० प्याकेटसम्म खैनी गुट्खा जस्ता पदार्थ फालिन थालेको छ । मन्त्रालयबाटै यो अभियान किन थालियो ? भन्ने प्रश्नमा अब कानुनले मात्र धूमपान र सुर्तिजन्य पदार्थ को नियन्त्रण हुन नसकेकाले सम्बन्धित निकाय र जनशक्तिबाटै धूमपान छाड्न सुरु गरिएको सन्देश दिन खोजिएको हो भन्ने जवाफ सम्बन्धित मन्त्रालयका सचिव डा. पुष्पा चौधरीले दिएको समाचार चैत्र २६ गतेको गोरखापत्रमा प्रकाशित भएको थियो ।
यो समाचारले हामी सबैलाई खुसी बनाएको छ । किनकि यस्ता अभियानले सार्वजनिक स्थानमा धूमपान निषेध गराउने कुरामा महत्वपूर्ण भूमिका खेल्ने र विस्तारै यसैको प्रभाव स्वयं व्यक्ति परिवार समाजमा परी सम्पूर्ण क्षेत्र धूमपान निषेधित हुन पुग्ने आसा गर्न सकिन्छ । त्यसैले यस्ता अभियानलाई आ—आफ्ना ठाउँबाट सक्दो सहयोग गरी सफल गराउनु पनि पर्छ ।
यदि यस कुरामा सफलता हासिल गर्न सकियो भने विश्वमा धूमपान या सुर्तीजन्य पदार्थको सेवनले समाजमा निम्त्याउने गरेको ठूलो परिमाणको धनजन को क्षति हामीलगायत हाम्रा भावी सन्ततिले व्यहोर्नुपर्ने छैन । सोही अवस्था प्राप्तिको लागि आज विश्वका राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्था नागरिक समाज बुद्धिजीवि सबै प्रयासरत छन् तथापि पनि अपेक्षित सफलता मिल्न सकिरहेको छैन ।
के हो त धूमपान ?
धूमपान शब्दको शाब्दिक अर्थ लगाउँदा धुम्र भन्नाले धुवाँ र अनि पान भन्नाले सेवन हो । यसको नियन्त्रणमा प्रभावकारिता ल्याउन ढिलै भए पनि एउटा अभियान सुरु गरिएको छ, । धूमपान र सुर्तिजन्य वस्तु अन्तर्गत चुरोट , गाँजा, कँकड, हुक्का, बिडी, खैनी सुर्तीलगायत का वस्तु पर्दछन ।
हामिलाई यी धूमपान या सुर्तीजन्य पदार्थ सेवन नगर्न , आफ्नो जिवन स्वस्थ सुन्दर राख्न , स्वस्थ जिवनशैली अपनाउन सचेत गराउने उद्देश्यले विभिन्न निकाय संयन्त्र निर्माण गठन भएका छन् र हुने क्रम जारी नै छ तर जसले नियन्त्रण र कारबाही गर्नुपर्ने हो तिनै जनशक्ति र निकायमानै यसको प्रयोग भएर धूमपान रोक्न नसक्दा ऐन कानुन को कार्यान्वयन मा कठिन भएको मात्र होइन वास्तवमा ति ऐन कानुनको धज्जी नै उडिरहेको अवस्था थियो ।
स्वास्थ्य संस्था ले प्रकाशित गरेको जानकारीअनुसार वर्तमान अवस्थामा अहिले हरेक सेकेण्ड मा एक जनाको मृत्यु सुर्ती सेवनको कारणले हुने गर्छ भने हरेक १० जनामध्ये एकजना वयस्क अकालमा धूमपानकै कारणले मृत्युवरण गर्छ । यस्तै क्रम चलिरहने हो भने सन् २०३० सम्ममा चुरोट सेवनले प्रत्येक सेकेण्डमा ६ जनामध्ये १ जना मान्छेको मृत्यु गराउने विश्वव्यापी तथ्यांकगत पूर्वानुमान छ ।
युद्ध, हिंसा, अपराध र आत्महत्या, दुर्घटना, आदिजस्ता थुप्रै मृत्युका कारणहरूलाई लगभग दोब्बर पार्दा पनि धूमपानको कारणले हुने मृत्यु कोे संख्याभन्दा धेरै हुन सक्दैन । अहिले मुलुकको जनसंख्याको झण्डै ३१ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको तथ्यांकसमेत प्रकाशित भएको पाइन्छ । यो भयावह अवस्था हो ।
धूमपानमा निकोटिन, टार, कार्बन, मनोअक्साइड, लिडनाइट्रोसोमाइनजस्ता क्यान्सरजन्य चार हजार भन्दा बढी प्रकारका हानिकारक रासायनिक पदार्थ रहने हुँदा त्यसले सिधै केही सेकेन्डभित्रै ब्रेनमा र केही मिनेटमा नै रगतमा असर गर्ने कुरा विज्ञहरू बताउँछन् । जसको कारण मुटु, ब्रेन, फोक्सोमा क्यान्सर रोग बढ्दै गएको बताइन्छ ।
धूमपानले नसाको बीचमा बोसो जम्मा गराउँछ र बोसो जम्मा हुदाँ नसा साँघुरो भई रक्त सञ्चार मा अवरोध उत्पन्न भई हृदयघात हुने गर्छ । अझ गर्भवती महिलाको अवस्थामा त महिना नपुगी जन्मने, कम तौलको हुनेजस्ता समस्या आउने चिकित्सकहरू बताउँछन् । यस्तो भयावह अवस्थाको नियन्त्रण गर्ने प्रयास विश्व स्वास्थ्य संगठनलगायत राज्यले नगरेको पनि होइन ।
हरेक वर्ष मे ३१ को दिनलाई धूमपान विरुद्धको दिवस मनाउने गरेको धेरै वर्ष भइसकेको छ । यस दिवसमार्फत विश्वमा धूमपानबाट मानवमा पर्ने असरबारे जनजागरण ल्याउने प्रयास पनि गरिरहेको पाइन्छ । त्यसैगरी राज्य स्तरबाट आफ्ना ऐन कानुनहरूमा पनि नियन्त्रणसम्बन्धी व्यवस्था गरिएको पाइन्छ ।
जसअनुसार हाम्रै देशमा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्न बनेको ऐन ०६८ मा सार्वजनिक स्थानमा धूमपान तथा सुर्ती सेवन गर्न नहुने व्यवस्था छ । ऐ. ऐनको दफा ३ ले राज्य तथा सरकारी निकाय संस्था वा कार्यालय शिक्षण संस्था पुस्तकालय तालिम तथा स्वास्थसम्बन्धी संस्थालगायत मानिसको जमघट हुने सार्वजनिक स्थलमा धूमपान निषेध गरेको छ । तर, व्यवहारमा संसारभर दैनिक १ करोड चुरोट बिक्रि हुन्छ ।
नेपालमा धूमपान र सुर्तीसेवनवाट वर्षेनी २६ हजारभन्दा बढीको ज्यान जाने गरेको तथ्य अर्बुद रोग निवारण संस्थाले राजधानीमा गरेको एक कार्यक्रममा जानकारी गराइएको थियो । संस्थाले दिएको जानकारीअनुसार सन् २०२० सम्ममा धूमपान र सुर्ती सेवनवाट मृत्यु हुनेको संख्या ८४ लाख पुग्नेछ । विश्व स्वास्थ्य संगठनका अनुमानमा १५ वर्षपछि अर्थात् २०३० मा मृत्यु हुनेको संख्या एक करोड पुग्नेछ ।
डब्लुएचओका अनुसार २५ वर्षअघि धूमपान र सुर्ती सेवनवाट संसारभर वार्षिक ३० लाख मानिसको मृत्यु भएको तथ्यांक थियो भने १७ वर्षअघि मृत्युदर वार्षिक ४० लाख र १२ वर्षअघि ५० लाख भएको तथ्यांक छ । धूमपानको लत या बानिमा फसिसकेका व्यक्तिहरूलाई त्याँहाबाट बाहिर आउन त्यति सजिलो त छैन तर असम्भव पनि छैन । त्यसैले पनि यो एउटा चुनौतीपूर्ण कार्य हो ।
धूमपान छाड्ने इच्छा शक्तिलाई दृढ बनाइराख्ने हो भने नसक्ने प्रश्नै हुँदैन । यसको लागि खान मन लागेको वेलामा लामो लामो स्वास लिने र आफ्नो ध्यान अन्यत्र केन्द्रित गर्ने, फलफुलको जुस पिउने, धूमपान गर्नेको संगत नगर्ने, आदि बानी व्यहोरा अपनाउन सकिने चिकित्सकहरू बताउँछन् ।
यसको लागि राज्य को तर्फबाट पनि भइरहेको कानुनमा संसोधन गरी स्कुल, शिक्षक, विद्यार्थि , अभिभावक, नागरिक समाज कर्मचारी पेसागत व्यवसायी, दलगत कार्यकर्ता, नेतालाई राजनैतिक सेवाका अवसर वृद्धि विकास, छात्रवृत्ति, नियुक्ति, बढुवा आदिको अवसर वितरण गर्दा लिइने आधार मापदण्डमा नै धूमपान सुर्तिजन्य पदार्थ सेवन नगर्नेलाई पहिलो प्राथमिकता र गर्नेलाई दोश्रो प्राथमिकतामा राख्ने गरी दण्ड र पुरस्कार हुँने कानुन निर्माण गर्न सकेमा केही हदसम्म धूमपानमा कमि हुने थियो कि भन्ने आशा गर्न सकिन्छ ।
यसको साथै वर्तमान ऐनले सुर्तीजन्य पदार्थको खोल एवं र्यापर्समा ९०% भागमा चेतावनीमूलक सन्देशयुक्त चित्र राख्नुपर्नेमा अहिले उत्पादक कम्पनीले ७५ % भागमा मात्र यस्तो चित्र राख्दै आएको पाइन्छ । कानुनमा धूमपान र सुर्तीजन्य पदार्थ बिक्रि गर्न बेग्लै अनुमति लिनुपर्ने व्यवस्था भएकोमा सो कानुनको पालना गरिएको पाइँदैन ।
कानुन को शासन कायम गराउने हो भने यस्ता धुम्रपान नियन्त्रणसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन गराउन सक्नुपर्दछ । अनि मात्र अन्यमा पनि धूमपान नियन्त्रण कानुनको पालनाप्रति उत्प्रेरणा जाग्न सक्दछ ।
प्रतिक्रिया