नेपाल अन्डामा आत्मनिर्भर

राष्ट्रमा कुखुराजन्य वस्तुको वार्षिक कारोबार ४० अर्ब रुपैयाँ पुगेको छ । कुखुराको मासु, अन्डा, चल्ला, मलको कारोबार बढेपछि कुखुरापालन व्यवसाय फस्टाएको हो । यसरी दुई वर्षअघि सरकारको तथ्यांकमा वार्षिक पौने ३४ अर्बको कारोबार हुने गरेकोमा हाल ६ अर्ब रुपियाँ वृद्धि भएको छ ।

विश्वनाथ खरेल नेपालको ७७ जिल्लामध्ये ११ जिल्लालाई छाडेर ६६ जिल्लामा व्यावसायिक रूपमा कुखुरापालन हुँदै आएको छ । ११ जिल्ला भने उच्च हिमाली क्षेत्रमा चिसो हुने भएकाले त्यहाँको तापक्रम ज्यादै कम हुने हुँदा सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, जाजरकोट, जुम्ला, मुगु, कालीकोट, अछाम, बाजुरा र हुम्ला गरी ११ जिल्लामा व्यावसायिक कुखुरापालन हुँदैन । बाँकी रहेका जिल्लामा भने कुखुरा व्यावसायिक कार्य हुँदै आएको छ । यी जिल्लामा २१ हजार ९ सय ५६ व्यावसायिक कुखुरा फार्म रहेको सम्बन्धित क्षेत्रले जनाएको छ ।

तर, देशभर कुखुरापालन भए पनि चितवन, काभ्रे, दाङ, सुनसरी, धादिङलगायत जिल्ला पकेट क्षेत्र हुन् । तीमध्ये २० हजार ४ सय ८३ ब्रोइलर, १३ सय ३७ लेयर्स कुखुरा र १ सय २८ ह्याचरी, आठ गिरिराज कुखुराका फार्म छन् । विभागका अनुसार ६ करोड ८ लाख २६ हजार ८ सय कुखुरापालन गरिएको छ । तीमध्ये ५ करोड २६ लाख ६६ हजार ब्रोइलर, ६९ लाख ८ हजार ५ सय लेयर, १२ लाख ५२ हजार २ सय अन्य जातका कुखुरा पालिएको छ । यसरी कुखुरापालनमा ५५ हजार ८ सय ७१ रोजगारी पाएका छन् ।

यसमा पनि ९९ हजार ६ सय अस्थायी कामदार छन् । कुखुरापालनमा निजी क्षेत्रको लगानी छ । यो व्यवसायमा अर्बौं लगानी गरिएको सम्बन्धित क्षेत्रका विज्ञहरूको भनाइरहेको पाइन्छ । यसबाट बेरोजारी रहेका युवाहरूलाई स्वदेश मै स्वरोजगारको अवसर बढाउन मद्दत पुगेको अनुमान गर्न सकिन्छ । राष्ट्रमा कुखुराजन्य वस्तुको वार्षिक कारोबार ४० अर्ब रुपैयाँ पुगेको छ । कुखुराको मासु, अन्डा, चल्ला, मलको कारोबार बढेपछि कुखुरापालन व्यवसाय फस्टाएको हो ।

यसरी दुई वर्षअघि सरकारको तथ्यांकमा वार्षिक पौने ३४ अर्बको कारोबार हुने गरेकोमा हाल ६ अर्ब रुपियाँ वृद्धि भएको छ ।नेपालमा कुखुरापालनको संख्या बढेपछि अन्डामा आत्मनिर्भर भएको हो । हाम्रो भान्सामा प्रयोग हुने दूध, तरकारीदेखि माछामासुसम्म आयातित प्रयोग भइरहेको बेला अन्डा भने उपभोक्ताले स्वदेशी उत्पादनबाट नै प्रयोग गर्न पाउने भएका छन् । यसको साथसाथै प्रत्येक व्यक्तिलाई वार्षिक ४८ अन्डा आवश्यक पर्नेमा अहिले प्रतिवर्ष प्रतिव्यक्ति ५० दशमलव ७ गोटाका दरले उत्पादन भएको पशुपंक्षी विभागले जनाएको छ ।

यसर्थ देशभर खपत हुने जति अन्डा उत्पादन गर्न सक्षम भएको सम्बन्धित क्षेत्रको दाबी रहेको छ । यसले गर्दा देश अब अन्डामा आत्मनिर्भर भएको छ । यसरी मुलुकमा १ अर्ब २० करोड २१ लाख गोटा अन्डा उत्पादन भएको सम्बन्धित क्षेत्रको विभागले जनाएको छ । नेपाल सरकारले चालु आर्थिक वर्ष ०७४÷७५ मा मुलुक अन्डामा आत्मनिर्भर बत्रे योजना बनाएको थियो । यसरी गतवर्ष कुखुराको मासु २० अर्ब ५२ करोड ८८ लाख रुपैयाँ, अन्डा ९ अर्ब १३ करोड ३७ लाख ३६ हजार, चल्ला ३ अर्ब ६० करोड ७६ लाख, कुखुराको मल ४५ करोड ३७ लाख रुपैयाँको कारोबार भएको पशुपंक्षी विभागले जनाएको छ ।
यसर्थ सरकारले कुखुरापालन व्यवसायीलाई अझ बढी प्रेणा दिनका लागि आर्थिक अभिवृद्धि गर्नका लागि बजारीकरणका साथसाथै निःशुल्क भ्याक्सिन वितरण, रानीखेत रोग नियन्त्रणलगायत कार्यक्रमहरू छन् । यसरी उत्पादन बढाउन पशुपक्षी मन्त्रालयले कुखुरापालन विस्तार गरेर मासु र अन्डा उत्पादन बढाउन अन्डा आत्मनिर्भरता कार्यक्रम, पारिवारिक पोषण सुरक्षा, ग्रामीण कुखुरापालन, स्थानीय पशु संरक्षणअन्तर्गत कुखुरापालन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कुखुरामा लाग्ने रोग नियन्त्रण गर्ने उपायहरू अपनाउनु पर्ने एकातिर देखिन्छ भने अर्कोतिर कुखुरापालन कम जोखिमको व्यवसाय बनाउनुपर्ने आजको समयको माग रहेको छ । यो व्यवसायमा रहेका ७५ प्रतिशतभन्दा बढी किसानले नाफा कमाउने गरेका छन् । ब्रोइलर कुखुराको मृत्यु दर १२ दशमलव ८ प्रतिशत, लेयर्सको ९ दशमलव २, प्यारेन्टको सात प्रतिशत छ । यस व्यावसायमा सरकारले बजेटमार्फत किसानलाई आवश्यक ऋण उपलब्ध गराउने घोषणा गरे पनि किसानले ऋण नपाएको गुनासो गर्दै आएका छन् ।

कुखुरा पालिरहेका ६२ दशमलव ३ प्रतिशत किसानले आवश्यकताअनुसार ऋण नपाएकोले गुनासो गरेका एकातिर छ भने अर्कोतिर किसानले ऋण लिने प्रक्रिया झन्झटिलो भएको गुनासो गरेका छन् । यसका लागि सहुलियत ऋणको व्यवस्था गर्न, बिमाको लागि उपयुक्त वातावरण तयार गर्न, कुखुराका फार्म निर्माण, दाना र चल्ला खरिदमा अनुदानको व्यवस्था गर्न सुझाव दिँदै आएका छन् । विदेशबाट गैरकानुनी ढंगले आयात हुने चल्लामा पूर्ण प्रतिबन्ध लगाउन, बर्डफ्लु तथा महामारीमा नष्ट भएका कुखुरा, अन्डाको क्षतिपूर्ति दिन सरकारलाई सुझाव दिइएको छ ।

कुखुरा र अन्डाको बिक्री उचित बजार व्यवस्थासँगै किसानलाई क्षमता अभिवृद्धिसहित प्राविधिक सेवा दिनुपर्ने सम्बन्धित व्यावसायिहरूको सुझाव तथा माग रहेको छ । यसरी कुखुरापालन व्यवसाय फस्टाएर मासु र अन्डा आयात प्रतिस्थापन भए पनि ठूलो परिणाममा दाना आयात हुने गरेको छ । कुखुरालाई खुवाउने दानामा प्रयोग हुने कच्चा पदार्थ वार्षिक १५ अर्ब रुपैयाँको आयात भइरहेको व्यवसायी बताउँछन् । दानामा प्रयोग हुने मकै, भटमास, सूर्यमुखी र तिलको पिनालगायत कच्चापदार्थ खरिदमा मोटो रकम बाहिरिन्छ ।

दाना बनाउने ९०–९५ प्रतिशत भटमास र ७० प्रतिशत मकै विदेशबाट आायत हुने गरेको छ । मुलुकमा करिब एक सय दाना उद्योग छन् । देशमा वार्षिक २१ लाख ४५ हजार २ सय ९१ मेट्रिक टन मकै, २८ हजार ३ सय १९ मेट्रिक टन भटमास उत्पादन हुने गरेको छ । स्वदेशमै दानामा प्रयोग हुने कच्चा पदार्थ मकै, भटमास उत्पादन गर्न सके व्यवसाय सञ्चालन गर्न अझ सजिलो हुने व्यवसायी बताउँछन् । कुखुरापालनअन्तर्गत ह्याचरीमा नयाँ प्रविधि भित्रिएसँगै यो व्यवसाय फस्टाएको हो । कुखरा व्यवसायमा पछिल्लोपटक व्यावसायिक घरानाको लगानी भित्रिएको छ ।

पछिल्ला केही वर्षमा कुखुराको मासु र अन्डा उपभोगसमेत ह्वात्तै बढेको छ । हाम्रो देशमा कुखुरापालन व्यवसाय सञ्चालन गर्नका लागि करिब एक खर्ब रुपैयाँ लगानी भएको पोल्ट्री व्यावसायिकहरूको अनुमान रहेको पाइन्छ । नेपाल सरकारले पशुजन्य उत्पादनमा आत्मनिर्भर हुने घोषणा भएको तीन वर्षपछि नेपाल अन्डामा आत्मनिर्भर भएको छ । यसमा सरकारले पशु र पन्छीजन्य पदार्थबाट प्राप्त हुने मासु, अन्डा र दूधमा आत्मनिर्भर हुने योजना सार्वजनिक गरेको थियो ।

गतवर्ष कूल उत्पादन र देशको जनसंख्याको हिसाब गर्दा नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ३३ वटा अन्डा उपलब्ध थियो । हाल सो उत्पादनमा झन्डै ४६ प्रतिशतभन्दा बढी उत्पादन गरी नेपाल अन्डा उत्पादनमा आत्मनिर्भर भएको हो ।  आजभन्दा दुई वर्ष पहिले पशुपन्छी विकास मन्त्रालयले ४० बुँदे प्रतिबद्धतापत्रमा किसानको साथी अभियानबाट देशको ७५ जिल्लाका किसानलाई लक्षित वर्गमा समावेश गराएपछि सो परिणाम प्राप्त भएको पशुपन्छी विकास मन्त्रालयको दाबी छ । गत तीन वर्षदेखि हाँस र कुखुराको अन्डामा लगातर उत्पादन वृद्धि भएको तथ्यांकमा उल्लेख छ ।

आर्थिक वर्ष ०७०÷७१ मा हाँसको अन्डा १ करोड ३४ लाख ३ हजार ०७१÷७२ मा १ करोड ३५ लाख ५४ हजार र आर्थिक वर्ष ०७२÷७३ मा १ करोड ३९ लाख ६ हजार अन्डा उत्पादन भएको थियो । त्यसैगरी कुखुराको अन्डा आर्थिक वर्ष ०७०÷७१ मा ८५ करोड ९५ लाख १५ हजार, आर्थिक वर्ष ०७१÷७२ मा ८६ करोड ५९ लाख ४७ हजार र आर्थिक वर्ष ०७२÷७३ मा एक अर्ब २९ करोड ४१ लाख ६६ हजार अन्डा उत्पादन भई नेपाल अन्डामा आत्मनिर्भर भएको अन्डा उत्पादक संघले जानकारी दिएको थियो ।

प्रतिक्रिया