महाभूकम्प : भाेगाइ र अनुभूति

‘ऐतिहासिक तथा पुरातात्विक महत्वका धरोहरहरूको पुनर्निर्माण तथा संरक्षणका क्षेत्रमा जुन गतिमा कार्य भइरहेको छ, यसले आमनागरिकहरूमा आशाको किरण छर्न सकेको छैन । समय केही घड्कीसकेको छ तैपनि विलम्ब नगरी स्पष्ट कार्ययोजनासहित पुनर्निर्माणको महाअभियान अघि बढेमा यस्ता धरोहरहरूको मौलिकता र संरक्षणले सार्थकता पाउने थियो ‘

तीन वर्ष अघिको १२ वैशाखे मध्याह्नको त्यो अकल्पनीय घटना र दिनले नेपालको आमसञ्चार जगतमा मात्र होइन विश्वका प्रमुख सञ्चार माध्यमहरूमा महत्वपूर्ण समाचारको रूपमा छायो विनासकारी महाभूकम्पका रूपमा ।

मध्याह्न ११ बजेर ५६ मिनेटको समयमा गोरखाको उत्तरीक्षेत्रमा रहेको बारपाक गाउँलाई केन्द्रविन्दु बनाएर गएको त्यस आमविनासकारी महाभूकम्पको भयावह तरंगले सिंगो राष्ट्र एकपटक फेरी यसरी झस्कियो कि त्यसको विनासकारी क्षतिले समग्र नेपालीमा दुःख तथा पीडाको अमिट छाप लामो समयका लागि छोड्यो ।

मानवीय तथा भौतिक संरचनाको व्यापक क्षतिले नेपाली मनमस्तिस्कमा अवस्मरणीय छाप त छोड्यो नै भोलिका दिनमा यस्ता प्राकृतिक विपत्तिबाट सजग र सचेत रहनका लागि ठूलै पाठ पनि सिकायो । यो त्यही दिन र घटना थियो जसले नेपालीमा पुनः एकता, धैर्यता तथा साहसको ऊर्जा पनि थप्यो । विनासकारी महाभूकम्पलाई हामी गोरखा भूकम्पको नामले पनि चिन्दै आएका छौँ ।

यस गोरखा भूकम्पले नेपालका मध्यपहाडी तथा पश्चिम क्षेत्रका विभिन्न जिल्लाहरूमा व्यापक जनधनको क्षति पुर्यायो भने भौतिक संरचनाहरूको समेत अपूरणीय क्षति भएको छ । खास गरेर नेपालका मध्यक्षेत्र तथा पश्चिमी क्षेत्रका विभिन्न ११ जिल्लामा सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति पुर्यायो भने समग्रमा ३४ जिल्लामा क्षति पुर्यायो । ०७२ साल १२ वैशाखको अकल्पनीय भूकम्पका कारण ८ हजार ८ सय ५७ आमनागरिकको असामयिक निधन भयो ।

साथै २१ हजारभन्दा बढी घाइते भए भने करिब ६ लाख घर पूर्ण र आंशिक रूपमा क्षति भए । यसका साथै विदेशी नागरिक ८९ जनाको निधन भयो । आर्थिक रूपमा भएको क्षतिको मूल्यांकन गर्ने हो भने करिब १० विलियन डलर बराबरको क्षति भएको अनुमान गरिएको छ, जुन क्षति नेपालको कुल ग्रार्हस्थ उत्पादनको ५० प्रतिशतको हाराहारीमा हुन आउँछ ।

भूकम्प गएको तीन वर्ष बितिसकेको यस अवधिका अझै हजारौँ निमुखा पीडित जनता अस्थायी घरवासमा जेनतेन गुजारा गरीआएका छन् । यसबाट पनि अनुमान लगाउन सकिन्छ कि यो महाभूकम्पको विनास लीला कत्तिको भयावह थियो भन्ने कुरा । प्राथमिक आवश्यकता भनेको महाभूकम्पपछिको घरवारविहीन भएका लाखौँ जनतालाई भूकम्पीय दृष्टिकोणबाट सुरक्षित तथा भरपर्दो र आर्थिक रूपमासमेत मितव्ययी घर निर्मार्ण र पुनःस्थापना नै थियो ।

यसका लागि पुनर्निर्माण राष्ट्रिय प्राधिकरणले योजनाबद्धरूपमा विभिन्न निकाय तथा गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैसस लगायतको सहकार्य र सामञ्जस्यमा पुनर्निर्माण र पुनःस्थापनाका कार्यलाई पहिलो प्राथमिकतामा राखेर अघि बढाउनु पर्दथ्यो । अब पुनर्निर्माण प्राधिकरण गठन भएको पनि २८ महिना भइसकेको छ ।

आमविनासकारी भूकम्पबाट भत्किएका आवासीय घर तथा भौतिक संरचनाको पुनर्निर्माण र विस्थापित परिवारको पुनःस्थापनाको उद्देश्यका साथ गठित यस प्राधिकरणले सोचे अनुसारको कार्य गर्न नसक्दा थप आलोचना सर्वत्र छ । आमनागरिकको गुनासोलाई सम्बोधन गर्ने दिशामा अनुभूति हुने खालका काम अघि बढाइनु पर्दछ ।

पुनर्निर्माणको कार्य गर्दा नेपाली मौलिक शैली तथा पहिचान बोकेका घरहरू प्राथमिकतामा नपर्नु दुःखको कुरा हो भने भूकम्पपछि बनेका घरहरू नेपाली ग्रामीण आवश्यकता पूर्ति गर्ने, उत्पादनमुखी र आजीविकालाई सघाउन सक्ने खालको नभएको पनि गुनासो छ । विनासकारी महाभूकम्पका कारण देशका विभिन्न स्थानमा रहेका ऐतिहासिक, पुरातात्विक महत्वका सयौं धरोहरहरूमा अपूरणीय क्षति पुर्यायो ।

विशेष गरेर काठमाडौं उपत्यकाका तीन महत्वपूर्ण प्राचीन सहरहरूका युनेस्कोद्वारा विश्वसम्पदा सूचीमा सूचीकृत क्षेत्रका ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका कैयौँ धरोहरहरू क्षणभरमा नै विनास भए भने कत्ति यस्ता धरोहरहरूमा अपूरणीय क्षति पु¥यायो पनि । जुन क्षतिको कुनै पनि मूल्यमा चुकाउन सकिँदैन । नेपालको आर्थिक विकासको प्रमुख क्षेत्रको रूपमा रहेको पर्यटन क्षेत्रमा यस महाभूकम्पले जुन भयावहको स्थिति निम्त्याएको थियो, त्यसमा पछिल्ला दिनहरूमा आशातीत सुधार आएको देखिन्छ ।

तैपनि पर्यटनक्षेत्रमा व्यापक सुधार र रूपान्तरणका लागि ऐतिहासिक धरोहर पुनर्निर्माण कार्यलाई प्राथमिकतामा राखेर सकेसम्म चाँडो सम्पन्न गर्ने दिशामा सम्बन्धित क्षेत्रको ध्यान जानु आवश्यक छ । ढिलो नगरौँ समयमै केही गरेर देखाएमा आगामी नेपाल भ्रमण वर्षलगायत विभिन्न प्रादेशिक भ्रमण वर्षका कार्यक्रमलाई सफलतातर्फ गतिमान गराउन हौसला मिल्ने थियो नै ।

यस्ता ऐतिहासिक तथा पुरातात्विक महत्वको धरोहरहरूको पुनर्निर्माण तथा संरक्षणका क्षेत्रमा जुन गतिमा कार्य भइरहेको छ, यसले आमनागरिकहरूमा आशाको किरण छर्न सकेको छैन । समय केही घड्कीसकेको छ तैपनि विलम्ब नगरी स्पष्ट कार्ययोजनासहित पुनर्निर्माणको महाअभियान अघि बढेमा यस्ता धरोहरहरूको मौलिकता र संरक्षणले सार्थकता पाउने थियो ।

आशा गरौँ सबैको सामूहिक प्रयास र प्रतिबद्धता भएमा आशाका किरण उजागर हुने थिए । यसै सन्दर्भमा नेपालका सांस्कृतिक तथा धार्मिक महत्व बोकेका ऐतिहासिक सम्पदाको पुनर्निर्माणका कार्यमा युनेस्कोले सहयोग गर्ने दिशामा गतवर्ष एक महत्वपूर्ण समझदारी भएको थियो ।

युनेस्कोले आगामी तीन वर्षका लागि काठमाडौं उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत भएका सम्पदाहरूको पुनर्निर्माणका लागि मित्रराष्ट्र चीनको हाइनान प्रान्तीय चिहाङ फाउन्डेसनसँगको सहकार्यमा कार्य गर्ने गरी आपसी समझदारी भएअनुसार यस दिशामा पनि कार्यान्वयन पक्षलाई बडो प्राथमिकताका साथ अघि बढाइनु सान्दर्भिक रहनेछ ।

पछिल्लो जानकारीअनुसार ०७२ १२ वैशाख र त्यसपछिको २९ गते गएको भूकम्पका कारण काठमाडौं उपत्यकाभित्र र नेपालको उत्तर–पश्चिमी भागमा रहेका धार्मिक तथा ऐतिहासिक महत्व बोकेका २ हजार ९ सय संरचनाको क्षति भएको थियो भने क्षति पु¥याएका ६ सय ९१ सम्पदास्थलमा १ सय ३१ सम्पदास्थल निकै नराम्रोसँग क्षति पुर्याएको थियो ।

आमविनासकारी भूकम्पको चपेटामा निर्दोष तथा निमुखा बालबालिका, तिनका अभिभावक तथा कैयौँ गाउँवस्तीहरू सखाप भए । हेर्दाहेर्दै केही दिन अघिका रमणीय गाउँवस्तीहरू, मनोरम तथा हरियालीले छाएका पहाड तथा तिनै पहाडका सेरोफेरोबाट कलकल बग्ने नदी छेउका वस्तीहरू उजाड भए ।

प्रकृतिको विनासको लीला यति क्रुर र आततायी होला भन्ने कल्पनासम्म नगरिएका घटना तथा परिघटनाहरू विनासकारी भूकम्प गएको तीन वर्षपछि पनि हाम्रो मानसपटलमा अझै ताजै छन् । यस्तो भयावह प्राकृतिक विपत्तिका समयमा पनि नेपालीको साहस, धैर्यता तथा पीडाको समयमा पनि विचलित नभई विपत्तिलाई व्यवस्थापन गर्ने दृढ इच्छाशक्ति आपैmँमा निकै प्रशंसाको अतुलनीय उदाहरण हुन सक्छ ।

हामीले विपत्तिलाई संयम तथा धैर्यताका साथ जुन रूपमा व्यवस्थापन गर्ने उत्सर्गता देखायौँ अवश्य पनि भोलिका पुस्ताका लागि उदाहरण हुनेछ । विनासपछिको पुनःस्थापना तथा पुनर्निर्माणका कार्यमा सबैको अग्रसरता तथा लगनशील हातहरू साथ रहेमा अवश्य पनि नयाँ नेपालको पुनर्निर्माणको महाअभियानलाई सार्थकता दिन सक्नेनै छौँ भन्दा अतिशयोक्ती नहोला ।

प्रतिक्रिया