‘जसरी मान्छेको रगत परीक्षण गर्न शरीरको कुनै भागबाट एक थोपा रगत निकालेर ल्याब मेसिनमा राखे पुग्छ, त्यसरी नै कांग्रेसको पराजयको परीक्षण गर्न काठमाडौंको बानेश्वर र कोटेश्वर क्षेत्रको सर्वेक्षण गरे पुग्छ । ७ सय ५३ वटैै पालिकाको सर्वेक्षण गरिरहनु पर्दैन । मुलुकका कुनाकाप्चामा अन्तर्घातको पाठ सिकाएकै बानेश्वर र कोटेश्वरका कांग्रेस कार्यकर्ताले हो ।‘
सन्त नेता कृष्णप्रसाद भट्टराईले आफूले जन्माएर हुर्काएको पार्टी नेपाली कांग्रेसबाट सन्यास लिनुअघि नेता तथा कार्यकर्ताहरूको विशेषताबारे छुट्टाछुट्टै परिभाषा गरेका थिए । नेताहरूको विशेषताबारे उनले भनेका थिए, ‘ कांग्रेस पार्टी गरिब हुँदै गयो नेता धनी हुँदै गए।’ कार्यकर्ताको विशेषताबारे उनले भनेका थिए–‘ भोट हाल्ने बेलामा बाहेक अरू दिन कांग्रेसका कार्यकर्ता पार्टीप्रति ज्यादै इमान्दार छन् ।’
०४८ सालको आम निर्वाचनमा काठमाडौं–१ बाट प्रतिनिधि सभाका लागि उम्मेद्वार बनेका तत्कालिन प्रधानमन्त्री भट्टराईले नयाँ बानेश्वरमा आयोजित आमसभामा बोल्दै भनेका थिए, ‘राजधानी काठमाडौंको मुख्य समस्या खानेपानी हो, यसका लागि मैले धेरै स्रोत खोजेँ, उपत्यकाभित्र कुनै स्रोत देखिन, अब मेलम्चीबाट पानी ल्याएर म काठमाडौंवासीलाई खुवाउँछु ।’भट्टराईले मेलम्चीको पानी ल्याउने घोषणा गर्दै गर्दा ताली पिट्ने र हाँस्नेहरू बराबरजस्तै थिए । मञ्चमा बस्नेहरू अरू धेरै हाँसेका थिए ।
मञ्चमा बस्नेहरू हाँसेको देखेपछि सन्त नेता भट्टराईले पनि हाँसो थाम्न सकेनन् उनी पनि एक छिन हाँसे । भोलिपल्टका मिडियामा उक्त समाचार हदैसम्मको ‘जोक’का रूपमा आयो । नेपाली कांग्रेसका सभापति , बहालवाला तथा भावी प्रधानमन्त्री भट्टराई २ सय ५ निर्वाचन क्षेत्रमध्ये त्यतिबेला जहाँबाट पनि उम्मेद्वार हुन सक्थे । उम्मेद्वार बनिदिन अनुरोध गर्दै उनी कहाँ धेरै निर्वाचन क्षेत्रबाट डेलिगेसन आएको थियो, तर उनले काठमाडौं क्षेत्र नं १ नै रोजे । केही ठूला नेताहरू दुई–दुई ठाउँबाट उम्मेद्वार बने तर उनी काठमाडौं क्षेत्र नं १ बाट मात्रै उम्मेद्वार बने ।
मुलकका सबैभन्दा सचेत मतदाता बस्ने क्षेत्र भएका कारण आफूलाई धोका हुँदैन भन्ने ठम्याईका साथ भट्टराईले यो जोखिम लिए । तर बानेश्वरको आमसभामा मेलम्चीको पानी ल्याउने घोषणा गर्दा मञ्चमा बस्नेहरूसमेत हाँसेको देखेपछि भट्टराईको मनमा चिसो पसेको थियो । सचेत मतदाता भनिए पनि उनीहरूले भट्टराईको मेलम्ची सपनालाई हावादारी ठाने । कसैले गम्भीर रूपमा लिएनन् । पढेलेखेका र प्रविधि बुझेकाहरूले समेत प्रश्न उठाए–‘२७ किलोमिटर लामो सुरुङ बनाएर पानी ल्याउने घोषणा सम्भव छैन ।’
नभन्दै भट्टराईले चुनाव हारे । त्यसपछि मुलुकमा गिरिजाप्रसाद कोइराला , मनमोहन अधिकारी , शेरबहादुर देउवा , लोकेन्द्रबहादुर चन्द सूर्यबहादुर थापा र फेरी गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । मेलम्चीको कुरा उच्चारणमा सम्म आएन । ०५६ सालको आम निर्वाचनमा भट्टराई भावी प्रधानमन्त्रीको रूपमा फेरी काठमाडौं–१ मा उम्मेद्वार बने । उनले बानेश्वरमा आयोजित चुनावी आमसभामा फेरी त्यो कुरा दोहोर्याए ।
यसपटक भने मान्छे नहाँसेको देखेपछि भट्टराईले भने, ‘म प्रधानमन्त्री भएकै बेला पिउन मात्रै होइन सडक पखाल्ने गरी मेलम्चीको पानी आउनेछ, म आँफै अघि सरेर सडक पखाल्ने छु , वरिपरी कम्युनिस्टहरू देखापरे भने तिनका आँखामा पानी छ्यापिदिनेछु ।’ यसपछि भने आम सभामा निकैबेर हाँसो र तालीको पर्रा छुट्यो । दोस्रोपटक प्रधानमन्त्री हुनासाथ भट्टराईले मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाइहाले । अनेक प्रतिकुलताका बाबजुद १८ वर्षपछि आज सन्त नेता भट्टराईको मेलम्ची सपना पूरा हुनै लागेको छ ।
यदी काठमाडौं–१ का मतदाताले ०४८ सालको निर्वाचनका क्रममा भट्टराईले गरेको उक्त घोषणालाई जोकका रूपमा नलिइदिएको भए आजभन्दा १० वर्षअघि नै मेलम्चीको पानी काठमाडौं आइसक्ने थियो। खासगरी काठमाडौं महानगरपालिकाको बानेश्वर तथा कोटेश्वर क्षेत्र नेपाली कांग्रेसको पहिलेदेखिको गढ मानिन्छ । कांग्रेसका कार्यकर्ता मात्रै इमान्दार भइदिएको भए पनि भट्टराईले चुनाव हार्ने अवस्था थिएन । हरेक चुनावमा काठमाडौंको बानेश्वर कोटेश्वर क्षेत्रमा कांग्रेसको झण्डा नगाडिएका घर कमै हुन्छन् । तर, परिणाम भने केही अपवादलाई छाडेर सधैँ कांग्रेसको विपक्षमा देखिने गरेको छ ।
यो देखेर नै सन्तनेता भट्टराईले भनेका हुन्, ‘चुनावमा भोट हाल्ने बेलामा बाहेक कांग्रेसका कार्यकर्ता सारै इमान्दार छन् । ’भर्खर सम्पन्न स्थानीय प्रदेश र संघीय तहको चुनावमा करारी हार बेहोरेपछि नेपाली कांग्रेस गम्भीर समीक्षामा जुटेको छ । पराजयका कारणहरू खोज्दै एक अर्कालाई आरोप प्रत्यारोप गर्ने क्रम जारी छ । जसरी मान्छेको रगत परीक्षण गर्न शरीरको कुनै भागबाट एक थोपा रगत निकालेर ल्याब मेसिनमा राखे पुग्छ, त्यसरी नै कांग्रेसको पराजय पराजयको परीक्षण गर्न काठमाडौंको बानेश्वर र कोटेश्वर क्षेत्रको सर्वेक्षण गरे पुग्छ ।
७ सय ५३ वटैै पालिकाको परीक्षण गरिरहनुपर्दैन । मुलुकका कुनाकाप्चामा अन्तर्घातको पाठ सिकाएकै बानेश्वर र कोटेश्वरका कांग्रेस कार्यकर्ताले हो । मुलुकका ७७ वटै जिल्लाका कार्यकर्ता यस क्षेत्रमा बस्छन् । उनीहरूले नै अन्तर्घातको तौर तरिका मुलुकका कुना काप्चामा पुर्याएका हुन् । भर्खर सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको कुरा गर्ने हो भने काठमाडाैँ क्षेत्र नं १ मा कांग्रेसका नेता प्रकाशमान सिंहलाई विवेकशील साझा पार्टीका उम्मेद्वार रविन्द्र मिश्रले कडा चुनौती दिइरहेका थिए । कांग्रेसका युवा कार्यकर्ता खुलेआम मिश्रको पछि लागे ।
त्यति गर्दा पनि सिंहले चुनाव नहार्ने स्थिति देखिएपछि हरिबोल भट्टराई नेपाली कांग्रेस (बिपि) मार्फत उम्मेद्वार बने । यसपछि भने सिंहले हार्ने निश्चित अवस्था बन्यो । उता काठमाडौं क्षेत्र नं २ मा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको भोट पनि विवेकशील साझा पार्टीले काट्ने अवस्था बन्यो । नेपालविरुद्ध खडा भएका विवेकशील साझा पार्टीका उम्मेदवार एमाले पृष्ठभूमिकै थिए । प्रकाशमान संकटमा परिसकेका थिए भने माधव नेपाल पनि ढुक्क थिएनन् । चुनावको अघिल्लो रात माधव नेपाल र प्रकाशमानका कार्यकर्ताबीच सहमति बन्यो ।
कोटेश्वरका कांग्रेसका कार्यकर्ताले सूर्यमा भोट हाले र बानेश्वरका एमाले कार्यकर्ताले रुखमा भोट हाले । यर्थाथता यही हो । काठमाडौं महानगरपालिका वडा नं ३२ का कांग्रेस कार्यकर्तामध्ये आधाभन्दा बढीले यसपटक सूर्य र तराजुमा भोट हाले । अघिल्लोपटक ३ हजार ५ सय मतको विरुद्ध १५ हजार ४ सय मत ल्याएर चुनाव जितेका प्रकाशमान सिंहले यस पटक ८ सय मत अन्तरले मात्रै चुनाव जिते । २७ चैत २००३ मा स्थापना भएको नेपाली कांग्रेसले सात दशक लामो अनवरत यात्रा तय गरिसकेको छ ।
तर, अहिलेको भन्दा कमजोर अवस्था नेपाली कांग्रेसले कहिल्यै बेहोरेन । महानायक बिपी कोइरालाको नेतृत्वमा स्थापित कांग्रेस अहिलेसम्म पनि उनकै मार्गदर्शनमा अघि बढिरहेको छ । मुलुकमा एउटा पनि अग्रगामी परिवर्तन छैनन् जसको नेतृत्व नेपाली कांग्रेसले गरेको नहोस् । अनेक आरोह अवरोहलाई छिचोल्दै कयौँ ऐतिहासीक घटनाबाट अघि बढ्दै आएको कांग्रेस आज यो हालतमा पुग्दा अरू पार्टीका कार्यकर्ता पनि सशंकित छन् । कांग्रेसजस्तै आन्तरिक घात अन्तर्घातको शिकार आफ्नो पार्टी हुने त होइन ? भन्ने चिन्ता हरेक पार्टीका नेताहरूमा देखिन्छ ।
कांग्रेसलाई यो हालतमा पुर्याएको अरूले नभएर कांग्रेसकै नेता तथा कार्यकर्ताले हो । आफ्नो १३औँ महाअधिवेशनपछिको चरणमा छ यतिबेला नेपाली कांग्रेस । नेपालमा राणा शासनको अन्त्य, प्रजातन्त्रको स्थापनादेखि गणतन्त्रको स्थापनामा तथा संविधान सभाद्वारा नयाँ संविधान निर्माणलगायत सबै ऐतिहासिक परिवर्तन कांग्रेसले आफ्नो नेतृत्वमा सफल बनाएको हो । आफ्नो लामो लगानी देश र जनताका लागि खर्चिंदै आएको पार्टी हो कांग्रेस ।
तर, पछिल्लो १३औँ महाधिवेशनद्वारा जिम्मेवारी पाएका पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा कांग्रेसको विरासत जोगाउन असफल भएका छन् । विभिन्न समयम भएका लोकतान्त्रिक अभ्यास तथा उपलब्धिलाई संस्थागत गर्दै , पार्टीको नीति, नेतृत्व पंक्ति र संगठनलाई नयाँ दिशा देउवाले दिन सक्लान भन्ने ठम्याइ धेरैको थियो । । जुन आस्था र संकल्पका साथ पार्टीको नेतृत्व देउवाले पाएका थिए त्यसमा चुके । आफ्नो पार्टीका नेता तथा कार्यकताको धरातल बुझ्न सन्त नेता भट्टराईलाई हम्मेहम्मे परेको थियो भने देउवाको क्षमताले भ्याउने कुरै भएन ।
प्रतिक्रिया