बेनी, म्याग्दी ६ फागुन । म्याग्दीको बेनी नगरपालिका-४ सिंगातातोपानीस्थित तातोपानी कुण्डको आम्दानी यहाँको सरस्वती माविका शिक्षक/शिक्षिकालाई तलबमा खर्च हुँदै आएको छ ।
प्राकृतिक चिकित्सालयको रुपमा परिचित म्याग्दी नदीको किनारमा रहेको सो कुण्डमा बिरामीले स्नान गरे वापत लिइने शुल्कले शिक्षकको तलब, भौतिक पूर्वाधारलगायत विभिन्न शैक्षिक गतिविधिमा खर्च गर्ने गरिएको हो ।
समुदायको सक्रियतामा स्थापना भएको विद्यालयमा आधारभूत र माध्यामिक तहका शिक्षकलाई वार्षिक रु १६ लाख तलब सुविधामा खर्च गर्ने गरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए ।
‘तातोपानीको कमाईको ठूलो हिस्सा शैक्षिक क्षेत्रमा खर्च गर्ने गरिएको छ, गुणस्तरीय शिक्षाका लागि तलब बाहेक अन्य शिर्षकमा पनि खर्च गर्ने गरेका छौ’ शाक्यले भने ।
उनले सो विद्यालयमा अध्ययनरत् ३०५ जना विद्यार्थीका लागि निजी स्रोतका १० जना शिक्षकको तलबभत्ता २०६६ सालदेखि निरन्तर रुपमा कुण्डको सहयोगमा खुवाउँदै आएको जानकारी दिए ।
शिक्षकको तलबभत्ता वाहेक खेलकुद मैदान खरिदमा रु २३ लाख र भवन निर्माणमा समेत कुण्डले सहयोग गरेको प्रधानाध्यापक सुरतबहादुर बानियाँले बताए ।
‘मावि तहमा सरकारी दरबन्दी छैन, कुण्डको सहयोगले नै अहिलेसम्म विद्यालय सञ्चालन गर्न सहज भएको छ’ प्रअ बानियाँले भने ।विद्यालयलाई तातोपानी कुण्ड वरदान सावित भएको छ’ प्रअ बानियाँले भने ।
भविष्यमा थप भौतिक पूर्वाधार विस्तार, दश जोड दुई कक्षा सञ्चालन लगायतका योजनामासमेत कुण्डबाट सहयोगको प्रतिबद्धता रहेको उनले बताए ।
राक्से, तातोपानी, पखेर, सिमलचौरलगायत आसपासका क्षेत्रका विद्यार्थी अध्ययनरत् सो विद्यालय जिल्ला सदरमुकाम बाहिर समुदायको आम्दानीले सञ्चालनमा रहेको नमूना विद्यालयको रुपमा समेत चिनिन्छ ।
जमिन मुनिबाट बिरेनूनको गन्धसहित ५० डिग्री तापक्रमको पानी संकलन गरिएको तलाउमा स्नान गरेर बाथ, चोटपटक लागेको, ग्यास्ट्रीक, गानोगोलालगायत विभिन्न रोग निको हुने जनविश्वास छ ।
ती रोगबाट ग्रसित नेपालका साथै भारत र जापानबाट समेत नियमित स्नान गर्न बिरामीहरु यो कुण्डमा आउने गरेका छन् । यहाँ वर्षेनी २० हजार जनाले स्नान गर्ने गरेका कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।
म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीमा समुदायको सक्रियतामा निर्माणधीन अवस्थामा रहेको जयन्ती माविको भवनलाई बेल्जियमको एक संस्थाले रु १५ लाख आर्थिक सहयोग गरेको छ ।
जीर्ण अवस्थामा रहेको भवन विस्थापित गरी समुदायबाट चन्दा र जिल्ला शिक्षा कार्यालयको सहयोगबाट दुई वर्ष अगाडि शुरु भएको भवन निर्माणमा बेल्जियममा सञ्चालित हिमालयन प्रोजेक्टका पाउल भान्द्रेले अन्नपूर्ण गाउँपालिका-६ दीपक पुनमार्फत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् बेनपा-३ का वडाअध्यक्ष पद्म पुनलाई रु १५ लाख नगद हस्तान्तरण गरे ।
विद्यालयको भवन जीर्ण हुँदा शिक्षक, विद्यार्थीको ज्यान नै जोखिममा परेपछि गाउँका विपन्न परिवारले जनश्रमदान र अन्नबाली बेचेरसमेत भवनका लागि सहयोग जुटाएका थिए ।
‘आफ्नो गाँस काटेरसमेत भवनमा सहयोग जुटाइरहेका छौँ, गाउँदेखि विश्वभर रहेका भकिम्लीवासीको सक्रियताले सहज भएको छ’ विद्यालयका प्रधानाध्यापक रामबहादुर पुनले भने ।
भौतिक संरचनाको अभावले शैक्षिक गतिविधिमा समेत प्रत्यक्ष असर गरेकाले संरचना निर्माणको क्रममा खुल्लाचौरमा टहरा हालेर प्राविदेखि माविसम्मको कक्षा सञ्चालन भइरहेको छ ।
प्रतिक्रिया