चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु

जनकपुर, ११ जेठ । चिकित्सकको लापरबाहीले जनकपुर अञ्चल अस्पतालमा एक सुत्केरीले अकालमा ज्यान गुमाउनुपरेको छ । शल्यक्रियाका क्रममा चिकित्सकले पिसाब नली काटिदिएपछि महिलाको मृत्यु भएको हो ।

महोत्तरी लोहारपट्टी घर भई जनकपुर–९ बस्दै आएकी २३ वर्षीया आरती साहको शल्यक्रियापछि मृत्यु भएको हो । प्रसूति सेवा लिन अस्पताल आएकी साहलाई आइतबार डा. सुरेन्द्र कर्णले शल्यक्रिया गरेका थिए । शल्यक्रियाका क्रममा डा. कर्णले साहको पिसाब नली काटेको पाइएको छ । अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कल्पना बछारको अनुपस्थितिमा कर्णले साहको शल्यक्रिया गरेका हुन् ।
पिसाब नली काटिएपछि साहको सोमबार दिउँसो मृत्यु भएको हो । मृतकका आफन्तले डा.कर्णमाथि अस्पतालमै हातपात गरेका थिए । हातपातपछि अस्पतालको अपरेसन थिएटरबाटै भागेका डा. कर्ण सम्पर्कमा आएका छैनन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामशंकर ठाकुरले पीडितका आफन्तलाई क्षतिपूर्ति र डा. कर्णलाई निष्कासन गर्ने प्रतिबद्धता जनाएपछि अस्पतालको तनाब कम भएको हो ।
डा. कर्णलाई शल्यक्रिया गर्ने अधिकार नभए पनि डा. बछारको अनुपस्थितिमा उनले नै शल्यक्रिया गर्दै आएका छन् । डा. कर्णले जनकपुरमै दुईवटा निजी क्लिनिकसमेत चलाउँदै आएका छन् र स्त्री तथा प्रसूति रोग विशेषज्ञ बताएर जनकपुरका महिलाको स्वास्थ्यमा खेलबाड गरिरहेका छन् ।
अस्पताल विकास समितिका तर्फबाट साढे दुई वर्षदेखि दैनिक ज्यालादारीमा राखिएका डा. कर्णको अस्पतालमा कागजातसमेत फेला परेको छैन । नागरिकता, शैक्षिक प्रमाण पत्र, नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाण पत्र नबुझाई उनले जागिर खाँदै आएको पाइएको छ । कर्णको फाइलमा निवेदन, टिप्पणी र नियुक्ति पत्रबाहेक अन्य कुनै पनि कागजात छैन । तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. गौराग मिश्राद्वारा १८ कात्तिक ०६६ मा कर्णलाई नियुक्ति दिइएको थियो । नियुक्ति पत्रमा मेडिकल काउन्सिलको कागजात उपलब्ध गराउन भनिएको छ । तर, साढे दुई वर्ष बित्दा पनि काउन्सिलको दर्ता प्रमाण पत्र रेकर्ड शाखामा बुझाइएको छैन । बिरामीको मृत्युसँगै कर्णलाई नियुक्ति दिने विकास समिति र मेडिकल सुपरिटेन्डेन्ट पनि विवादमा तानिएका छन् । कर्मचारीका अनुसार डा. कर्णले गरेको शल्यक्रियाकै कारण तीन महिलाको ज्यान गइसकेको छ । सिरहा लहान–८ घर भएका डा. कर्ण चीनबाट एमबिबिएस गरेका हुन् । एमबिबिएसपूर्व उनी ल्याब टेक्निसियन थिए ।
अस्पतालकी चिकित्सक डा. बछार अस्पतालमा हाजिर गरेर निजी नर्सिङ होममै बस्ने गरे पनि उनलाई पनि अस्पतालले कारबाही गर्न सकेको छैन । जनकपुरको नागरिक समाजले डा. कर्णलाई निष्कासन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया