कपिलवस्तु, २८ माघ । प्रदेश नं ५ कपिलवस्तुका सांसद विष्णु पन्थीले यहाँको एक क्याम्पसलाई शनिबार रु १५ लाखभन्दा बढी सहयोग गरेका छन् ।
वाणगंगा-४ बुंची सिद्धार्थ क्याम्पसमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले जारी महायज्ञको दोस्रो दिन सांसद पन्थीले रु १५ लाख १५ हजार सहयोग गरेका हुन् ।
सांसद पन्थीले क्याम्पसको स्तरोन्नतिका साथै आजको युगमा प्राविधिक शिक्षाको अनिवार्य आवश्यता भएको हुँदा प्राविधिक शिक्षाका लागि आफूले सहयोग गरेको बताए ।
कपिलवस्तु क्षेत्र नं १ ९क० बाट भारी मतले प्रदेश सांसदमा विजयी भएका पन्थी नेकपा एमालेका प्रभावशाली नेताको रुपमा चिनिन्छन् ।
प्राविधिक शिक्षा अध्ययनका लागि अन्यत्र जानुपर्ने बाध्यतालाई घटाउँदै पशु र बाली विज्ञान विषयको अध्यापनका लागि आर्थिक स्रोत जुटाउन महायज्ञको आयोजना गरिएको महायज्ञ मूल आयोजक समिति अध्यक्ष रविबहादुर काफ्लेले जानकारी दिए ।
यही माघ २६ गतेदेखि शुरु भएको श्रीमद्भागवत सप्ताह धनधान्याचल ज्ञान महायज्ञको दोस्रो दिन रु १७ लाख ६ हजार ४०० रकम दान संकलन भएको महायज्ञ प्रचारप्रसार संयोजक युवराज पोख्रेलले बताए ।
त्यसैगरी, कमला भट्टराईले रु एक लाख ११ हजार १११, लालमणि न्यौपानले रु ५० हजार १५१, विष्णुप्रसाद भट्टराईले रु २५ हजार ५५५ र हरिहरपुर गाउँ समाजबाट रु ११ हजार १३५ दान संकलन भएको छ ।
महायज्ञको प्रमुख वाचक दीनबन्धु पोखरेल छन् । पोखरेल नेपालकै चर्चित कथावाचक भएको कारण हजारौँ दशनार्थीको उपस्थिति रहेकोे आयोजकले जनाएको छ । महायज्ञ फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया