जाजरकोट, २९ मंसिर । पुस १२ गतेदेखि दोस्रो जाजरकोट महोत्सव एवं कृषि पर्यटन तथा व्यापार मेला लाग्ने भएको छ ।
सदरमुकाम खलंगास्थित त्रिभुवन माविको प्रांगणमा ‘कला, संस्कृति, पर्यटन, कृषि उत्पादन र औद्योगीकरण हाम्रो अभियान-आत्मनिर्भर स्वाभिमानी र समुन्नत जाजरकोटको निर्माण’ भन्ने मूल नाराका साथ पाँच दिनसम्म लाग्ने महोत्सव उद्योग वाणिज्य संघ जाजरकोटको आयोजना तथा भेरी नगरपालिकाको सहआयोजनामा पुस १६ गतेसम्म लाग्ने उद्योग वाणिज्य संघका अध्यक्ष कर्णबहादुर खत्रीले जानकारी दिए ।
यसले जिल्लाका पर्यटकीय र औद्योगिक तथा व्यापारिक महत्वका विषय र क्षेत्रको प्रचारप्रसारसहित ग्रामीण अर्थतन्त्रको आधारका रुपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
महोत्सवका आकर्षणका रुपमा लोपोन्मुख तथा पौराणिक पहिचान झल्काउने झाँकी, स्थानीय बाजागाजा तथा संस्कृति एवं लोकनृत्य रहने छन् ।
मेलामा जिल्लामा पाइने बहुमूल्य पत्थर, जडीबुटी, फलफूल, गाभा, सरु तथा छेडागाडका माछा, राडीपाखी र घरेलु उत्पादन पनि प्रदर्शन गरिने भएको छ ।
स्थानीय तथा राष्ट्रियस्तरका विभिन्न कलाकारको सांस्कृतिक प्रस्तुति रहने महोत्सवको तयारीलाई तीव्रता दिइएको महोत्सव सचिवालय समितिका सचिव दीपेन्द्र शर्माले जानकारी दिए ।
प्रतिक्रिया