म्याग्दीमा अभिभावक शिक्षा प्रभावकारीः अभिभावक नै शिक्षक

ध्रुवसागर शर्मा

म्याग्दी, २८ मंसिर । आफ्ना बालबालिकालाई प्रारम्भिक सिकाइ तथा पढाइप्रति आकर्षित गराउने र उनीहरुलाई सहजरुपले पढ्ने वातावरण मिलाउन सघाउ पुर्याउने उद्देश्यले म्याग्दीमा सञ्चालित अभिभावक शिक्षा प्रभावकारी बन्दै गएको छ ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा जिल्ला शिक्षा कार्यालय म्याग्दीसँगको समन्वयमा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनद्वारा जिल्लामा प्रारम्भिक सिकाइ तथा पढाइ परियोजनाअन्तर्गत सञ्चालित अभिभावक शिक्षा म्याग्दीमा प्रभावकारी देखिएको हो ।

बेनी नगरपालिका-५ बगुवाखोलाकी बिन्दु रसाइली केही महिना अगाडिसम्म घरायसी काममा मात्रै सीमित हुने गर्थिन् ।

बिहानदेखि बेलुकीसम्म घरायसी, खेतीपातीको काममा व्यस्त हुने गरेकी रसाइलीले अहिले घरायसी कामसँगै शैक्षिक गतिविधिमा पनि सहभागिता जनाउने गरेकी छिन् ।

गाउँमा रहेको बालजागृति आधारभूत विद्यालयमा सञ्चालित अभिभावक शिक्षामा सिकेको सिपलाई कक्षा १ र ३ मा अध्ययनरत दुई छोरीलाई दैनिकजसो घरमै सिकाउने गर्छिन् ।

अभिभावकले छोराछोरीको शैक्षिक गतिविधिमा सघाउने विभिन्न गतिविधिलाई आधार बनाई सञ्चालन गरिएको कक्षा ग्रामीण क्षेत्रमा प्रभावकारी बनेको छ ।

गर्भमा रहेको बच्चादेखि आठ वर्षसम्म बालबालिकालाई शिक्षा, स्वास्थ्यलगायत अन्य दैनिकीमा अभिभावकले खेल्नुपर्ने भूमिकालाई लक्षित गरी सञ्चालन गरिएको कक्षाले प्राथमिक तहसम्मका बालबालिकालाई अभिभावकले समेत शिक्षकको भूमिका निर्वाह गर्न सकिने रिमा कार्कीले बताइन् ।

कक्षामा गर्भमा रहेको बच्चालाई आवश्यक पर्ने पौष्टिक तत्वदेखि पढाइमा सघाउन अभिभावकलाई आवश्यक पर्ने सबै जानकारी सिकाउने गरिन्छ ।

अभिभावकले पढाइसँगै हस्तकला, चित्रलगायतका साम्रगीसमेत बनाउने गरेको विद्यालयकी शिक्षक सविता बरुवालले बताए ।

एक दशकदेखि म्याग्दीको शैक्षिक क्षेत्रमा सक्रिय रहेको बागलुङको नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनले बेनी नगरपालिका, मंगला, मालिका, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका २५ वटा विद्यालयमा ४० समूहमा अभिभावक शिक्षा सञ्चालन भइरहेको छ ।

एउटा विद्यालयमा एकदेखि चारवटासम्म समूह हुन्छन् । परियोजनाबाट ७५० जना अभिभावक लाभान्वित भएको परियोजनाका म्याग्दी संयोजक लालबहादुर पुर्जाले बताए ।

प्रतिक्रिया