बेइजिङ, २३ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको समस्या चाँडै समाधान गर्ने उपायका लागि चीनलाई आग्रह गरेका छन् । हाल चीनको भ्रमणमा बेइजिङमा रहेका उनले चिनियाँ राष्ट्रपति सि चिनफिङलाई सो अग्रह गरेका हुन् ।
उनले भने, चीनले उत्तर कोरियाको समस्या समाधानका लागि जतिसक्दो चाँडै अग्रसरता लिओस र कडा मेहनेतका साथ काम गरोस भन्ने अमेरिका चाहन्छ ।उनले समय छिटो छिटो अघि बढिरहेको छ तर उत्तर कोरिया भने आणविक सङ्कट झन चर्काउँदै छ, त्यसैले समाधानको बाटो पनि चाँडै खोजिनुपर्दछ ।
चिनियाँ राजधानी बेइजिङमा चीनका व्यापारिक प्रतिनिधिमण्डललाई सम्बोधनगर्दै उनले चीनलाई सो आग्रह गरेका हुन् । उनी बुधबार चीन पुगेका हुन् ।
राष्ट्रपति ट्रम्पले सो सम्बोधनका क्रममा भने, मैले तपाईंहरुका महान राष्ट्रपतिलाई यो भनिरहेको छु कि जतिसक्दो चाँडै कोरिया सङ्कट समाधानको पहल होस् समय धेरै अघि बढिसकेको छ ।
बिहीबार राष्ट्रपति ट्रम्पले विभिन्न मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । उनले यहाँका नेता तथा उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
आफ्नो यस एसिया भ्रमणका क्रममा प्राय उत्तर कोरियाका विरुद्धमा उनी निकै आक्रामक बन्दै आएका छन् । राष्ट्रपति ट्रम्पले बुधबार मात्र पनि दक्षिण कोरियाली संसदलाई सम्बोधन गर्दै उत्तर कोरियालाई क्रुर एवम् तानाशाहको संज्ञा दिएका थिए ।
उनले उत्तर कोरियालाई एक्लो बनाउन विश्वका सबै देशलाई आग्रह पनि गरे । उनले चीनलाई पनि उत्तर कोरियाका कारणले विश्वमा मानवीय सभ्यता र शान्तिमाथि नै धावा बोलिरहेको अवस्थामा उसलाई साथ नदिन आग्रह गरेका थिए ।
सो आग्रह राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति चिनफिङसँगको भेटका क्रममा पनि दोहोर्याएका थिए । उनले चीनका व्यापारिक प्रतिनिधिमण्डल हुन् वा जुनसुकै मञ्चलाई सम्बोधन गर्ने क्रममा पनि सो धाराण राख्ने गरेका छन् ।
राष्ट्रपति ट्रम्पले मङ्गलबार मात्र पनि उत्तर कोरियालाई आफ्ना सबै परमाणु हतियारहरु परित्याग गरेर वार्ताको टेबलमा आउन र सबै विषयमा छलफल गर्न आह्वान गरेका थिए ।
राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा मङ्गलबार मात्र गरेको सम्बोधनमा अमेरिकाले प्योङयाङका विरुद्धमा सेना परिचालन गर्ने अवस्था नआओस भनेर पनि सोचिरहेको स्पष्ट गरेका थिए ।
यसैबीच चिनियाँ राष्ट्रपति सि चिनफिङले कोरियाली प्रायद्वीप र अफगानिस्तानको मुद्धामा चीनले अमेरिकासँग समन्वय गर्ने बताएका छन् ।
बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि राष्ट्रपति चिनफिङले भने, ती विषयमा राष्ट्रपति ट्रम्पसँग कुराकानी भएको छ र हामी त्यसमा साथसाथमै काम गर्न तयार छौँ ।
बिहीबार उनीहरुबीचको भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम विश्वकै लागि समस्या बनेकोले समाधानका लागि पहल गर्न चीनलाई आग्रह गरेको बताइएको थियो ।
उत्तर कोरियाका विषयमा विश्वका दुई प्रमुख शक्तिराष्ट्र अमेरिका र चीनले गरेको यस वार्तालाई विश्वमा निकै चासोपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया