प्योङयाङ । उत्तरकोरियाली नेता किम जङ–अनकी श्रीमतीको परिचयसँग जोडिएको प्रश्नको जवाफ खोज्न गाह्रो छ, किनकि त्यो प्रश्न रहस्यले घेरिएका किम जङ–अनसँग सम्बन्धित छ । किम जङ–अनका सन्तानको संख्याबारे पनि अहिलेसम्म वास्तविक जानकारी छैन । सन् २०१२ को गर्मीयामदेखि री सोल–जू सार्वजनिक रूपमा देखिन थालेकी हुन् । त्यसको केही समयपछि सरकारी सञ्चारमाध्यमले री सोल–जू किम जङ–अनकी श्रीमती भएको बताउन थाले तर त्यसअघिको पनि उनको जीवन एउटा पहेलीजस्तै छ ।
केही सञ्चारमाध्यमका अनुसार उनी एक गायिका थिइन् । तर, केही सञ्चारमाध्यमहरू री सोल–जू राष्ट्रिय खेलकुद टोलीकी ‘चियरलिडर’ भएको बताउँछन् । उत्तरकोरिया लिडरसिप वाच वेबसाइटकी सहयोगी सिएर म्याडनले बिबिसीसँग कुरा गर्दै भनिन्, ‘री सोल–जूको बिहे सन् २००९÷१० मा भएको थियो । त्यसअघि उनी एक गायिका र चियरलिडर थिइन्, उनले जापान र दक्षिण कोरियाको यात्रा पनि गरेकी थिइन् ।’ री सोल–जूको जीवनबारे योभन्दा बढी जानकारी उपलब्ध छैन । उमेरबारे उत्तरकोरियाली शासकको तर्फबाट कुनै जानकारी उपलब्ध गराइएको छैन ।
तर, री सोल–जूको उमेर ३० वर्षभन्दा बढी नभएको ठानिन्छ । विशेषज्ञका अनुसार किम जङ–अन सन् १९८३ वा १९८४ को ज्यानुअरी ८ मा जन्मिएका हुन् । सधैँ मुस्कुराइरहने र सार्वजनिक कार्यक्रममा किम जङ–अनसँगै देखिने री सोल–जूको तुलना पूर्व अमेरिकी प्रथम महिला मिसेल ओबामासँग गरिन्छ । म्याडनका अनुसार उत्तरकोरियामा री सोल–जूको भूमिका मिसेल ओबामाभन्दा कम हुन सक्दैन । पछिल्लो समय क्षेप्यास्त्र परीक्षण र सौन्दर्य उत्पादक कम्पनीको उद्घाटनलगायत कार्यक्रममा री सोल–जू किम जङ–अनसँगै देखिएकी थिइन् ।
हालसालै कैयौँ मुलुकले उत्तरकोरियालाई विलासी सामानहरू निर्यात गर्न बन्द गरेका छन् । त्यसलाई मध्यनजर गर्दै सौन्दर्य सामाग्रीको अभाव नहोस् भनेर उत्तरकोरियाले त्यसको उत्पादन थालेको बताइन्छ । किम जङ–अनले श्रीमती री सोल–जूलाई आफूसँगै सार्वजनिक कार्यक्रममा उपस्थित गराएर एउटा परम्परा पनि तोडेका छन् । उनका बुबाले आफ्ना श्रीमतीहरूलाई सार्वजनिक कार्यक्रममा उपस्थित गराउने गरेका थिएनन् । म्याडन भन्छिन्, ‘यो नयाँ कुरा नै हो, किनकि री सोल–जूलाई उत्तरकोरियामा आमाको स्थान दिन थालिएको छ ।’
उत्तरकोरियाको सत्तारूढ परिवारबारे अवलम्बन गरिने गोपनीयताका कारण किम जङ–अनका सन्तानको संख्याबारे पनि वास्तविक जानकारी छैन । दक्षिणकोरियाली गुप्तचर निकायका अनुसार री सोल–जूले गत फेब्रुअरीमा तेस्रो बच्चा पाएकी थिइन् तर बच्चाको लिंग र नामबारे केही थाहा हुन सकेको छैन । पछिल्लो वर्षको सात महिनाजति री सोल–जू सार्वजनिक रूपमा नदेखिएपछि त्यतिवेला उनी गर्भवती भएको अनुमान गरिएको थियो ।
री सोल–जूले पहिलो बच्चा सन् २०१० मा र दोस्रो बच्चा सन् २०१३ मा पाएको बताइन्छ तर बाह्य संसारलाई बच्चाहरूको लिंगबारे थाहा हुन नसकेकोले किम जङ–अनको उत्तराधिकारीबारे केही अनुमान गर्ने अवस्था छैन । अनजानमा बास्केटबल खेलाडी डेनिस रोडम्यानले किम जङ–अनका दोस्रो सन्तान छोरी भएको सार्वजनिक गरेका थिए । गार्डियन पत्रिकालाई सन् २०१३ मा दिएको अन्तर्वार्तामा उनले किम जङ–अन एक असल व्यक्ति भएको र उनकी एक छोरी पनि रहेको बताएका थिए ।
बिदा मनाउने क्रममा किम जङ–अनकी छोरीलाई हातमा लिएर आफूले खेलाएको रोडम्यानले बताएका थिए । हालै किम जङ–अनले आफ्नी बहिनी किम यो–जङलाई नीतिनिर्माणको तहमा पु¥याउँदै थप अधिकार प्रदान गरेका थिए । सार्वजनिक कार्यक्रममा प्रायः किम जङ–अनसँगै देखिने ३० वर्षीया किम यो–जङले दाइको सार्वजनिक छवि बनाउनमा भूमिका निर्वाह गरेको ठानिन्छ ।
प्रतिक्रिया