नयाँदिल्ली । ‘मलाई रातको समयमा हिँड्न मन लाग्छ । तर, दिल्लीमा बसेर यसरी रातीराती हिँड्न पाउने कुरा म सोच्न पनि सक्दिनँ । म पैदल एक्लै हिँड्न पाउँदिनँ किनभने केटी हुँ र बलात्कारको खतरा सधैँ रहन्छ । त्यसैले म मात्र २ घन्टाको लागि पुरुष बन्न चाहन्छु ।’
यो भनाई हो हामिदा सइदको । २० वर्षीया हामिदा काश्मिरकी हुन् र उनी दिल्लीमा बस्दै आएकी छन् । एक गैरसरकारी संस्था प्लान इन्डियाको पछिल्लो रिपोर्ट अनुसार ‘दिल्ली ती राज्यहरू मध्येको एउटा हो जहाँ महिला सर्वाधिक असुरक्षित छन् ।’ महिलाका लागि भारतका कुन राज्य सबैभन्दा असुरक्षित छन् भनेर बाल अधिकारको क्षेत्रमा काम गर्ने संस्था प्लान इन्डियाले गरेको सर्वेक्षणमा ३० राज्य ¥यांकिङमा आएका थिए । यसमा भारतका सबै राज्यलाई लिइएको थियो । क्रमागत ¥यांकिङअनुसार दिल्ली २९औँ स्थानमा देखिएको छ । अर्थात् महिलाका लागि असुरक्षित भारतीय राज्यमा दिल्ली २९औँ स्थानमा पर्छ ।
तर, हामिदालाई दिल्लीमा मात्र डर लाग्ने गरेको भने होइन । जब उनी आफ्नो घर काश्मिर जान्छिन् त्यहाँ पनि उनलाई केटी भएकोमा धिक्कार लाग्छ । हामिदाको कुरालाई मान्ने हो भने भारतमा केटी भएर बाँच्नु धेरै गाह्रो छ । उनी भन्छिन्, ‘जब म जन्मेँ त्यतिबेला मेरी हजुरआमाले मेरो मुखसम्म हेरिनन् रे ! उनले २ दिनसम्म मेरो मुख हेरिनन् । ९ महिनासम्म हजुरआमालाई लागेको थियो मेरी आमाको कोखमा छोरा नै हुर्कंदै छ ।’
महिलाका लागि सुरक्षित राज्यको सूचीमा जम्मुकाश्मिर २०औँ स्थानमा पर्छ । महिलाका लागि सबैभन्दा सुरक्षित भारतीय राज्यमा गोवा पहिलो नम्बरमा पर्दछ । दोस्रो नम्बरमा केरला र तेस्रो नम्बरमा मिजोरम पर्छ । यसै सूचीमा सबैभन्दा असुरक्षित राज्यमा भने बिहार पर्दछ । दोस्रोमा दिल्ली र तेस्रोमा उत्तरप्रदेश पर्दछ ।
भारतका बाँकी राज्यमा महिलाले ‘सुरक्षित’ भन्नाले के बुझ्दछन् भनेर केही राज्यका महिलासँग कुराकानी गरिएको थियो । बिहारको मुज्जफरपुरकी ऋचा भन्छिन्, ‘यो हाम्रो देश हो जहाँ पोर्नोग्राफी हेर्नुलाई खराब मानिन्छ र पोर्नस्टारलाई ‘सेलिब्रेटी’ दर्जा दिइन्छ ।’ ऋचा एमबिएमा अध्ययनरत् छिन् । उनी भन्छिन्, ‘जब म २० वर्ष लागँे मेरा आमाबाबुले बिहेको कुरा गर्न थाले । जबकी मेरो दाजु मभन्दा ८ वर्ष जेठो छ, उसको बिहेको कुरा गरेको मैले सुनेको छैन । यसकारण पनि असुरक्षित महसुस गर्छु ।’
बैंग्लोरकी ऐश्वर्या महिलाका लागि मानसिक सुरक्षा सबैभन्दा महत्वपूर्ण भएको बताउँछिन् । उनकाअनुसार ‘प्रायः उनी राती अबेला अफिसबाट घर फर्किन्छिन् । घर र कार्यालयको दुरी पैदलै हिँडेर पुग्न सकिनेछ । तर, अबेला राती केटी मान्छे एक्लै हिँड्नुलाई खराब मानिन्छ । त्यसैले उनी मानसिकरूपमा आफूलाई असुरक्षित महसुस गर्छिन् ।’
यी सबकारणले यो सूची प्रकाशित गर्नुभन्दा पहिले यसको अध्ययन गर्न महिला सुरक्षाको दायरालाई केही फराकिलो बनाइएको थियो । महिला सुरक्षालाई ४ तहमा वर्गीकरण गरेर अध्ययन गरिएको हो । यो तह भनेको गरिबी, साक्षरता, स्वास्थ्य र सुरक्षा थिए । यो पहिलोपटक हो अलगअलग राज्यका लागि भिन्दाभिन्दै सूची जारी गरिएको थियो ।
सबैभन्दा महत्वपूर्ण कुरा सूची सार्वजनिक गर्न कुनै सर्वे गरिएको थिएन । प्लान इन्डियाकी निर्देशक भाग्यश्री देंगलले बताएअनुसार ‘यी तथ्यांक पहिलेदेखि हामीसँग तयार थिए । ती विभिन्न सरकारी कार्यालयका हुन् । तिनै तथ्यांकलाई विशेषज्ञद्वारा अध्ययन गराएर सूची तयार गरिएकाले यसमा विवाद हुनै सक्दैन ।’
प्रतिक्रिया