किन बारम्बार लखेटिन्छन् कुलमान ?

indexकाठमाडौं । सामान्यतः भन्नुपर्दा कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणका कुशल व्यवस्थापक हुन् । व्यवस्थापनमा कुशलता देखिनुमा उनको ‘स्कुलिङ’ मा भर पर्छ ।

घिसिङले आमनागरिकलाई छाप पर्ने हिसाबले आफ्नो स्कुलिङको परिचय दिए । घोषित १४ र अघोषित १६ घन्टासम्मको लोडसेडिङबाट सर्वप्रथम उपत्यकालाई मुक्त गराए भने बाँकी अवधिमा उनले देशभरै उज्यालो अभियान अघिसारे र उनी अहिलेसम्म आफ्नो योजना र कार्यक्रममा तत्परताका साथ तल्लीन छन् । उनको योजनाको प्रतिफल नेपाली जनताले रस्वास्वादन गरिरहेका छन् । उनका लागि कार्यमूलक वातावरण कति ‘अनुकूल’ वा कति ‘प्रतिकूल’ रह्यो त्यो प्राधिकरणको इतिहासमा मूल्यांकन हुनेछ ।

तर, तिनै कुशल व्यवस्थापक कुलमानलाई किन बारम्बार ‘विवाद’ को घेरामा तानेर ल्याइन्छ ? जुन विवादपछि कुलमान स्वयंले आमसञ्चारमाध्यमलाई गुहार्न पुग्छन् । सायद कुलमानका लागि उदेकको विषय पनि यही हुन सक्दछ । दुर्भाग्य कुलमानको केही नयाँ प्रयास गर्नासाथ प्राधिकरणका ‘भूमिगत गिरोह’ सल्बलाएर कुलमानको नियतमाथि शंका गर्न थाल्छ अनि कुलमान हारगुहारतिर लाग्छन् र यो प्रक्रिया कुलमानको नियुक्ति कालदेखि नै चलेको हो । कुलमान भूमिगत गिरोहका लागि ‘आँखाको कसिंगर’ बनेका छन् ।

लोडसेडिङ मुक्तदेखि एलइडी बल्ब खरिद प्रकरणसम्म कुलमानको खेदो खन्यो तर, परिणाम ‘टाइँ टाइँ फिस’ भयो । एलइडी बल्ब खरिद प्रकरणको सूचना उत्थान गर्ने पत्रिका र पत्रकारलाई बाँकी जनताले राम्ररी बुझ्ने मौका पायो र ती पत्रकार र पत्रिका आजका मितिसम्म सामाजिक सञ्जालमा नराम्ररी थला परेका छन् । यो प्रकरणमा पनि कुलमान ‘चोखो’ सावित भयो, भलै उनले सञ्चारकर्मीसमक्ष आँसु चुहाउनुप¥यो । हिन्दूधर्मको शास्त्रीय मान्यता छ मानिस क्रोधमा आउँदा बेस्सरी रुन थाल्छ । सायद तत्क्षण कुलमान पनि त्यही शास्त्रीय मान्यताको वशीभूतको पात्र बनेका होलान् । पत्रकार सम्मेलनमा आफूले ‘घुस’ नखाएको प्रस्टीकरण दिने क्रममा रुँदै उनले भनेका थिए, ‘एलइडी बल्ब प्रकरणमा मैले घुस खाएको छ भने झुन्डिन तयार छु ।’ लोडसेडिङ व्यवस्थापन गर्ने प्रयासमा कुलमान अगाडि बढ्दा उनले अनिच्छापूर्वक भोग्न परेका घटना यिनै हुन् ।

लामो समयदेखि कुलमानलाई पछार्न मौका पर्खिरहेको गिरोहले पुनः एकपटक राम्रो अस्त्र फेला पारेको छ । त्यो हो मंगलबारको समाचार । समाचार हो, ‘ऊर्जामन्त्रीलगायत उच्चपदस्थ कर्मचारीसँग कुलमानको सम्बन्धमा खटपट ।’ कुलमान पनि के कम तुरुन्त आयो खण्डन । मंगलबार प्रकाशित खण्डनमा उनले भनेका छन्, ‘उज्यालो नेपाल अभियान निरन्तर अगाडि बढिरहेको र त्यसमा आफू कुनै पनि हालतमा विचलित नहुने एवं ऊर्जामन्त्री महेन्द्रबहादुर शाही, ऊर्जासचिव अनुपकुमार उपाध्यायलगायत नेतृत्वमा आफू र आफ्ना कर्मचारीले अहोरात्र काम गरिरहेकाले बजारमा आएका अनावश्यक हल्लाको पछाडि नलाग्न आग्रह गर्दछु ।’

उनले भने, ‘ऊर्जामन्त्री शाही, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग जोडेर गरिएको प्रचारमा कुनै सत्यता नरहेको र विद्यमान ऊर्जा संकट समाधान गरी उज्यालो नेपाल निर्माण गर्ने, निर्माणाधीन जलविद्युत् तथा प्रसारण÷वितरण लाइन आयोजना निर्माणलाई तीव्रता दिने कार्य निरन्तर जारी रहेको छ ।’ उनले प्राधिकरणको वित्तीय तथा प्रशासकीय सुधार गर्ने, समग्र ऊर्जा क्षेत्रको पुनर्संरचना गरी ऊर्जामा आत्मनिर्भर बनाउने लगायतका काम ऊर्जामन्त्रीको नेतृत्वमा अगाडि बढाइरहेको स्पष्ट पारे ।

कुलमानले भने, ‘ऊर्जामन्त्री, ऊर्जा सचिवलगायत ऊर्जा मन्त्रालय तथा प्राधिकरणको सम्पूर्ण समूह एकढिक्का भएर ऊर्जा क्षेत्रको तत्कालीन र दीर्घकालीन समस्या समाधान गर्न तदारुकताका साथ अगाडि बढिरहेको बेहोरासमेत जानकारी गराउँछु ।’
उनले आफ्नो दण्डनपत्रको अन्त्यमा भनेका छन्, ‘दिगो रूपमा ऊर्जा संकट समाधान गरी ऊर्जामा आत्मनिर्भर बनाउन चालिएका कदम सफल बनाउन सबै पक्षकोे सहयोगका लागि अनुरोधसमेत गर्दछु ।’

कुलमानको माथिको वक्तव्य उनका विरोधीका लागि सायद काफी हुन सक्छ । त्यस वक्तव्यबाट उनका विरोधी कति तृप्त हुने वा आगामी दिनमा नयाँ कलेवरका संस्करण निस्किने हो त्यो भने हेर्न बाँकी नै छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाभियोगसम्बन्धी रिट खारेज गर्ने निर्णय सुनाउने क्रममा न्यायाधीश चोलेन्द्रशमशेर राणाले भनेका थिए, ‘भनिन्छ, यो देशमा सतिको श्राप लाग्छ ।’ सायद कुलमानको हकमा पनि कतै त्यही त भएको होइन ? आगामी दिनमा कुलमानले पुष्टि गर्न बाँकी नै छ । उनको स्कुलिङ कस्तो रहेछ । पानीको पुल्का हो कि अन्य…..।

प्रतिक्रिया