उत्तर कोरिया २ भदाै । उत्तर कोरियाली नेता किम जोन उनले अमेरिकी भूभाग गुआममा आक्रमण गर्ने योजना उपर पुनर्विचार गर्दै अहिलेको लागि उक्त योजना थाति राख्ने भएका छन् । उत्तर कोरियाले अमेरिकाको व्यवहार हेर्ने र सोही अनुरूप कदम चाल्ने गरी पुनर्विचार गरेको त्यहाँको सरकारी समाचार संस्थाले जनाएको हो । तर, थाति राखिएको सैन्य कारबाहीको योजना जुनसुकै समयमा प्रयोग हुन सक्ने भनी चेतावनीसमेत दिएको छ । उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले किम जोन उनले आक्रमण योजना उपर लामो समयदेखि सोचविचार गरिरहेको र यस विषयमा उच्च सैन्य अधिकारीहरूसँग पनि छलफल गरेको जनाएको छ ।
केसिएनएको उक्त रिपोर्टमा उत्तर कोरियाले कुनै कदम चाल्नुअघि अमेरिकाको चाल पर्खिने उल्लेख गरेको छ जसका कारण उत्तर कोरिया गुआम आक्रमणको योजनाबाट पछि हटेको विश्लेषण गर्न थालिएको छ । उत्तर कोरियाको अहिलेको प्रतिक्रियाले अमेरिकासँगको वाकयुद्ध पनि केही हदसम्म सेलाउने अनुमान गरिएको छ । यसअघि अगस्टको दोस्रो साता उत्तर कोरियाले अमेरिकी भूभाग गुआममा आक्रमण गर्ने चेतावनी दिएपछि २ देशका प्रमुखबीच वाकयुद्ध सुरु भएको थियो जसले आणविक युद्ध निम्त्याउने अनुमान गरिएको थियो । तर, केही विश्लेषक भने उत्तर कोरियाको अहिलेको निर्णयलाई झेलको रूपमा पनि हेरिरहेका छन् । जसरी उत्तर कोरिया अन्य देशको पहुँच बाहिर छ यहाँभित्र भइरहेको तयारी वा लिन सक्ने सम्भावित निर्णयबारे पनि उत्तिकै बेखबर छ अन्तर्राष्ट्रिय समुदाय ।
अझ उत्तरले सैन्य कारबाही टेबलमै रहने भनेपछि यसले उत्तर कोरियामाथि विश्वासउपर प्रश्न उठाएको छ ।अर्को अर्थमा लिने हो भने उत्तर कोरियाले गुआममा आक्रमण गर्नको लागि त्यति सामथ्र्य आफूसँग नरहेको महसुस गरेर अहिलेको लागि स्थगनको बटन थिचेको पनि हुन सक्छ । आफूलाई सबल बनाउनका लागि उत्तर कोरियाले थप समय लिनको लागि यस्तो निर्णय लिएको हो भने यसले झन् खतरा निम्त्याउँदै छ । दक्षिण कोरिया र उत्तरको सबैभन्दा नजिक मानिएको चीनले पनि अहिलेको अवस्था मत्थर पार्नको लागि कुटनीतिक संवाद आवश्यक रहेको भन्दै संवादलाई जोड दिइरहेका छन् ।मंगलबार मात्रै दक्षिण कोरियाली राष्ट्रपति मुन जेइइनले अमेरिकाले कोरियाली प्रायद्धीपमा कुनै प्रकारको कदम चाल्नुअघि आफूसँग पनि सुझाव लिनुपर्ने बताएका छन् ।
उनको अमेरिकाले कोरियाली प्रायद्धीपमा सैन्य कारबाहीको अप्सन छानेमा एक्लो निर्णय लिन नहुने प्रस्ट पारेका छन् । दक्षिण कोरिया र अमेरिकाले यसअघि गरेको रक्षा सम्झौताअनुसार २ राष्ट्रले आन्तरिक वा बाह्य आक्रमणको खतरा बढेमा संवाद गरी दुवैको सहमतिमा मात्रै सैन्य कदम चाल्नुपर्ने उल्लेख छ । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले यसअघि पनि २ देशबीचको वाकयुद्धले सैन्ययुद्ध निम्त्याउनसक्ने र उत्तरले गुआममा आक्रमण गरेको खण्डमा सुरु भइहाल्ने चेतावनी दिएका थिए । उनले अमेरिकी सेनाले आफ्नो देश बचाउनको लागि कुनै पनि समय र ठाउँमा तयार रहेको बताएका छन् । यसका साथै उनले गुआममा आक्रमण भएको खण्डमा बचाउनलाई अमेरिकाले कुनै कसुर बाँकी नराख्ने बताएका छन् ।
प्रतिक्रिया