फिलिपिन्समा मानवअधिकार हनन् भएको आरोप

मनिला । फिलिपिन्समा त्यहाँको संसदले दक्षिणी फिलिपिन्सको मिन्डानाओमा लागिरहेको सैनिक शासनको अवधि थप लम्बाउन अधिकार दिएसँगै यहाँका नागरिकको मानवअधिकार हनन्का घटनामा वृद्धिभएको आरोप लगाइएको छ ।

संसदले दुई हप्ताअघि राष्ट्रपतिलाई सो कानुन लम्ब्याउने अनुमति दिएको थियो । त्यसयता यहाँको सेनाले कम्युनिष्ट विद्रोहीमाथि कारबाही गर्ने निहूँमा ज्यादति गरेको बताइएको हो । उक्त क्षेत्रमा यस वर्षको सुरुदेखि सैनिक शासन लाग्दै आएको छ । यहाँका अधिकारवादीहरुले उक्त निर्णयको विरोध गर्दै आएका थिए ।

यस शासनको अवधि थप बढाउनका लागि राष्ट्रपतिले संसदसँग अधिकार मागेका थिए । फिलिपिन्समा बिगत निकै लामो समयदेखि हिंसा जारी छ । यहाँका कम्युनिष्ट विद्रोहीहरुले सशस्त्र विद्रोह गर्दै आएका छन् । यहाँको हिंसालाई संसारको लामो समयसम्म चलेको विद्रोहका रुपमा लिने पनि गरिन्छ ।

उनीहरुलाई शान्ति वार्ताका लागि सरकारले बारम्बार आग्रह गरेको भए पनि वार्तामा बस्न मानेका छैनन् । यसअघि पनि समय समयमा वार्ता भए पनि सफल हुन सकेको छैन । सो सैनिक शासनको व्यापक विरोध गर्दै आएका कम्युनिष्ट विद्रोहीहरुले विरोधस्वरुप केही हप्तामात्र अघि राष्ट्रपति रोदरिगो दुतेर्तेको सवारीमाथि हमला गरेका थिए ।

प्रतिक्रिया