भुटान २३ साउन । सीमा क्षेत्र दोकलामबाट भारतीय पक्षले सेना फिर्ता नबोलाए चीनले सैन्य कारबाही थाल्ने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र द ग्लोबल टाइम्समा प्रकाशित एक आलेखका अनुसार आउँदो २ हप्ताभित्र भारतीय सेना हटाउन चीनले सानो आकारको सैन्य कारबाही अभियानको तयारी गरेको भारतीय पत्रिका द इन्डियन एक्सप्रेसले जनाएको छ ।दोकलाममा भारतसँग देखिएको विवाद नलम्ब्याउने भन्दै २ हप्ताभित्र त्यहाँ भारतीय सेना हटाउन सानो सैन्य कारबाही थालिने चिनियाँ विशेषज्ञहरूलाई उद्धृत गर्दै आलेखमा भनिएको छ ।
चिनियाँ पक्ष आफ्नो भूमिमा भारतको घुसपैठ सहेर नबस्ने र यो विवाद नलम्ब्याउन चाँडै कदम चाल्ने मनस्थितिमा पुगेको समाचारमा उल्लेख छ । ग्लोबल टाइम्सका अनुसार चिनियाँ पक्षले दोकलाममा सैन्य कारबाहीभन्दा पहिले भारतीय मन्त्रालयलाई सूचित गर्ने र नमाने सीमा क्षेत्रबाट भारतीय सेना हटाउन कारबाही थाल्ने योजना छ । यसअघि चीनले दोकलामबाट भारतीय सेना पछिहटेको जनाएको थियो । तर, यस विषयमा भारतीय पक्षले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । चीनको यो कदमलाई भारतले धम्की ठान्दै प्रतिवादमा उत्रने मनस्थिति बनाएको विश्लेषकहरूको भनाइ छ । यद्यपि, विवाद हल गर्न कुटनीतिक पहल थाल्नुपर्नेमा भारतीय अधिकारीहरूले जोड दिँदै आएका छन् । दोकलाममा चीन र भारतीय पक्षले आआफ्नो सेना परिचालन गरेपछि भुटानसहित त्रिपक्षीय विवाद उत्कर्षमा छ ।
प्रतिक्रिया