कतार १७ साउन । ४ वटा अरब मुलुकले आफूहरूद्वारा अघि सारिएका सबै माग दोहाले पूरा गर्नुपर्ने बताएका छन् । उनीहरूले आतंकवादविरुद्ध लड्ने दिशामा हालै अगाडि सारिएका ६ वटा सिद्धान्तका साथै त्यसअघिका १३ बुँदे माग पनि पूरा हुनुपर्ने बताएका हुन् । पत्रकार सम्मेलनमा साउदी अरेबिया, संयुक्त अरब एमिरेट्स, बहराइन र इजिप्टका विदेशमन्त्रीहरूले कतारसँग संवादका निम्ति आफूहरू तयार रहेको बताए । यद्यपि, आफूहरूद्वारा अघि सारिएका मागहरूमा कुनै मोलतोल गर्न नपाइने उनीहरूको भनाइ छ ।
ती मुलुकहरूको पछिल्लो अडान ११ दिनअघि सार्वजनिक भनाइसँग मेल खाँदैन । ११ दिनअघि न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले जारी समस्या समाधानका लागि कतारले १३ बुँदेको सट्टा ६ वटा सिद्धान्तलाई मान्नुपर्ने बताएका थिए ।आतंकवादी समूहहरूलाई सघाएको ४ मुलुकको आरोप कतारले निरन्तर अस्वीकार गर्दै आएको छ । कतारले आफ्नो सार्वभौमसत्तामा खतरा पैदा गर्ने वा अन्तर्राष्ट्रिय कानुन उल्लंघन हुने कुनै पनि माग पूरा गर्न नसकिने अडान लिँदै आएको छ । झन्डै ८ हप्ताअघि ४ वटा मुलुकले कतारका जल, थल र आकाशमाथि लगाएका प्रतिबन्धका कारण त्यहाँ समस्या निम्तिएको छ । कतारका आधारभूत आवश्यकता आयातबाट पूरा हुन्छन् ।
प्रतिक्रिया