ट्रम्पको नाममा भारतीय गाउँ

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीबाट नजिकै पर्ने एउटा गाउँलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा नामाकरण गरिएको समाचार छ । उत्तरी हरियाणा प्रदेशको मेवात जिल्लामा पर्ने मारोरा भन्ने सो गाउँमा अधिकांश मुस्लिम समुदायको बस्ती रहेको छ । ट्रम्प नाम दिइएको सो गाउँ नयाँदिल्लीबाट करिब ८० किलोमिटर टाढा पर्दछ ।  भारतमा शौचालयको प्रयोगका बारेमा चेतना जगाउने तथा निःशुल्क रूपमा सौचालय निर्माण गरिदिने काम गर्दै आइरहेको संस्था सुलभ इन्टरनेसनलले त्यस गाउँलाई खुला दिशामुक्त गाउँ बनाउनका लागि सबैको ध्यानाकर्षण गराउने उद्देश्यले यस्तो नाम दिएको बताइएको छ ।  सो संस्थाका संस्थापक विन्देश्वर पाठकले सो गाउँप्रति सरकारले ध्यान दिएर खानेपानी र सरसफाईको अवस्थालाई विश्वस्तरमा पु¥याउनुपर्ने बताए ।

कुल एक सय ६५ घरधुरी रहेको उक्त गाउँमा अहिलेसम्म जम्मा २० ओटा मात्र शौचालय रहेको पनि उक्त संस्थाले हालै एक पत्रकार सम्मेलनमार्फत जानकारी दिएको थियो । सुलभले आगामी सन् २०१९ अक्टोबर २ सम्ममा सबै घरमा कम्तीमा एउटा शौचालय निःशुल्क रूपमा बनाइदिएर खुला दिशामुक्त क्षेत्र बनाउने उद्देश्य राखेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सफा भारत बनाउने घोषणा गरे अनुसार सोही मिति पर्नेगरी यो मिति तय गरिएको पनि संस्थाका संस्थापक पाठकले जानकारी दिए । पाठकले मारोरा गाउँलाई ट्रम्प गाउँ नामाकरण गरिएको घोषणा हालै मात्रै वासिंगटन डिसीमा भएको एक कार्यक्रममा गरेका थिए ।

‘मैले त्यहाँको सरसफाइका बारेमा मेरो प्रस्तुति दिइरहेको थिएँ, त्यही बेलामा मेरो दिमागमा यस्तो उपाय आयो, यसलाई त्यहाँका जनताले राम्रै तरिकाले लिएका छन्’ उनले सञ्चारमाध्यमहरूसँग भने ।  भारतमा यसरी अमेरिकी राष्ट्रपतिको नाममा गाउँको नाम राखेको यो पहिलोपटक भने होइन । राजधानीसँग सिमाना जोडिएको दौलतपुर नासिराबाद भन्ने अर्को गाउँलाई पनि यसअघि कार्टरपुरी नाम दिइएको थियो । जहाँ अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरले सन् १९७८ मा भ्रमण गरेका थिए ।

प्रतिक्रिया