११ हजारको स्वास्थ्य बिमा

पोखरा । कास्कीमा साढे तीन महिनाको अवधिमा ११ हजार ४ सय ४९ जनाले स्वास्थ्य बिमा दर्ता गराएका छन् । गत १२ पुसदेखि सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति, कास्कीले बिमा दर्ता प्रक्रिया सुरु गरेकामा आजसम्म २ हजार ४ सय ८१ परिवार बिमामा आबद्ध भएका छन् । बिमा दर्ता गरेवापत समितिले ६५ लाख २१ हजार रुपैयाँ संकलन गरेको छ । बिमा दर्ता भएका १ हजार ५७ जनाले सेवा लिएका र सेवा दिएका अस्पताललाई समितिले ९ लाख ६० हजार रुपैयाँ भुक्तानी गरिसकेको छ । गतवर्षको २५ चैतदेखि कैलालीबाट सुरु भएको बिमा कार्यक्रम दोस्रो वर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शाखा प्रबन्धक कृष्णप्रसाद भट्टराईले बिमा दर्ता गरेका सदस्यले कास्कीका नौ सेवाप्रदायक स्वास्थ्य संस्थाबाट ५ सय ३० प्रकारका सूचीकृत औषधि र २७ वटा विविध उपचार सेवा पाउने बताए ।
बिमा दर्ता गराएका सदस्यलाई सेवा दिने स्वास्थ्य संस्थालाई समितिले एक्स–रे, युएसजी, इसिजी र सेमी अटो एनभाइजर मेसिन उपलब्ध गराउनेछ । जिल्लाका सेवा प्रदायक स्वास्थ्य संस्थामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल, हिमालय आँखा अस्पताल, शिशुवा अस्पताल, मातृशिशु मितेरी अस्पताल, अर्मला, भेडाबारी, कृस्ती र थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्र छन् ।
जिल्लामा हाल १ सय ७ जना बिमा दर्ता सहयोगी एउटा महानगरपालिका र ४ गाउँपालिकामा खटिएका छन् । सो कार्यक्रममा परिवारका सबै सदस्य सहभागी हुनुपर्ने परिवारको योगदानमा आधारित रहेको छ । प्रति पाँच जनासम्मको परिवारले वार्षिक २ हजार ५ सय रुपैयाँ तथा पाँच जनाभन्दा बढी सदस्य भए प्रतिसदस्य ४ सय २५ रुपैयाँका दरले थप रकम बुझाउनुपर्नेछ ।
सुविधाको थैलीको सीमा ५ जना परिवारको हकमा वार्षिक ५० हजार रुपैयाँ रहेको छ भने ५ जनाभन्दा बढी परिवारका सदस्य भएमा प्रतिथप सदस्यवापत १० हजार रुपैयाँको सीमा बढ्दै जाने र अधिकतम सीमा १ लाख रुपैयाँसम्म कायम गरिएको छ । हाल कास्कीलगायत अछाम, बागलुङ, बैतडी, इलाम, म्याग्दी, पाल्पा र कैलालीसहित ८ जिल्लामा उक्त कार्यक्रम सुरु भएको र चालु आवभित्र थप २५ जिल्लामा सेवा विस्तार गर्ने योजना रहेको बताइएको छ ।

प्रतिक्रिया