जाजरकोट । सदरमुकाम खलंगाको बोहरागाउँ नजिकैको भीरबाट बस खस्दा २० जनाको मृत्यु भएको छ । दुर्घटनामा ४१ जना घाइते भएको जाजरकोट प्रहरी प्रमुख डिएसपी भावेश रिमालले जानकारी दिएका छन् ।
सदरमुकाम खलंगाबाट जाजरकोटकै पश्चिममा पर्ने खारा बजारतर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस छिन्चु जाजरकोट खण्डको भेरीमालिका नगरपालिका ४ बोहरागाउँ तल्लो मोडबाट दुई सय मिटर तल पासागाड खोलामा खसेको हो ।
खलंगाबाट साँझ चार बजे खारा बजारका लागि छुटेको भेरीगंगा यातायात व्यवसायी समितिको उक्त बसमा ५० भन्दाबढी यात्रु सवार थिए । घटनास्थल सदरमुकाम खलंगादेखि ५ किलोमिटरको दूरीमा पर्छ ।
घटनास्थलबाट २० जनाको शव निकालेको जाजरकोट प्रहरी प्रमुख डिएसपी रिमालले जानकारी दिए । मृतकको संख्या बढ्न सक्ने तथा मृतक कसैको पनि सनाखत हुन नसकेको रिमालले बताए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयलगायतले दुर्घटनामा परेकाको उद्धार गरेका छन् । क्षमताभन्दा बढी यात्रु र ओरालो तथा घुम्ती सडकमा तीव्र गतिमा गाडी गुड्नु दुर्घटनाको प्रमुख कारण भएको प्रहरीको प्रारम्भिक अनुमान छ । घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।
प्रतिक्रिया