जसलाई ठग्न सक्दा आनन्द लाग्छ …

crime 1काठमाडौं १८ फागुन । ‘मैले जानेको काम नै यही हो । मलाई ठग्न रमाइलो लाग्छ । ठग्न सक्दा आनन्द आउँछ’ निर्मलजंग शाहीले यसो भनेपछि महानगरीय अपराध महाशाखाका प्रहरी छक्क परे । अपराधीले सुरुमा अपराध स्वीकार गर्दैनन् । तर, सुर्खेतका ४२ वर्षीय शाहीले गर्वसाथ अपराध स्वीकार गरे ।‘यस्ता अपराधी कम नै भेटिन्छन् जो अपराध गर्नुमा गर्व गर्छन्’, अपराध महाशाखाका प्रमुख दिनेश अमात्यले भने ।

यसअघि दुईपटक गरी साढे नौ वर्ष जेल बसेका शाही गत असारको अन्तिममा छुटेका थिए । उनी यसअघि पनि दुईपटक ठगी मुद्दामै दुई वर्ष ६ महिना र सात वर्ष गरी साढे नौ वर्ष जेल परेका थिए । प्रहरीले शाहीलाई ‘मास्टरमाइन्ड ठग’ उल्लेख गरेको छ । पछिल्लोपटक दर्जनौँ ट्याक्सी चालकले आफू ठगिएको उजुरी गरेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । ‘यसअघि पनि हामीले नै समातेका कारण उसको तस्बिर हामीसँग थियो ।

हामीले पीडितलाई शाहीको तस्बिर देखाउँदा पीडक उही भएको निष्कर्षमा पुग्यौँ’, अमात्यले भने । सात वर्ष जेल बसेर गत असारमा छुटे लगत्तै शाहीले ठगीलाई पुनः निरन्तरता दिएको प्रहरीले जनाएको छ । उनले ट्याक्सी चालकलाई विश्वासमा लिन सबै उपाय अपनाउँथे । त्यसपछि आफ्नो सामान विदेशबाट आएको र विमानस्थलमा लिन जानुपर्ने बताउँथे । आफूसँग भन्सार तिर्न नेपाली पैसा नभएको भन्दै ट्याक्सी चालकसँग पैसा माग्थे । ‘सुरुमा ट्याक्सी लिएर घर जाने रहेछ । ट्याक्सी चालकलाई बाटोमा राखेर आफू एउटा गल्लीमा छिर्ने र एकछिनपछि श्रीमती घरमा नरहेको बहाना बनाएर फर्कने रहेछ । त्यसपछि ट्याक्सी चालकसँगै पैसा माग्ने र विमानस्थलतर्फ गएर बेपत्ता हुने रहेछ’, अमात्यले भने ।
अमात्यले यसरी एउटा ट्याक्सीबाट २० देखि ४० हजार रुपैयाँसम्म पैसा लिएको प्रहरीले जनाएको छ । शाहीले डान्सबार, दोहोरीमा जाने र युवतीहरूसँग रमाउने आफ्नो रहर नै भएको र त्यसका लागि ठगी गरेको बताएका छन् । होटलमा बसेर ठगी गर्दै आएका शाहीले ३० हजार रुपैयाँले आफूलाई ३ दिन मात्र पुग्ने गरेको पनि बताएका छन् । ‘मलाई एउटा ट्याक्सी चालकबाट ठगेको पैसाले दुईदेखि तीन दिनसम्म पुग्छ । मेरो सबै पैसा युवतीहरूसँग बस्दा र डान्सबार जाँदा सकिन्छ’, शाहीको भनाइ उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक सञ्जय थापाले भने । प्रहरीसँग शाहीले आफू अविवाहित रहेको र आफ्नो कोही नभएको बताएका छन् । केही वर्ष भारतमा राइस मिलमा काम गरेको र त्यसपछि नेपालमा आएर कुरियरमा काम गरेको उनको भनाइ छ । ‘कुरियरमा काम गर्न थालेपछि डान्सबार र दोहोरीमा जाने आदत बन्यो । त्यसपछि खर्च धान्न ठगी सुरु गरेँ’, प्रहरीसमक्ष शाहीले भनेका छन् ।
०६३ सालमा राजधानीका विभिन्न होटलका मालिकले प्रहरीसामु उजुरी गरे । उनीहरूले आफूहरू ठगिएको भन्दै पीडकलाई पक्राउ गर्न अनुरोध गरे । पीडक एउटै थिए, निर्मलजंग शाही । उनी होटल साहुजीलाई विश्वासमा लिन्थे । होटलमा नक्कली गरगहना लगाएर जान्थे, एडभान्समा चाहिनेभन्दा धेरै पैसा दिन्थे । साहुजीले अब विश्वास गर्छ भन्ने लागेपछि उनी विमानस्थलमा आफ्नो सामान आएको र भन्सार तिर्न पैसा नभएको बहाना बनाएर होटल साहुजीसँग पैसा माग्थे । २०÷३० हजार रुपैयाँ पैसा मागेर उनी बेपत्ता हुन्थे । धेरै होटल साहुजीको उजुरीपछि पक्राउ परेका शाही त्यस ठगी मुद्दामा दुई वर्ष ६ महिना जेल बसेर ०६६ साल असारमा बाहिर निस्किएका थिए । तर, उनले फेरि ठगी गरे ।
यसपछि उनले युवतीलाई प्रयोग गरी गहना पसलमा ठगी धन्दा थाले । युवतीसँग प्रेमको नाटक गर्ने र सुन किनिदिने भन्दै गहना पसलमा लैजान्थे । त्यसअघि सुटकेसमा पैसा छ भन्दै युवतीलाई बोक्न लगाउँथे । गहना पसलमा उनले पहिला युवतीलाई गहना छान्न लगाउँथे । युवतीले छानिसकेपछि आफूले छानेर लगाउँथे । सुटकेस युवतीलाई नै समाउन लगाउँथे । तर, एक्कासि शाही फोन आएको नाटक गरेर बाहिर निस्कने र भाग्ने गर्थे । गहना पसलको फन्दामा युवती पर्थिन्, सुटकेस कागजले भरिएको हुन्थ्यो । राजधानीका थुप्रै गहना पसलमा गरी करिब ४५ तोला सुन उनले ठगी गरेका थिए ।

प्रतिक्रिया