कालीकोट, ४ फागुन । जिल्लामा रहेका नदीमा जिल्ला विकास समिति कालिकोटले झोलुंगे पुल बनाएको छ । झोलुंगे पुल बनेपछि जिल्लाका लालु, माल्कोट, रुप्सा, कोटबाडा र कुमालगाउँ गाविसका स्थानीयलाई कर्णाली नदी तर्न सहज हुने भएको छ ।
विगत लामो समयदेखि तुहिनको यात्रा गर्दै आएका स्थानीयलाई पुल बनेपछि सहज भएको शिक्षक नवराज शाहीले बताए । ‘तुहिनको जोखिम पूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अब भने झोलुंगे पुल बनेपछि यात्रा सहज हुने भएको छ ।’ झोलुगे पुल निर्माण गर्न जिल्ला विकास समिति कालिकोटले ३८ लाख ३५ हजार ७ सय ५५ रुपैयाँ, भर्ता र कोटबाडा गाविसले ३८ हजार रुपैयाँ र ७६ हजार ७ सय ९ रुपैयाँ र स्थानीयले श्रमदान लगानी गरेको जिल्ला विकास समिति झोलुंगे शाखाका प्राविधिक कुलप्रसाद न्यौपानले बताए ।
‘पुल बनाउन सबैले सहयोग गरेका छन्,’ उनले भने, ‘गतवर्ष सम्झौता भएको पुल यो वर्ष सम्पन्न भएको हो ।’ झोलुंगे पुल बनेपछि जिल्लाका ५ गाविसका ४० हजार स्थानीयलाई आउजाऊ गर्न सजिलो भएको कोटबाडाका स्थानीय कटकबहादुर विष्टले बताए । ‘झोलुंगे पुल बनेपछि ५ गाविसका मानिसलाई सहज भएको छ,’ उनले भने, ‘तुहिनबाट व्यापारिकलगायत अन्य साधन ल्याउन पनि समस्या हुने गरेको थियो ।’
प्रतिक्रिया