गाउँमा नागरिकता भएका महिला भेट्नै गाह्रो

हेटौँडा, ४ फागुन । मकवानपुर जिल्लाको पुरानो सदरमुकाम भीमफेदी गाविसमा पर्ने २ वटा गाउँका बहुसंख्यक महिलाले नागरिकता बनाएका छैनन् । भीमफेदी गाउँ विकास समितिको कार्यालयको तथ्यांक अनुसार भीमफेदी–३ उर्लाघारी र भीमफेदी–५ सोलाभन्ज्याङका केही महिलाले मात्र नागरिकता बनाएका छन् ।

उक्त गाउँमा ०६०÷६१ मा जम्मा ६० जना महिलाले मात्र नागरिकता बनाएका थिए । त्यसपछि यी दुवै गाउँमा कोही पनि महिलाले नागरिकता बनाएका छैनन् ।

०६०÷६१ मा त्यहाँका महिलालाई हेटौँडा ल्याएर नागरिकता बनाउन आफूले सहयोग गरेको महिला बचत तथा ऋण सहकारी संस्था लि भीमफेदीकी निवर्तमान अध्यक्ष मंगलदेवी श्रेष्ठले बताइन् ।

नागरिकता बनाएको समय स्मरण गर्दै उनी भन्छिन्, ‘हामीले त्यसबेला नागरिकता बनाएर ल्याएको भोलिपल्ट नै एक वृद्ध महिलाको त निधन भएको थियो ।’ प्लान नेपाल मकवानपुरको सहयोगमा ग्रामीण महिला सेवा केन्द्रले त्यसबेला नागरिकता बनाएपश्चात् हालसम्म अन्य महिलाले नागरिकता नबनाएको श्रेष्ठले बताइन् ।

भीमफेदी गाविसका सचिव बद्रीप्रसाद सापकोटाले नागरिकता र सम्पत्तिको सम्बन्ध देखाउँदै यस ठाउँमा अधिकांश मान्छेको नाममा जमिन नभएकाले पनि नागरिकता बनाउन तत्परता नदेखाएको बताए । उनले भने, ‘सम्पत्तिसँग पनि नागरिकता जोडिँदोरहेछ, यी वडामा आफ्नो नाममा जग्गा नहुनुले पनि नागरिकतामा प्रभाव पारेको छ ।’ सचिव सापकोटाले यी गाउँका महिला तथा बालबालिका कानुनी अधिकारबाट समेत वञ्चित रहेको जानकारी दिए ।

सचिव सापकोटाले यी गाउँका पुरुष रोजगारीका लागि खाडी मुलुकमा जानुपर्ने कारणले सबैको नागरिकता बनाएको तर चेतनाको कमीका कारण महिलाको नागरिकताको आवश्यकता नै महसुस नगर्ने गरेको बताए ।

नागरिकता बनाउन पहल गर्दा पनि यहाँका महिलाको कागजपत्र नै पूरा नहुने बताउँदै सचिव सापकोटाले भूकम्पपछि बालबालिकाको पोषणका लागि आएको रकम वितरण गर्न बच्चाको जन्मदर्ता माग्दासमेत नागरिकताका कारण जन्मदर्ता गर्न नसकेको र बाध्य भएर बाबुको नागरिकताका आधारमा बच्चाको जन्मदर्ता गराइदिएको बताए ।

नागरिकता बनाउन कागजपत्र नै पूरा लिएर नआउने र नागरिकता बनाउनुपर्नेबारे बताउँदा पनि यी गाउँका पुरुषले नै त्यति पहल नगर्ने सचिव सापकोटाको भनाइ छ ।

भीमफेदी गाविसकी सामाजिक परिचालिका इच्छा लामाले यी गाउँमा दिउँसोको समयमा कसैलाई पनि घरमा नभेटिने र काम गर्न सक्ने उमेरका पुरुष त झन् चाडबाडमा मात्र घर आउने गरेको बताइन् । सामाजिक परिचालिका लामाले यहाँका महिलाले नागरिकता बनाउन आउँदा घरको काम बित्ने भन्दै यो झन्झट नगरौँ भन्ने गरेकोसमेत बताइन् ।

भीमफेदी–३ उर्लाघारीकी कान्छीमाया चेपाङको विवाह भएको ९ वर्ष भयो । उनी ५ सन्तानकी आमा हुन् । तर, उनको नागरिकता बनेको छैन । किन नबनाएको भन्ने प्रश्नको जवाफमा उनी भन्छिन्, ‘आ, मेरो नागरिकताले के हुन्छ र बारी खन्न नागरिकता चाहिँदैन पो, पतिलाई पो परदेश जानुपर्छ र नागरिकता चाहियो मलाई के काम ?’

कान्छीमायाको जवाफ यस ठाउँका महिलाले दिने एउटा उदाहरण मात्र हो । यहाँ उनी जस्तै बहुसंख्यक महिलाको नागरिकता छैन । यस्तै, ३४ वर्षीया बुद्धिमाया स्याङतान २ बच्चाकी आमा हुन् र कान्छीमायाको जस्तै उनको पनि नागरिकता छैन । नागरिकता भएका महिला भेट्न गाह्रै पर्छ यहाँ ।

भीमफेदी–५ सोलाभञ्ज्याङका वडा नागरिक मञ्चका अध्यक्ष भीमबहादुर गोम्जाले यहाँका महिलाले नागरिकता बनाउन चासो नदेखाएको भन्दा पनि पुरुषले नै महिलाको नागरिकता हुनुपर्छ भन्ने महसुस नगरेकाले नागरिकता बनाउन महिला नजाने बताए ।

प्रतिक्रिया