वीरगञ्ज कारागारमा सुरक्षा चुनौती

वीरगञ्ज, ३ फागुन । क्षमताभन्दा दोब्बर कैदीबन्दी भएको र फितलो सुरक्षा व्यवस्थाका कारण वीरगञ्ज करागारभित्र सुरक्षा चुनौती बढ्दै गएको छ । आन्तरिक सुरक्षाको जिम्मा नाइकेलाई दिनु, बेलाबखत कैदीबन्दीबीच झडप भई सांघातिक आक्रमण हुनुजस्ता कारणले अहिले कारागारभित्र सुरक्षा चुनौती बढ्दै गएको हो ।

कारागारभित्र पुसको दोस्रो साता कैदीको छुरा प्रहारबाट घाइते भएका राजन बानियाँको उपचारका क्रममा मृत्यु भएपछि अन्य कैदीबन्दी असुरक्षित र भयभित भएका छन् । करागारभित्रको आन्तरिक सुरक्षाको जिम्मा कैदी नाइके, सहनाइके तथा चौकीदारलाई दिएपछि उनीहरूले रकम दिने कैदीलाई केही नगर्ने तर रकम नदिनेलाई कुटपिट गर्ने गरेकाले कारागारभित्र सुरक्षा चुनौती बढ्न गएको एक कैदीको भनाइ छ ।

यसबारेमा प्रमुख जिल्ला अधिकारी तथा कारागार व्यवस्थापन समितिका संयोजक केशवराज घिमिरेसँग जिज्ञासा राख्दा उनले अहिले कारागारको सुरक्षा व्यवस्थाको जिम्मा सशस्त्र प्रहरीलाई दिएको र सुरक्षासम्बधी थप व्यवस्था गर्दै जाने बताए ।

५ सय कैदीबन्दी क्षमता रहेको सो कारागारभित्र हाल २ सय १० भारतीयसहित १ हजार २ सय २७ कैदीबन्दी छन् । जसमध्ये महिला कैदीको संख्या ८८ छ भने ५ जना आश्रित बालबालिका छन् ।

त्यसैगरी १ बंगलादेशी र १ पाकिस्तानी बन्दीसमेत यस कारागारमा छन् । कारागारभित्रको गोलघरमा सुरक्षाकर्मीसँगै चेस खेलेर बसिरहेका जेलर चक्रपाणि गौतमसँग सुरक्षा व्यवस्थाबारे जिज्ञासा राख्दा उनले कारागारभित्र रहेका कैदीबन्दीमध्ये त्यस्ता आपराधिक प्रवृत्तिका कैदीलाई निगरानीमा राख्ने काम भइरहेको बताए ।

प्रतिक्रिया